लोपोन्मुख पञ्चेबाजा संरक्षणमा भोजपुरका महिला
भोजपुर : कुनै बेला गाउँका डाँडापाखा, टोलबस्ती, चोकगल्ली र आँगनहरू पञ्चेबाजाको धुनले गुञ्जिन्थे । पञ्चेबाजा विवाह, व्रतबन्ध, पूजाआजा, भोजभतेरदेखि हरेक शुभकार्यमा पञ्चेबाजा नेपालीको सांस्कृतिक चिनारी थियो । पछि आधुनिकता र नयाँ प्रविधिसँगै पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको पञ्चेबाजा विस्तारै ओझेलमा पर्न थाल्यो ।
तर भोजपुरमा भने यही चिन्तालाई आशामा बदल्ने अभियान सुरु भएको छ । यहाँका महिलाहरूले लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजालाई नयाँ पुस्तासम्म जोगाउने जिम्मेवारी आफ्नै काँधमा उठाएका छन् । उनीहरू अहिले केवल बाजा बजाउने मात्र नभई नेपाली मौलिक संस्कृतिलाई पुनर्जीवन दिने अभियानमा अग्रपंक्तिमा उभिएका छन् ।
विगत केहि वर्षहरुबाट भोजपुर नगरपालिकाले सञ्चालन गरेको पञ्चेबाजा प्रशिक्षणमा सहभागी बनेका महिलाहरूले छोटो समयमै सीप हासिल गरेर विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन थालेका छन् । केही वर्षअघिसम्म पुरुषले मात्र बजाउने गरेको पञ्चेबाजामा अहिले महिला समूहको सक्रिय उपस्थिति देखिन थालेको हो । उनीहरू पञ्चेबाजाको प्रस्तुति केवल मनोरञ्जन होइन, हराउँदै गएको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र संरक्षणको सशक्त सन्देश पनि बनेको उनीहरु सुनाउँछन् ।
पञ्चेबाजा समूहकी सदस्य जानुका खड्काका अनुसार तालिमले आफूहरूलाई केवल बाजा बजाउन सिकाउने मात्रै नभई संस्कृतिप्रतिको जिम्मेवारी पनि बोध गराएको छ । ‘हामीले प्रशिक्षण लिने अवसर पायौँ । अहिले विभिन्न स्थानबाट कार्यक्रमका लागि निम्ता आउँछ, हामी बाजागाजासहित पुगेर प्रस्तुति दिन्छौँ’, उनी भन्छिन् । समूहले जिल्ला तहका विभिन्न सार्वजनिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको छ । महिला समूहकी अर्की सदस्य लक्ष्मी तामाङले पञ्चेबाजा केवल एउटा बाजा मात्र नभई मौलिक पहिचान भएको सुनाउँछिन् ।
उनी सिकेको सीपलाई आगामी पुस्तासम्म पु¥याउने अठोटमा छिन् । उनका अनुसार महिलाहरूले समूह बनाएर नियमित रूपमा सार्वजनिक कार्यक्रममा पञ्चेबाजा बजाउन थालेपछि यसप्रति नयाँ पुस्ताको आकर्षण समेत बढ्न थालेको छ । उनले भनिन्, ‘पञ्चेबाजा केवल धुन होइन, नेपाली समाजको इतिहास, संस्कृति र पहिचान बोकेको जीवित सम्पदा हो । भोजपुरका महिलाहरूले त्यसै सम्पदामा नयाँ ऊर्जा भरेका छन् । मौलिक संस्कृति जोगाउने जिम्मेवारी मात्रै होइन, समाजकै साझा दायित्व हो ।’
पञ्चेबाजा जस्तो मौलिक सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न महिलाको सहभागिता बढ्नु सकारात्मक परिवर्तन भएको अर्का बाद्यवाधिका विजयन्ती तामाङको ठम्याई छ । ‘पहिले पुरुषको मात्रै क्षेत्र मानिने पञ्चेबाजामा अहिले महिलाले पनि आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । यसले संस्कृति संरक्षणसँगै महिलालाई आत्मविश्वास, सम्मान र रोजगारीका अवसर पनि दिएको छ ।’ उनले थपिन्, ‘आगामी पुस्ताले पनि हाम्रो मौलिक पहिचान चिनुन् भन्ने उद्देश्यले सबैले पञ्चेबाजा संरक्षणमा योगदान दिन आवश्यक छ ।’
पञ्चेबाजा तालिम र सीपले मौलिक संस्कृतिको संरक्षणसँगै महिलाका लागि नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले महिलालाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षणको उद्देश्य नै लोपोन्मुख संस्कृतिलाई जोगाउनु रहेको सुनाइन् । ‘हामीले महिलालाई लक्षित गरेर पञ्चेबाजा प्रशिक्षण सञ्चालन गरेका थियौँ । त्यसैको परिणामस्वरूप अहिले महिला पञ्चेबाजा समूह गठन भएको छ’, उनी भन्छिन् । नगरपालिकाले वडा नम्बर ९ सँगको सहकार्यमा वर्षेनी प्रशिक्षण सञ्चालन गर्दै आएको छ । प्रशिक्षणपछि महिलाहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै आयआर्जनको अवसर समेत प्राप्त गर्न थालेका छन् ।
वडा नम्बर ९ का वडाध्यक्ष रामबहादुर तामाङका अनुसार तालिमसँगै आवश्यक बाजासामग्री उपलब्ध गराइएकाले महिला समूहलाई व्यावसायिक रूपमा अघि बढ्न सहज भएको छ । उनले आधुनिकतासँगै हराउँदै गएको पञ्चेबाजाको परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यले सुरु गरिएको अभियान अहिले उत्साहजनक रूपमा अघि बढिरहेको बताए । हराउँदै गएको पञ्चेबाजा संरक्षण र सम्बद्र्धनमा महिला मात्रै नभई विभिन्न तहतप्काबाट प्रबद्र्धन गरिनुपर्ने सरोकारवालाहरु बताउँछन् । यसरी सबैले आ–आफ्नो दायित्वबोधले मात्र पञ्चेबाजाको महत्व र पहिचानलाई पुस्तान्तरण गर्न सकिने सरोकारवालाहरुको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस !