पोखरामा नेपाल-भारत ऊर्जा बैठक
पोखरा : नेपाल र भारत सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी) को १३औँ बैठक मंगलबार पोखरामा सुरु भएको छ। ऊर्जा क्षेत्रको सहकार्यलाई अघि बढाउन यो समिति गठन गरिएको थियो।
ऊर्जा क्षेत्रका अधिकारीहरूका अनुसार नेपालमा भारतीय लगानीको वातावरण थप स्पष्ट र विश्वसनीय बनाउने विषयमा बैठक केन्द्रित छ। भारतीय कम्पनीहरूले नेपालमा १ हजार ७३० मेगावाट क्षमताका आयोजना विकास गर्न लागेका छन्। तिनमा सहजीकरणको खोजी बैठकमा गरिएको हो।
नेपालबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्ने योजनाको विषय पनि बैठकमा छ। नेपालले भारतीय प्रसारण प्रणाली प्रयोग गरेर ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिरहेको छ। यसमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने विषयमा नेपाल र बंगलादेशबीच गत मंसिरमा सहमति भइसकेको छ। भारतीय पक्षबाट स्वीकृति प्राप्त हुन बाँकी छ।
नेपालमा भारतीय लगानीकर्ताको विश्वास, आगामी जलविद्युत् परियोजनाहरूमा लगानीको गति तथा नेपाल-भारत ऊर्जा साझेदारीको दीर्घकालीन दिशाबारे बैठक केन्द्रित भएको हो। बैठकमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतको विद्युत् मन्त्रालयका सहसचिव पंकज कुमारले आ-आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन्।
सीमापार विद्युत् प्रसारण प्रणालीको सुदृढीकरण तथा विस्तार, विद्युत् आयात-निर्यातलाई सहज बनाउने उपाय, विद्युत् व्यापारका प्राविधिक तथा नीतिगत विषय र विगतका द्विपक्षीय समझदारीहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्ने हेतु बैठकले राखेको छ।
प्रतिक्रिया दिनुहोस !