कोशी अस्पतालको अतिक्रमित जग्गाको व्यावसायिक सटरमा डोजर

कोशी अस्पतालको अतिक्रमित जग्गाको व्यावसायिक सटरमा डोजर

विराटनगर :  विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएका संरचना सोमबार बिहानै डोजर परिचालन गरेर भत्काइएको छ। 

अस्पताल प्रशासनले जिल्ला सुरक्षा समितिसँगको समन्वयमा विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोकका अतिक्रमित सटर तथा अन्य संरचना हटाइएको हो। सम्भावित अवरोध र अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायतका सुरक्षा अधिकारी आफैं उपस्थित भएका थिए।  

यसअघि अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र संरचना खाली गर्न आग्रह गरेको थियो। सूचनापछि अधिकांश व्यवसायीले शनिबारदेखि नै सटर खाली गर्ने काम सुरु गरेका थिए। 

प्रहरीकाअनुसार अस्पतालको जग्गामा विभिन्न संघसंस्थाले स्थायी संरचना निर्माण गरी औषधि पसल, चिकित्सकका क्लिनिक तथा अन्य व्यवसाय सञ्चालनका लागि तेस्रो पक्षलाई भाडामा दिएका थिए। भाडामा लगाइएका सटरबाट प्राप्त हुने आम्दानी अस्पतालको खातामा नजाने गरी सम्बन्धित संस्थाले नै उपयोग गर्दै आएका थिए। 

अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर तथा नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा लामो समयदेखि प्रयोग गर्दै आएका थिए। त्यसबाहेक गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडातर्फ सटर निर्माण गरी व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका थिए। 

अस्पतालले आफ्नो दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा सेवा विस्तारका लागि अतिक्रमित संरचना हटाउन लामो समयदेखि पहल गर्दै आएको थियो। 

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको अनुगमन गरी अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएका थिए। त्यसलगत्तै अस्पतालले सात दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो अवधिको म्याद सोमबार सकिएपछि प्रशासनले डोजर चलाएको हो। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले हटाइएको जग्गा अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र अन्य संस्थागत प्रयोजनका लागि उपयोग गरिने बताए। उनका अनुसार वर्षौंदेखि कायम अतिक्रमण अन्त्य भएसँगै अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा प्रयोग गर्न पाउने वातावरण बनेको छ। 

व्यावसायिक प्रयोजनका लागि भाडामा दिइएका संरचना मात्र हटाइएको र नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक तथा गणेश मन्दिरका मूल संरचना भने तत्कालका लागि यथावत् राखिएको अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.