९२ वर्षको उमेरमा पनि शल्यक्रिया गर्दै डाक्टर सूरी श्रीमाथी
भारत : अहिलेसम्म तपाईंले भेट्नु भएका डाक्टरमध्ये सबैभन्दा धेरै अनुभव भएको डाक्टरको अनुभव कति थियो ? ३० वर्ष, ४० वर्ष वा ५० वर्ष ? तर के तपाईंले कहिल्यै करिब ७० वर्षको चिकित्सकीय अनुभव भएकी डाक्टर भेट्नु भएको छ ? सायद छैन । भारतकी एक डाक्टरले एमबीबीएस गरेपछि ६८ वर्षभन्दा बढी समयदेखि निरन्तर चिकित्सा सेवा दिइरहेकी छन् ।
उनी हुन् डा. सूरी श्रीमाथी, जो भारतको हैदराबादमा बस्छिन्। ९२ वर्षको उमेरमा पनि उनी नियमित रूपमा शल्यक्रिया (अपरेशन) गरिरहेकी छन् । सन् १९५८ मा एमबीबीएस पूरा गरेपछि उनले आफ्नो चिकित्सकीय यात्रा सुरु गरेकी थिइन्। आज पनि उनी दैनिक बिरामी हेर्छिन् र आवश्यकता परे सिजेरियन डेलिभरी (शल्यक्रियामार्फत प्रसूति) समेत गराउँछिन् ।
उनी कुनै युवा चिकित्सकझैं उत्साहका साथ बिरामीको सेवा गरिरहेकी छन् । धेरै मानिसलाई ९० वर्षपछि हिँडडुल र दैनिक काम गर्न समेत कठिन हुने उमेरमा डा. श्रीमाथी भने स्टेथोस्कोप बोकेर बिरामी जाँच्छिन् र आत्मविश्वासका साथ शल्यक्रिया पनि गर्छिन् । उनी आफैं कार चलाएर अस्पताल जान्छिन् । ९२ वर्षको उमेरमा पनि उनको स्मरणशक्ति निकै तेज छ र अपरेशन गर्दा उनका हात काँप्दैनन् । जब उनलाई सोधियो, ‘अपरेशन गर्दा तपाईंका हात काँप्दैनन् ?’ उनले मुस्कुराउँदै भनिन्, ‘काँप्दैनन्, हेर्नुस्, आफैं मेरा हात हेर्न सक्नु हुन्छ ।’ उनले अन्य चिकित्सकझैं औषधिका नामहरू पनि सजिलै सम्झिन सक्ने बताइन् ।
एउटै परिवारका तीन पुस्ताको उपचार
डा. श्रीमाथीसँग काम गर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रजनी कुमारी भन्छिन्, ‘हाम्रा हात काँप्न सक्छन्, तर उहाँका हात आजसम्म स्थिर छन् ।’ उनका अनुसार योग, ध्यान, सन्तुलित आहार, पेशाप्रतिको समर्पण, तनावमुक्त जीवन र अनुशासित दिनचर्याले उनलाई आजसम्म सक्रिय राखेको छ । डा. श्रीमाथीले एउटै परिवारका हजुरआमा, आमा र छोरी-तीन पुस्ताको प्रसूति गराएको दुर्लभ उपलब्धि पनि हासिल गरेकी छन् । उनी भन्छिन्, ‘धेरै मानिसले आफ्नो बाल्यकालको फोटो देखाउँदै’, मेरो जन्म तपाईंले गराउनु भएको हो ।’
बिरामीको अनुभव
उनकी बिरामी तुलसी भन्छिन्, ‘उहाँ बिरामीको कुरा धैर्यपूर्वक सुन्नु हुन्छ । दिनको २४ घण्टामै जुनसुकै बेला फोन गर्दा पनि झर्को मान्नु हुन्न ।’ पहिलो पटक भेट्दा उनलाई उमेरका कारण डर लागेको थियो । ‘मैले सोचेँ, यति उमेरकी डाक्टरले सिजेरियन ठीकसँग गर्न सक्नु हुन्छ त ?’ तर अरू बिरामीको राम्रो अनुभव सुनेपछि र आफ्नै उपचार देखेपछि उनको सबै डर हट्यो ।
तुलसी भन्छिन्, ‘मेरो तेस्रो सुत्केरीका बेला आकस्मिक अवस्था आएको थियो । खबर पाउनासाथ उहाँ चियासमेत नखाई अस्पताल पुग्नुभयो ।’ आमा र बच्चा सुरक्षित नभएसम्म उनले खाना पनि नखाएको उनले सम्झिइन् ।
प्रतिक्रिया दिनुहोस !