विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको विरोधमा मंगलबार पनि सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। आन्दोलनकारीहरूले विराटनगरमा बजार बन्द गराउँदै शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ। विराटनगरको प्रदर्शन हनुमान मन्दिरबाट सुरु भई ट्राफिक चोक, महेन्द्र चोक हुँदै पुनः हनुमान मन्दिर पुगेर सम्पन्न भएको थियो। प्रदर्शनकारीहरूले बजार परिक्रमा गर्दै व्यवसायीलाई पसल बन्द गर्न आग्रह गरेका थिए। 
केही व्यवसायीले पनि आन्दोनलप्रति ऐक्यबद्धता जनाउँदै पसल बन्द गरेका छन्। आन्दोलनका कारण विराटनगर बजारको जनजीवन आंशिक रूपमा प्रभावित बनेको छ। आन्दोलनरत पक्षले विराटनगरको बुधहाट चोकमा मंगलबार दिउँसो ४ बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ।
यता, सुनसरीमा प्रदर्शनकारीहरूले पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। अवस्था थप तनावपूर्ण बन्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारी साधनसमेत रोकेको छ।
प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरका मुख्य बजार, प्रदर्शनस्थल तथा संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज क्षेत्रमा कफ्र्यू आदेश यथावत् राखेको छ। कर्फ्यु लागू भएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। तर, पनि विभिन्न स्थानमा प्रदर्शन जारी छ। 
आन्दोलनकारीहरूले कप्तानगन्ज गोलीकाण्डमा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अवस्था नियन्त्रणमा राख्न उच्च सतर्कता अपनाइएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !