सिंहदरबार छिर्न नसकेकाहरू पुग्छन् माइतीघर
काठमाडौं : सिंहदरबारको पर्खालबाट केही सय मिटरमै छ– माइतीघर। पाँच दोबाटो भएको माइतीघर हुँदै उपत्यकाका तीनवटै जिल्ला चल्ने गाडीको ओहोरदोहोर उस्तै छ। सिंहदरबार छिर्न नसकेकाहरू दिनहुँ माइतीघरमा भेटिन्छन्।
माइतीघर राज्यको नजरमा पर्न नसकेका हजारौं भुइँमानिसका आँसु, आक्रोश र आशा ठोक्किने चौतारी हो। कसैको काखमा नाबालक शिशु छ, कसैको हातमा न्याय माग्ने प्लेकार्ड, कसैका आँखामा महिनौंको धर्नाले छाएको थकान छ त कसैका आवाजमा अन्यायविरुद्धको आक्रोश। आफ्ना गुनासा, असन्तुष्टि र न्यायको माग सार्वजनिक रूपमा व्यक्त गर्न जब नागरिकसँग सडकबाहेक अर्को विकल्प रहँदैन, तब उनीहरू सबैभन्दा पहिले टेक्ने थलो यही माइतीघर नै हो।
पछिल्ला दिनहरूमा यहाँ आन्दोलन, धर्ना र अनशन दैनिकी जस्तै बनेको छ। कोही व्यक्तिगत पीडा बोकेर न्यायको ढोका ढकढक्याउन आइपुगेका छन् भने कोही नीतिगत परिवर्तनको माग गर्दै सडकमा उत्रिएका छन्। कोही महिनौंदेखि निरन्तर धर्नामा बसिरहेका छन् त कोही अलिकति आशा बोकेर भर्खरै सडकमा ओर्लिएका छन्। जसको जहाँ सुनुवाइ भएन, ती सबैका फरक–फरक कथा र पीडा एकै ठाउँमा मिसाउने साझा थलो बनेको छ— माइतीघर।
माइतीघरमा भएकाहरूका माथ थरीथरीका छन्। आफूलाई प्रधानमन्त्रीको दाबेदार बताउने गणेश गिरी पनि बिहीबार माइतीघरमा भेटिए। उनी नेपाललाई पुनः हिन्दु सनातन राष्ट्र घोषणा गर्नुपर्ने, योगीहरूले शासन सञ्चालन गर्नुपर्ने तथा आफू प्रधानमन्त्री बने देशको अवस्था परिवर्तन हुने दाबी गर्दै आन्दोलनमा उत्रिएका हुन्। ‘अब देशमा हिन्दु सनातन धर्म छाउनुपर्छ। अब योगीहरूको तर्फबाट आफू प्रधानमन्त्री बन्नुपर्छ।
म योग र साधना गरेर आएको हुँ, ममा प्रधानमन्त्री हुने गुण पूर्णरूपमा रहेको छ। म प्रधानमन्त्री भएको सात दिनभित्र भत्किएका भवन र सडकका झुपडीहरू तत्काल हटाउँछु,’ उनले भने। अहिलेको सरकारले सोचेअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले आफू नेतृत्वमा पुगे सडकमा न्याय माग्दै बस्नुपर्ने अवस्था अन्त्य हुने बताए। आफ्नो ज्ञान, अनुभव र साधनाले देश सञ्चालन गर्न सक्ने क्षमता आफूमा रहेको भन्दै सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन गर्न नसकेको उनले दाबी गरे।
माइतीघरको अर्को कुनामा हेटौंडाकी शान्ति कार्की पनि धर्नामा बसिरहेकी छन्। उनले आफ्नो मञ्जुरीबिना बैंक खाताबाट रकम निकालिएको, व्यवसाय सञ्चालनका लागि लिएको ऋण आफूले नपाउँदा अरूले दुरुपयोग गरेको तथा त्यसकै कारण आफ्नो घरजग्गासमेत बैंकले लिलामी गरेको गुनासो गरेकी छन्।
‘मेरो हस्ताक्षरबिना नै बैंक खाताबाट पैसा निकालियो। अहिले मेरो भए जति सबै सम्पत्ति लिलाम भयो, दोषीलाई कारबाहीको सट्टा उन्मुक्ति दिइयो। बैंकसँगको मिलेमतोमा मलाई सडकमा ल्याइयो,’ उनले भनिन्। बैंकको प्रक्रियाले आफूलाई घरबारविहीन बनाएको भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उनी आन्दोलनमा सहभागी भएकी हुन्। यस घटनामा संलग्न रहेको आरोप लगाउँदै उनले केही राजनीतिक व्यक्तित्व र उनीहरू निकटमाथि पनि अनुसन्धान तथा कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि अन्तिम विकल्पका रूपमा माइतीघरमा धर्ना बस्नुपरेको उनको भनाइ छ।
जाजरकोटकी शर्मिला शाही विगत डेढ महिनादेखि आफ्ना नाबालक सन्तानसहित माइतीघरमा धर्ना दिइरहेकी छन्। नेपाल प्रहरीमा कार्यरत आफ्ना श्रीमान् हाल कर्तव्य ज्यानसम्बन्धी मुद्दामा हिरासतमा रहेको बताउँदै उनले न्यायिक प्रक्रियामा आफूले सोचेअनुरूपको सहयोग नपाएको भन्दै गुनासो गरेकी छन्। ‘मेरो श्रीमान्को सत्यतथ्य छानबिन हुनुपर्छ र मेरो सन्तानले जन्मदर्ता बनाउन पाउनुपर्छ,’ श्रीमान्को विषयमा निष्पक्ष न्याय हुनुपर्ने र आफ्ना सन्तानको जन्मदर्तासम्बन्धी समस्या समाधान गरिनुपर्ने मागसहित उनी आन्दोलनमा बसिरहेकी छन्।
त्यसैगरी, उनकै नजिकै गायिका बुनु उप्रेती पनि लामो समयदेखि माइतीघरमा न्यायको खोजीमा धर्नारत छिन्। आफ्नै श्रीमान्बाट घरेलु हिंसा, कुटपिट, मानसिक यातना र लुटपाटको प्रयास भएको आरोप लगाउँदै उनले अदालतबाट आफूले न्याय नपाएको गुनासो गरेकी छन्। उनी भन्छिन्, ‘मलाई मेरो आफ्नै श्रीमान्ले लामो समयसम्म मानसिक र शारीरिक यातना दिएका छन्। ममाथि कुटपिट भयो, ज्यान मार्ने प्रयास भयो। मैले प्रमाणसहित अदालतमा मुद्दा दर्ता गरेँ, तर न्याय पाइनँ। बरु दोषीलाई उन्मुक्ति दिइयो। त्यसैले न्यायको माग गर्दै म धर्नामा बसेकी छु।’ पर्याप्त प्रमाण हुँदाहुँदै पनि दोषीलाई उन्मुक्ति दिइएको दाबी गर्दै उनी न्यायको मागसहित निरन्तर आन्दोलन गरिरहेकी छन्। अघिल्लो सरकार हुँदा पनि आफू आन्दोलनमा रहेको र नयाँ सरकार बनेपछि पनि आन्दोलनमै बस्दा न्याय नपाएको उनको गुनासो छ।
प्रतिक्रिया दिनुहोस !