कर्णालीमा सत्ता फेरबदल : नेकपाभित्रै पनि ‘असन्तुष्टि’
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग मिलेर जाने विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि पनि सतहमा आएको छ । नेकपा (एमाले) बाट मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेससँगको सहकार्यमा अविश्वासको प्रस्ताव दर्ता गरी नेपाली कांग्रेससँग मिलेर सरकारमा जाने तयारी गरेपछि नेपाली कम्युनिष्ट पार्टीमा पनि असन्तुष्टि देखिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले सत्ता परिवर्तनको खेलमा नलाग्ने स्पष्ट निर्णय गरिसकेको भन्दै आफूहरु सत्ता परिवर्तनको खेलमा नलाग्ने बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक वर्षपछि नियमित हुने निर्वाचनमा सत्ता परिवर्तनको खेलमा सामेल हुनु भनेको दुःखद हो ।’
नेता श्रेष्ठले सामाजिक सञ्जालमा पार्टीको केन्द्रीय तहबाट नै भएका चार वटा नीतिगत निर्णयहरु पोष्ट गर्दै भनेका छन, ‘पहिलो नेका र एमाले नै बाँकी समय सरकार सञ्चालन गरोस्, दोस्रो दुबै पार्टीबाट सरकार सञ्चालनमा संयुक्त अनुरोध आएमा अर्को निर्वाचनसम्मका लागि मिलेर सरकार सञ्चालन गर्न समझदारी बनाउने सक्ने, तेस्रो नेका र एमाले एक आपसमा सरकार सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका हुन् भने अहिले प्रदेशसभा विघटन र तत्काल चुनावको दिशामा घटनाक्रम जान नदिन कुनै एउटा पक्षसँग मिलेर अघि बढने र चौथोमा त्यस्तो अवस्थामा आएमा राष्ट्रिय स्वाधिनता, संविधान एवम् लोकतन्त्रको रक्षा र समग्र नेपाली कम्युनिष्ट आन्दोलनको हितमा कम्युनिष्ट तथा वामपन्थी शक्तिहरुको विरुद्ध कसैसँग सहकार्य वा मोर्चा निर्माण गरिने छैन ।’
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अर्का प्रभावशाली नेता शक्ति बस्नतले पनि कर्णाली प्रदेशमा नेपाली कांग्रेससँग मिलेर प्रदेश सरकारमा जाने तयारी हतारमा गरेको बताए । उनले सामाजिक सञ्जालमा फेसबुमा लेखेका छन, प्रदेश सरकारमा सहभागिताको लागि यति धेरै हतारो किन गर्नु परेको होला ? कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका अर्का नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार फेरबदलमा सक्रिय भएपछि बस्नेतले शाहीप्रति व्यङ्ख गर्दै उक्त टिप्पणाी गरेका हुन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी कर्णालीका सह इन्चार्ज टेकबहादुर बस्नेतले पनि कर्णाली प्रदेश सरकारमा पार्टी सरकारमा जाने विषय पार्टीको नीति विपरित भएको बताए । उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै लेखेका छन्, ‘नेपाली कम्युनिष्ट पार्टी पार्टी एकता र सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले लिएको निर्णयको मूल स्पिरिटको कटौती गर्दै अस्वभाविक लक्ष्य र तरिकाविहीन कर्णाली प्रदेश सरकारमा जाने हतारो पार्टीलाई केन्द्रीय कार्यालयसँग समन्वय भइरहेको हवालाले पनि पार्टीको मूल स्पिरिट मारेको छ ।’ उनले सरकारको नीति र बजेट पास भइसकेकोले यो काम पार्टीको मूल नीतिसँग मेल नखाने भएकोले छलफलद्धारा सच्चाउन माग समेत गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका अर्का नेता नरेश भण्डारीले पनि नेपाली कांग्रेससँग सत्ता सञ्चालन गर्ने तहमा पुग्ने विषयप्रति गम्भीर आपत्ति जनाएका छन । उनले सामाजिक सञ्जालमा समयले कम्युनिष्ट आन्दोलनसँग गम्भीर आत्मसमीक्षा र निर्मम रुपान्तरण माग गरिरहेको बेला बैचारिक, संगठनात्मक र कार्यशैलीगत प्याराडाइम सिफ्ट गर्दै एकताबद्ध भएर अघि बढनुको विकल्प नभएको बताए । मुख्यमन्त्री कँडेल मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट ४ जनाले राजीनामा गरेपछि नेपाली कम्युनिष्ट पार्टीको अग्रसरतामा विहीबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । सो अविश्वासको प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ११ र नेपाली कांग्रेसको तर्फबाछ ५ जनाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !