देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझ भएको हुलदंगा र दोहोरो झडप नियन्त्रणमा आएको छ । करिब अढाई घण्टासम्म दुई पक्षबीच भएको झडपपछि राति ९:३० बजेबाट अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार अहिले देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। झडपका क्रममा एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको तथा क्षतिको विवरण संकलन अहिले सम्भव नभएको उनले जानकारी दिए।
‘राति ९:३० बजेबाट अवस्था पूर्णरूपमा नियन्त्रणमा आएको छ। अहिले सुरक्षाकर्मी परिचालन गरेर स्थिति सामान्य बनाउने काम भइरहेको छ,’ डीएसपी हमालले भने। प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ बजेदेखि देवानगन्ज बजारमा दुई पक्षबीच झडप सुरु भएको थियो।
झडपका क्रममा रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ। सुरक्षा अवस्था नियन्त्रणबाहिर पुग्दा घटनास्थलमा नेपाल र सशस्त्र प्रहरी पुग्न सकेका थिएनन्। अनियन्त्रित भिडका कारण सुरक्षाकर्मीलाई समेत अवस्था नियन्त्रणमा लिन कठिन भएको थियो।
झडपका क्रममा देवानगन्जका केही घर तथा पसलमा आगजनी र तोडफोड भएको छ। प्रहरीले प्रारम्भिक रूपमा २० वटाभन्दा बढी घर तथा पसलमा क्षति पुगेको हुनसक्ने अनुमान गरेको छ।
त्यसअघि मंगलबार दिउँसो पनि देवानगन्ज र घुस्की क्षेत्रमा तनाव भएको थियो। केही घरमा आगजनी भएको र सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ। तनाव बढेपछि देवानगन्ज र हरिनगर क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरबाट हवाई गस्तीसमेत गरिएको थियो।
सुरक्षा अधिकारीहरुले मंगलबार दिउँसो देवानगन्ज र कप्तानगन्जको स्थलगत निरीक्षण गर्दै स्थानीय अगुवा तथा सरोकारवालासँग छलफल गर्दै अवस्था सामान्य बनाउन आग्रह गरेका थिए। तर, साँझ पुनः झडप हुन थालेपछि देवानगन्ज बजार तनावग्रस्त र अशान्त बनेको थियो।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा अवस्था सामान्यतर्फ फर्किएको प्रहरीले जनाएको छ। झडपका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन भने सम्भव हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा केही व्यक्तिहरु घाइते भएको अनुमान छ। यकिन विवरण आउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !