कप्तानगन्जको अवस्था नियन्त्रण बाहिर,स्थानीयका पसलमा तोडफोड

कप्तानगन्जको अवस्था नियन्त्रण बाहिर,स्थानीयका पसलमा तोडफोड

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो । 

आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर पुगेको छ । भिडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव भइरहेको छैन । भिडले स्थानीयका पसलहरू तोडफोड गर्न थालेका छन् । 

सोमबार बिहान करिब १० बजेदेखि कर्फ्यु आदेशलाई चुनौती दिँदै चारदेखि पाँच सय जनाको समूह सडकमा उत्रिएको थियो । प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका पाँचवटा पसलमा तोडफोड गरेका छन् । एउटा फार्मेसी,एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जनाएको छ । 

पसलहरूमा आक्रमण गरी सामान बाहिर निकालेर आगो लगाइएको सुरक्षा स्रोतले जनाएको छ । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीय आतंकित भएका छन् । डराएर सर्वसाधारणबीच भागदौड मच्चिन थालेको छ । 

प्रदर्शनकारीले लगातार तोडफोड र आगजनी गर्न थालेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको हो । एउटा पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेको छ । तत्काल स्थिति नियन्त्रणमा लिन नसकिए थप हिंसात्मक घटना हुन सक्ने जोखिम बढेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै प्रदर्शन जारी छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । यद्यपि, प्रदर्शनकारी पछि हटेका छैनन् ।

घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् ।

आइतबार राति कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको बताएका छन् ।

तर, कर्फ्यु लागू भएको केही घण्टामै प्रदर्शन चर्किएपछि सुरक्षा चुनौती थपिएको छ । कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनीष थापाका अनुसार अवस्था नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ ।

‘अहिलेसम्म सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको हो । टायर बालेर प्रदर्शन र तोडफोड सुरु भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

कोशी प्रदेशका विभिन्न जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका टोलीहरूलाई पनि कप्तानगन्जतर्फ पठाइएको छ । थप सुरक्षा बल परिचालन गर्ने क्रम जारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले पनि आकस्मिक बैठक गरी सुरक्षा व्यवस्था अझ कडा बनाउने निर्णय गरेको छ । प्रहरीका अनुसार अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहे पनि कप्तानगन्जको सुरक्षा अवस्था अझै अत्यन्त संवेदनशील रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.