पहिरोले गोठ भत्किँदा पशुचौपाय मरे
स्याङ्जा : लगातारको बर्षाका कारण पहिरो जाँदा पुतलीबजार नगरपालिका १२ बगरेमा गोठ भत्केपछि भैसी र गोरु मरेका छन् । सोमबार माथिबाट झरेको पहिरोले बगाउँदा गुमान गुरुङको गोठमा रहेका २ वटा ब्याउने भैंसीसहित एउटा गोरु मरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रदेव अवस्थीले जानकारी दिए । साउनमा ब्याउने ती २ भैंसीसहित गोरु पुरिएका हुन।
रोजगारका लागि पोखरामा काम गर्दे आएका ४३ बर्षीय गुरुङ आफ्नै गाउँमा कृषि गर्ने भन्दै जन्मथलो फर्केर कृषि तथा पशुपालन गरेका थिए । उनले भैंंसी, बाख्रा, गोरु, मौरी पालन सहित कृषि कर्म गर्दै आएका थिए । अचानक भएको घटनाले गुरुङ्लाई हजारौंको क्षति पुर्याएको छ । बर्षाका कारण सिद्धार्थ राजमार्ग र भित्री सडकमा सडक अरुद्ध बनेका छन् । ठाउँ ठाउँमा पहिरो खसेको छ ।
राजमार्ग अन्र्तगत पुतलीबजार नगरपालिका ४ र चापाकोट नगरपालिकाको भित्री सडकमा खसेको पहिरो पन्छाएपछि अहिले सूचारु भएका छन् भने वालिङ्हु-वास भित्री सडक र बायाटारी-सिर्सेकोट भित्री सडक खुलाउने क्रम जारी रहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यसैगरी बर्षाका कारण खोलानाला र खोल्सा नदीको बहाव बढेको छ । प्रहरी प्रशासनले सुरक्षित स्थानमा बस्न र विपत्ति आइपरे १२३४ नम्बरमा फोनगरी तत्काल जानकारी गराउन समेत सूचित गराएको छ ।
प्रतिक्रिया दिनुहोस !