नेपाली भाषा श्रीवृद्धि गर्न
राणाकालदेखि सत्तासीनहरूको कोपभाजन हुनुपर्ने परिवेशबाट नेपाली भाषाको पठनपाठनका क्रियाकलाप अघि बढेको पाइन्छ। त्यो समयमा धेरै बौद्धिक र प्राज्ञिकहरू नेपाली भाषाको श्रीवृद्धि गर्ने कर्ममा लागेका भेटिन्छन्। उनीहरूकै सत्प्रयासका कारण विद्यालयदेखि विश्वविद्यालय तहसम्म नेपाली भाषा पठनपाठनमा प्रयोग हुन थाल्यो। पठनपाठनको परम्परामा विसं.२०२८ को राष्ट्रिय शिक्षा पद्धतिले नेपाली भाषालाई माध्यम र विषयको रूपमा हेरेको थियो। त्यसैले शिक्षा विषयका रूपबाट नेपाली भाषा शिक्षण गर्ने ठूलो जनशक्ति उत्पादन भएको छ। तर, त्यो जनशक्ति पेसागत रूपमा एउटा छाताभित्र संगठित हुन सकेको अवस्था छैन। अहिले नेपालका संघ, प्रदेश र स्थानीय तहमा नेपाली भाषा शिक्षाको संगठित तथा प्रशिक्षित अनुभवलाई उपयोग गर्नुपर्ने वातावरण सिर्जना भएको छ। उता भाषा शिक्षाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुन सक्ने फोरमको निर्माण पनि खटकिँदो छ। यस परिप्रेक्षमा अग्रजहरूले विधागत रूपमा विकसित गरेको नेपाली भाषा शिक्षालाई थप सहयोग पुर्याउन नेपाली भाषा शिक्षा समाज गठनको अपरिहार्यता देखिएको छ।
विसं.२००७ मा राणाशासनको अन्त्य र प्रजातन्त्रको सूत्रपात भएपछि भाषिक कर्ममा लाग्नेहरूलाई सत्ताको कोपभाजन हुनुपर्ने स्थिति रहेन। फलतः शिक्षाका निम्ति विसं.२००९ मा नर्मल स्कुल र विसंं.२०१३ मा कलेज अफ एजुकेसनको स्थापना हुनसकेको देखिन्छ। शैक्षणिक दृष्टिले नेपाली भाषा शिक्षाको शिक्षण प्रशिक्षणको प्रारम्भ पनि यसै समयदेखि हुन थालेको हो। तर, विसं.२०२८ मा नयाँ शिक्षा पद्धति लागू हुनुभन्दा अगाडि नेपाली भाषा शिक्षाले विधागत स्वरूप ग्रहण गर्न सकेको देखिन्न। ०२८ देखि ०४१ सम्म नेपाली भाषा शिक्षाका तत्कालीन अग्रजहरूले यसलाई विधागत स्वरूप दिन संघर्ष गरेको भने देखिन्छ। उनीहरूको संघर्षले नेपाली भाषा शिक्षालाई विधागत स्वरूप दिन सफलता प्राप्त गर्यो। फलतः २०४१ पछि आजसम्म आइपुग्दा नेपाली भाषा शिक्षालाई मूल विषय बनाएर क्रमशः एमएड, पीएचडी र एमफिलको शिक्षण प्रशिक्षण हुन थालेको अवस्था छ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले २०२८ देखि भाषा शिक्षालाई यस अवस्थामा ल्याउन महŒवपूर्ण भूमिका खेल्यो। तदनन्तर नेपाली भाषाका प्रायोगिक र शैक्षणिक पक्ष उजगार हुन थाले। नेपाली शिक्षामा पीएचडी र एमफिल हुँदै गर्दा यसलाई विधाका रूपमा विकास गराउन संघर्ष गर्ने अग्रजहरू क्रमशः सेवानिवृत्त हुन थालेको देखिन्छ। तर, अग्रजले गरेका संघर्षका चुनौती कमजोर भइसकेका थिएनन्। भाषा शिक्षाको प्रायोगिक र शैक्षणिक पक्षले पूर्ण सबलता प्राप्त गरिसकेको थिएन। अग्रजले सुम्पेका अवशिष्ट कार्यभार पछिल्लो पुस्ताले अगाडि बढाउनुपर्ने अवस्था छँदै थियो। त्यसलाई अगाडि बढाउन एउटा संगठित आवाजको महसुस हुन थाल्यो। त्यसैले अग्रजहरूका अवशिष्ट कार्यभारलाई सम्बोधन गर्न एउटा पेसागत संस्थाको निर्माण आवश्यक छ।
नेपाली भाषा शिक्षा भन्ने पदावलीले नेपाली भाषाको प्रायोगिक र शैक्षणिक पक्षको शिक्षालाई जनाउँछ। यसबाट भाषाको शिक्षण, प्रशिक्षण, पाठ्यक्रम, पाठ्य सामग्री निर्माण, तिनको परिमार्जन र मूल्यांकन गर्न सक्ने जनशक्ति उत्पादन शिक्षासमेत बुझिन्छ। साथै यसले नेपालको संघीय, प्रादेशिक र स्थानीय आवश्यकता पूरा गर्न प्राज्ञिक र पेसागत शैक्षिक जनशक्तिले प्राप्त गर्ने शिक्षालाई बुझाउँछ। नेपाली मातृभाषाका रूपमा, नेपाली दोस्रो भाषाका रूपमा र नेपाली विदेशी भाषाको रूपमा शिक्षण गर्दा देखिने समस्या, समस्या समाधानका उपाय, सिकाइ उपलब्धि, उपलब्धिका कारकको अध्ययन गराउँछ। गुणस्तरीयताका दृष्टिले उक्त भाषिक पक्षमा शिक्षण गरिने पाठ्यव्रmम, पाठ्य पुस्तक लेखन, मूल्यांकन तथा तिनीहरूको परिमार्जन गर्न सिकाउँछ। हाम्रो जस्तो बहुभाषिक देशमा भाषा सिकाइसम्बन्धी चुनौतीहरूको पनि खोज गर्छ। यस किसिमका सिकाइलाई नेपालको राष्ट्रिय समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने बाटाहरू पहिल्याउने प्रयास गर्छ। नेपालमा प्राप्त भाषा शिक्षाका अनुभव र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका भाषा शिक्षाका अभ्यास र अनुभव आदानप्रदान गराउँछ। प्रायोगिक र शैक्षणिक दृष्टिले नेपाली भाषा सिकाइलाई आधुनिक टेक्नोलोजीसँग जोडेर भाषा शिक्षालाई विज्ञान मैत्री बनाउँछ। उल्लिखित विचार र आवश्यकतालाई सबलीकरण गर्न एउटा संगठित संस्थाको अनुभव भएकाले नेपाली भाषा शिक्षा समाजको गठनमा पहल हुँदैछ।
पाठ्य विषय वस्तु प्रवेशका दृष्टिले यो नेपाली भाषा शिक्षा शिक्षाशास्त्र संकायमुखीभन्दा मानविकी तथा समाजिक शास्त्रमुखी बन्दै जाने आशंका छ। यसले शिक्षाशास्त्रका विषयहरू प्राविधिक, व्यावसायिक र शैक्षणिकभन्दा विशुद्ध प्राज्ञिक बन्दै गएका त छैनन् भन्ने प्रश्न उब्जाएको छ।
हाल सार्वजनिक गरिएको राष्ट्रिय शिक्षा नीतिले संघीय र क्षेत्रीय तहका विश्वविद्यायलको परिकल्पना गरेको छ। ती विश्वविद्यालयमा लागु हुने नेपाली भाषा शिक्षाको पाठ्यक्रममा उल्लिखित प्रायोगिक र शैक्षणिक विषयले क्रमशः प्रवेश पाउनुपर्ने हुन्छ। त्रिभुवन विश्वविद्यालयभित्र अहिले पनि नेपाली भाषा शिक्षामा प्रायोगिक र शैक्षणिक पाठ्य विषयले पूर्ण प्रवेश पाइसकेको अवस्था छैन। पाइरहेको प्रायोगिक र शैक्षणिक प्रवेशले समेत खुम्चिनुपर्ने अवस्था आइरहेको छ। पाठ्य विषय वस्तु प्रवेशका दृष्टिले यो नेपाली भाषा शिक्षा शिक्षाशास्त्र संकायमुखीभन्दा मानविकी तथा समाजिक शास्त्रमुखी बन्दै जाने आशंका छ। यसले शिक्षाशास्त्रका विषयहरू प्राविधिक, व्यावसायिक र शैक्षणिकभन्दा विशुद्ध प्राज्ञिक बन्दै गएका त छैनन् भन्ने प्रश्न उब्जाएको छ। यस प्रश्नले वर्तमान राष्ट्रिय शिक्षा नीतिद्वारा परिकल्पना गरिएका संघीय र क्षेत्रीय विश्वविद्यालय तथा स्थानीय तहका विद्यालयमा नेपाली भाषा शिक्षा प्रायोगिक र शैक्षणिक भार कमजोर हुनसक्ने स्थिति सिर्जना गरेको छ। शिक्षाशास्त्रीय विचार प्रवाहद्वारा यस स्थितिलाई सम्बोधन गर्न र विश्वविद्यालयबाट उत्पादन गरिने शैक्षणिक जनशक्तिलाई प्राविधिक र व्यावसायिक बनाउने कार्यमा सहयोग पुर्याउन नेपाली भाषा शिक्षा समाज गठनको आवश्यकता ठानिएको छ।
नेपाली भाषा शिक्षामा प्रायोगिक र शैक्षणिक भार कमजोर हुँदै जाँदा स्वतः शिक्षाको गुणस्तरमा ह्रास आउँछ। यस्तो पक्षबाट राष्ट्रिय बहस चलाएको देखिन्न। अहिले कोरा विषय वस्तुको अधिकता र न्यूनताका पक्षबाट बहस भइरहेको देखिन्छ। शिक्षण कला, कला र प्रविधि दुवै हो। कला र प्रविधिको प्रचूर विकास भइरहेको वर्तमान अवस्थामा नेपाली भाषाको प्रायोगिक र शैक्षणिक पक्षमा बहस चलाएर गुणस्तरीय जनशक्ति निर्माण गर्न खोजेको बुझिन्न। उल्टै शिक्षाशास्त्रबाट यसको प्राज्ञिक र पेसागत कार्यक्रमलाई अलग्याउने अवधारणा ल्याउन खोजेको देखिन्छ।
त्यति मात्र होइन नेपाली भाषा शिक्षाका पाठ्यक्रम, पाठ्य पुस्तक, सहायक पाठ्य सामग्रीहरूको लेखन र परिमार्जनमा गैरशैक्षणिक क्षेत्रको प्रभाव र दबाब पर्न थालेको देखिन्छ। यसले गर्दा नेपाली भाषा शिक्षामा शैक्षणिक पक्ष कमजोर हुने खतरा बढेको अनुभव गरिँदै छ। किनभने नेपाली भाषामा लामो समयदेखि हुँदै आएको बालमैत्री शैक्षणिक अभ्याससँग नेपाली भाषा शिक्षासम्बन्धी सिकाइ अलगिन खोजेका छन्। यस सम्बन्धमा सरोकारवाला पक्ष र संस्थालाई समयमै अवगत गराउन नेपाली भाषा शिक्षा समाज गठनको आवश्यकता ठानिएको छ। विद्यालय शिक्षामा नेपाली भाषाको प्रायोगिक र शैक्षणिक क्षेत्रको प्रभाव रहनुपर्ने हो। यस प्रभावबाट नेपाली भाषा शिक्षा विशृंखलित नहोस्; नेपाली भाषा शिक्षा समाजले आफ्ना गतिविधिलाई संघ, प्रदेश र स्थानीय तहमा विस्तार र सञ्चार गरोस्; नेपाली भाषाका प्रायोगिक र शैक्षणिक क्षेत्रमा विधागत विकासमा योगदान पुग्न सकोस् भन्ने हेतुले समाज गठन गर्नु आवश्यक ठानिएको छ।
प्रतिक्रिया दिनुहोस !