कोलकाताबाट सिधै विराटनगर आइपुग्यो रेल
विराटनगर : नेपाल–भारत पारवहन व्यवस्थामा नयाँ अध्याय थप्दै तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ।
यससँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले लामो समयदेखि अपेक्षा गरेको रेलमार्फतको प्रत्यक्ष ढुवानी सेवा व्यवहारमा लागू भएको छ। गत शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगर भन्सार कार्यालयको भन्सार परिसरमा आइपुगेको हो। रेलमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ बोकेका ४० फिटका ४० मालवाहक कन्टेनर रहेका थिए।
सामानको सुरक्षित ढुवानी र निगरानीका लागि ती कन्टेनरमा विद्युतीय माल निगरानी प्रणाली जडान गरिएको छ। यसअघि तेस्रो मुलुकबाट आयात गरिएका सामान भारतको बथनाहासम्म रेलमार्फत ल्याइन्थ्यो। त्यसपछि ट्रकमार्फत विराटनगर ल्याउने व्यवस्था थियो। अब भने भारतीय रेल सिधै विराटनगरस्थित भन्सार कार्यालयसम्म आइपुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज, छिटो र कम खर्चिलो हुने उद्योगी व्यवसायीले बताए।
मालवाहक रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित कार्यक्रममा गरिएको थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता बन्दरगाह तथा भारतीय कन्टेनर निगमका प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए। सोमबार रेल विराटनगर आइपुग्दा भन्सार कार्यालयका कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरे।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले विराटनगरसम्म रेलमार्फत ढुवानी सेवा विस्तार हुनु पूर्वी नेपालका उद्योगका लागि महŒवपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यसबाट कच्चा पदार्थ आयात गर्न लाग्ने समय र खर्च दुवै घट्ने भएकाले उद्योगको उत्पादन लागत कम हुनुका साथै प्रतिस्पर्धात्मक क्षमता बढ्नेछ।
उद्योगी सुयश प्याकुरेलका अनुसार रेलमार्फत हुने ढुवानी सडकमार्गको तुलनामा बढी सुरक्षित, भरपर्दो र कम खर्चिलो हुन्छ। कोलकाताबाट विराटनगरसम्म सामान करिब २४ घण्टामै आइपुग्ने भएकाले बन्दरगाहमा हुने ढिलाइ, कन्टेनर रोकिएकोबापत तिर्नुपर्ने शुल्क तथा अतिरिक्त सडक ढुवानी खर्चमा उल्लेख्य कमी आउने उनले बताए।
सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका मालवाहक कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिने जनाइएको छ। यसले उद्योगलाई आवश्यक कच्चा पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाइ छ।
नेपाल–भारत पारवहन सम्झौताअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका सडक, रेल र जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार भारत सरकारले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म मालसामान ढुवानी गर्न आवश्यक व्यवस्था मिलाएको हो। त्यसपछि नेपाली महावाणिज्यदूतावासको पहलमा कोलकाता भन्सार, जोगबनीस्थित भारतीय भन्सार कार्यालय र सम्बन्धित निकायबीच आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि सेवा नियमित रूपमा सञ्चालनमा आएको हो।
विराटनगरसम्म रेलमार्फत मालसामान ढुवानी सुरु भएसँगै पूर्वी नेपालका उद्योगी तथा आयातकर्ताले सहज, छिटो र कम खर्चिलो ढुवानी सेवा पाउने भएका छन्। यसले औद्योगिक उत्पादन, व्यापारिक गतिविधि र समग्र आर्थिक गतिविधिलाई थप गति दिने राठीले बताए।
प्रतिक्रिया दिनुहोस !