नारायणी अस्पताल प्रकरणमा वडाध्यक्ष चतुर्वेदी पक्राउ

नारायणी अस्पताल प्रकरणमा वडाध्यक्ष चतुर्वेदी पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिटको घटना बारेमा अनुसन्धानका लागि प्रहरीले वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिएको हो।

मंगलबार दिउँसो महानगरपालिका कार्यालय परिसरबाट वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। नारायणी अस्पतालको घटना प्रकरणमा अनुसन्धानका लागि वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिइएको उनले बताए। चतुर्वेदीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको उनले बताए।

नारायणी अस्पतालमा गत शनिबार उपचारका क्रममा वडाध्यक्ष चतुर्वेदीकै वडाका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सक डाक्टर प्रमोद राममाथि निर्घात रूपमा कुटपिट गरिएको थियो। उक्त घटनामा संलग्नहरूलाई कारबाही र सुरक्षाको माग गर्दै वीरगन्जसहित देशभरका चिकित्सकहरू अस्पतालको उपचार सेवा नै ठप्प पारेर हड्तालमा उत्रिएका छन्।

यसैबीच वीरगन्ज महानगरका सबै वडाध्यक्षहरूले प्रहरीले पक्राउ गरेका  वडाध्यक्ष चतुर्वेदीलाई विना शर्त तत्काल रिहा गर्न माग गरेका छन् वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरूले दिएका छन्।

मंगलबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका वडाध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गरिएको प्रति गम्भीर आपत्ति जनाएका छन्। आफ्नै वडाबासीको हकहित संरक्षण र न्यायका लागि आफ्नो दायित्व निर्वाह गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले निर्वाह गरेको भूमिकालाई नै आधार बनाएर धरपकड गरिएको भन्दै उनीहरूले त्यसको कडा भर्त्सना पनि गरेका छन्।

महानगरका वडाध्यहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ- साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार कुर्मीको निधन भएपछि उत्पन्न परिस्थितिमा पीडित परिवारको गुनासो र चिकित्सकमाथि भएको भनिएको दुर्व्यवहारको न्यायोचित समाधानका लागि वडा अध्यक्ष चतुर्वेदीले स्थानीय प्रशासनसँग समन्वय गरिरहेका थिए।

त्यही क्रममा वडाध्यक्ष चतुर्वेदीलाई महानगरपालिका कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको छ। महानगरका वडाध्यक्षहरुले स्थानीय प्रशासनलाई परिस्थिति थप जटिल बन्न नदिन पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गरी संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आग्रह पनि गरेका छन्।

नारायणी अस्पतालको घटना प्रकरणमा प्रहरीले हालसम्म वडाध्यक्ष चतुर्वेदीसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.