‘१० वर्षमा २० प्रतिशत पानीका मूल सुके’

‘१० वर्षमा २० प्रतिशत पानीका मूल सुके’
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको मूल सुक्न लागेको अवस्थामा। तस्बिर : माधवप्रसाद ढकाल

काठमाडौं : एक अध्ययनले भन्छ–१० वर्षयता मात्रै मुलुकमा २० प्रतिशत पानीका मूल सुकेका छन्। जलवायु परिवर्तन र मानवीय क्रियाकलाप यसका प्रमुख कारण हुन्। पानीका मूल सुक्दै जाँदा आर्थिक र सामाजिक क्षेत्रमा समस्या देखा परेका छन्। बसाइँसराइ बढ्दै गएको छ। जसबाट गरिब र असहायको जीवनस्तरमा गम्भीर असर परिरहेको अध्ययनले देखाएको छ।  

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायत विभिन्न संघ–संस्थाले यसबारे अध्ययन गरेका थिए। ती सबै अध्ययनलाई एकै ठाउँ राखेर गरिएको विश्लेषणले पानीका मूल सुक्न नदिने उपाय तत्कालै कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ। 

इसिमोड जलाधार अनुसन्धानकर्ता माधवप्रसाद ढकालका अनुसार पानीका मूल सुक्नुमा जलवायु परिवर्तन र मानवीय क्रियाकलापको भूमिका लगभग उस्तै देखिएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा र वर्षातको शैली फेरिँदा ‘हाइड्रोलोजिकल साइकल’ नै प्रभावित भएको छ। त्यसबाट पानीका स्रोतमा गम्भीर असर पुगेकोे छ। यी सबै परिणाम आउनुमा जलवायु परिवर्तनलाई दोष दिने प्रवृत्ति बढेको छ। तर, मूलहरू नासिँदै जानुमा मानवीय क्रियाकलाप पनि प्रमुख कारण बनेको विज्ञहरू बताउँछन्। 

इसिमोड जलाधार अनुसन्धानकर्ता ढकालका अनुसार सबै अध्ययन प्रतिवेदनको विश्लेषणले १० वर्ष पहिलाको तुलनामा २० प्रतिशत मूलहरू सुकेका छन्। ‘१० वर्ष पहिलासम्म सञ्चालित मुहानहरू पूर्णरूपमा सुकेका छन्,’ ढकालले भने, ‘समग्रमा ५० प्रतिशत मूलमा पानीको प्रवाह घटेको छ। १० वर्ष पहिला प्रतिमिनेट एक लिटर पानी आउँथ्यो भने ती मूलबाट हाल आधा लिटर मात्रै पानी आउने गरेको छ।’ 

ढकालका अनुसार सेप्टेम्बरदेखि डिसेम्बरसम्म चार महिना सुक्खायाम हुन्छ। यो याममा जलाधारहरूमा पानीको (फ्लो डिक्रिजिङ) प्रवाह घट्दो क्रममा छ। मूलमा आउने पानी पनि घट्दो क्रममा छ। तर, केही ठाउँमा आक्कल झुक्कल पानी बढेको छ। १० वर्षको अवस्था हेर्दा केही ठाउँमा भने खासै परिवर्तन देखिएको छैन। 

हिमाल र पहाडमा १ करोड मानिस मूलको पानीमा निर्भर छन्। एउटा मूलमा कम्तीमा २० देखि २५ घर आश्रित हुने गरेको ढकालले बताए। तर, पानीका मूल सुक्दै जाँदा धेरै ठाउँहरू बसाइँ नै सर्नुपरेको छ। रामेछाप, भोजपुरमा मूलका स्रोत सुकेपछि विस्थापित हुनुपरेका घटना छन्।  दैलेखमा पनि त्यस्तो समस्या देखेको ढकालले बताए। मुहान सुक्नुमा मानव सिर्जित र प्राकृतिक कारण बराबरी रहेको उनको तर्क छ। ‘विगतमा मसिनो पानी लामो समय पर्दा जमिनमा जान्थ्यो,’ उनले भने, ‘तर वर्षातको शैली फेरिँदा परेको पानी स्वाट्टै बगेर खोला, खोल्सामा जान्छ। जमिनले सोस्नै पाउँदैन।’ 

मानवीय कारणले परम्परागत पोखरी, तालतलैया नासिएका छन्। सुक्खा याममा ती पोखरीहरू पानी पुनर्भरण गर्ने माध्यम बन्थे। ढुंगा खानीले पनि पानी सोस्ने प्रक्रियामा अवरोध पुगेको छ। कतिपय ठाउँमा हिउँ पर्न छाडेको छ। हाइड्रोपावरका टनेल वरिपरिका मूलहरू धेरै सुकेका छन्। त्यस्ता क्षेत्रमा पानीका मुहान ब्लक हुने र डाइभर्ट हुने समस्या देखिएका छन्। रसुवाका ठाउँ–ठाउँमा त्यस्ता समस्या छन्। सडक बनाउँदा पुनर्भरण क्षेत्र थाहा पाउनुपर्ने हुन्छ।  यस्ता समस्या समाधान नभए हाल देखिएका मुहानहरू १० वर्षपछि नहुन सक्छन्। त्यसैले यथाशीघ्र काम गर्नुपर्ने ढकालले बताए। तर, हाल मानिसहरूमा सचेतना पलाएको र सडक निर्माण गर्दा नासिएका पोखरी, कुवाहरू लगायतका स्रोतहरू पुनर्उत्थान गर्न बजेट पनि छुट्ट्याउने गरेको उनले बताए। पुराना परम्परागत पोखरीलाई पुरानै अवस्थामा फर्काउन कुनै विज्ञान नचाहिने उनी बताउँछन्। मनसुनको चार महिना परेको पानीलाई जमिनभित्र छिराउने संरचना बनाउनुपर्छ। त्यस्तो ठाउँ पत्ता लगाएर मूललाई फाइदा हुने काम गर्न आवश्यक रहेको ढकालले बताए। 

सनोत अधिकारी लगायतका समूहले गरेको ‘पश्चिम नेपालको पहाडी जलाधार क्षेत्रमा मुहानको अवस्था’ को अध्ययनले पनि कर्णाली र मध्यकर्णाली जलाधार (पानीढलो) क्षेत्रमा कम्तीमा २० देखि २५ प्रतिशत मूलहरू सुकेका छन्। बोक्टान, लगाम कर्णाली, ठूलीगाढ, झिम्रुक, रंगुन तथा मध्यकर्णाली क्षेत्रमा पानीका मुहान सुक्दा स्थानीयले पानीको निकै ठूलो संकट व्यहोर्नु परिरहेको छ। ती क्षेत्रमा ४ हजार २ सय २२ वटा मुहान छन्। त्यस क्षेत्रमा ७०.७ प्रतिशत मुहान तथा पानीको प्रवाह घट्दो क्रममा छ। १.५७ प्रतिशत जलाधार क्षेत्र नासिएका छन्। 

पानी पर्ने शैलीमा विविधताले पनि पानीका स्रोतहरूलाई प्रत्येक वर्ष प्रभाव पारेको छ। बिना योजनाका सडक निर्माण, परम्परागत ताल, पोखरी, पर्खाल मासिनु साथै कंक्रिटको प्रयोग तथा मुहानसम्म पाइप लैजाँदा पनि स्रोतहरू सुकेका छन्। अध्ययनका अनुसार दु्रत गतिमा स्रोतहरू सुक्ने क्रम यथावत् रहने र संरक्षणका उपाय अलवम्बन नगरे स्थानीयले निकै ठूलो संकट सामना गर्नुपर्ने अवस्था छ। मध्यपहाडी क्षेत्रमा पानीको चरम समस्या झेल्नुपर्नेछ। इसिमोडमै कार्यरत स्प्रिङसेड म्यानेजमेन्ट एसोसिएट, करिश्मा खड्काका अनुसार विशेष गरी हिउँदको सिजनमा निश्चित हिमाली जलाधार क्षेत्रका समुदायहरूले पानीको चरम अभाव झेलिरहेका छन्। स्थानीयको मागअनुसार पानीका स्रोतहरू अपर्याप्त छन्। त्यसैले उनीहरूले त्यसको विकल्प खोजिरहेका छन्। जमिनको प्रयोग, वन फडानी, जथाभावि गरिने विकास निर्माणका काम, परम्परागत स्रोत विनाश तथा प्राकृतिक प्रकोपका कारण पनि जलाधारमा प्रभाव पारेको उनले बताइन्। 

विशेषगरी मध्यपहाडी तथा हिमाली क्षेत्रमा मुहानका पानीमा निर्भरता उच्च छ। त्यसैले पनि यी क्षेत्रमा बसोबास गर्ने समुदायहरू धेरै नै प्रभावित भएका छन्। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को एउटा अध्ययनले पनि बहुआयामिक खालका गरिबीमा परेकाहरू उच्च जोखिममा रहेको बताएको छ। पछिल्लो समय हिन्दु कुश हिमालय क्षेत्रमा देखिएको अर्को समस्या भनेको ‘अति कम वा अति धेरै वर्षा हुने’ समस्या छ। ह्वार्र पर्ने पानीले बाढीका घटना बढाएका छन्। 

लामो समय खडेरी पर्ने समस्या पनि बारम्बार देखिएको छ। खड्काले भनिन्, ‘जलवायु परिवर्तनले पानीको उपलब्धता र हाइड्रोलोजिकल साइकललाई नै असर गर्ने देखिएको छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.