एमाले–नेकपाबीच राजनीतिक सहकार्य गर्ने तीन बुँदे सहमति, ओली–प्रचण्डले गरे हस्ताक्षर
काठमाडौं : नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ ।
शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहकार्य गर्ने निर्णय गरेका हुन् । सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भएको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ । सहमतिपत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !