कप्तानगञ्ज घटनाको छानबिन गर्न सरकारी टोली घटनास्थलमा
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको सरकारी टोली मंगलबार घटनास्थल पुगेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले घटनास्थलको निरीक्षण गर्नुका साथै प्रभावित पक्षसँग भेटघाट गरेर घटनाबारे विस्तृत जानकारी संकलन गरेको छ।
समितिले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार, घाइतेका आफन्त, प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य विक्रम हुमागाईले जानकारी दिए। घटनाको वास्तविक अवस्था, घटनाक्रम, त्यसको कारण र त्यसपछिको परिस्थितिबारे प्रत्यक्ष जानकारी संकलन गर्ने उद्देश्यले टोली घटनास्थल पुगेको उनले बताए।
छानबिन टोलीसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिसमेत घटनास्थल पुगेका थिए। टोलीले घटनास्थलको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय प्रशासन र सुरक्षा निकायबाट घटनासम्बन्धी आवश्यक विवरण पनि लिएको जनाएको छ।
गृह मन्त्रालयले गठन गरेको समितिलाई घटनाको निष्पक्ष छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने जिम्मेवारी दिएको छ। समितिले संकलन गरेका प्रमाण, सरोकारवालाको भनाइ, सुरक्षा निकायबाट प्राप्त विवरण तथा स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने जनाएको छ।
गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाव हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए। त्यसयता जिल्लाको सुरक्षा अवस्था संवेदनशील रहेकाले प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।






प्रतिक्रिया दिनुहोस !