बाढी-पहिरोमा ६ को मृत्यु, १३ भन्दा बढी राजमार्ग अवरुद्ध
काठमाडौं : दुई दिनदेखि देशभर परेको अविरल वर्षाले बाढी—पहिरो र डुबानको जोखिम बढाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। बाढी—पहिरोका कारण देशभर १३ भन्दा बढी मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने नदीको सतह बढेपछि दर्जनौं बस्ती उच्च जोखिममा परेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त राजमार्गमा सवारी सञ्चालन नगर्न आग्रह गर्दै नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।
असार २८ र २९ गतेदेखि देशभर परिरहेको अविरल वर्षाका कारण आएको बाढी—पहिरो र डुबानले जनधनको ठूलो क्षति पु¥याएको छ। देशका विभिन्न भागमा गएको पहिरोले मुख्य राजमार्गहरूसहित १३ भन्दा बढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। भक्तपुरको हनुमन्ते खोला र चितवनको नारायणी नदीमा पानीको बहाव उच्च रहेको छ।
- देशभरका १३ भन्दा बढी मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्घ।
- नदीको सतह बढेपछि दर्जनौं बस्ती उच्च जोखिममा
- नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्राधिकरणको आग्रह।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार बाढी–पहिरोको जोखिम भएका राजमार्गमा सवारीसाधन सञ्चालन बन्द गर्न सूचना जारी गरिएको छ। अविरल वर्षाका कारण बागमती प्रदेशको रामेछाप जिल्लाको गोकुलगंगा–४ मा बाढी गएको छ।
विपद् प्राधिकरणका अनुसार अविरल वर्षाका कारण ताप्लेजुङको फक्ताङलुङ–६ मा पहिरो गएको छ। उदयपुरको त्रियुगा–१५ मा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। यस्तै सप्तरीको रुपनी–६ मा बाढी पसेर जनजीवन प्रभावित बनेको छ। काठमाडौंको कागेश्वरी–मनोहरा क्षेत्रमा पनि बाढी आएको छ। काभ्रेको नमोबुद्ध–७ मा बाढी आएको छ। हुम्लाको सिमकोटमा पहिरो गएको छ। कर्णाली प्रदेशको पचालझरना–३ मा पनि पहिरो गएको छ।
कुन–कुन राजमार्ग अवरुद्ध ?
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, राजदुवालीमा सडक अवरुद्ध हुँदा झापा–ताप्लेजुङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सम्भावित बाढीका कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ। त्यसैगरी पहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा सडक अवरुद्ध हुँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्ग, पोखरा–ताङतिङ सडक, घोराही–रुकुम सहिद मार्ग, सालझण्डी–ढोरपाटन सडक र मदन भण्डारी राजमार्ग पनि बाढी–पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका छन्। भोजपुरमा मध्यपहाडी राजमार्ग र पाल्पामा सिद्धार्थ राजमार्गमा बाढी–पहिरो जाँदा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
लगातारको वर्षाले ग्रामीण बस्तीका साथै पर्यटकीय पदमार्गहरूमा समेत भौतिक क्षति पुर्याएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अविरल वर्षाका कारण देशभरका अधिकांश स्थानमा बाढी–पहिरोका घटना भएका छन् र राजमार्गहरू बन्द रहेका छन्। घटनाको विवरण संकलन भइरहेको उनले जानकारी दिए। काफ्ले भन्छन्, ‘विपद्बाट जोगिने मुख्य उपाय भनेकै सतर्कता अपनाउनु हो। अति आवश्यक कामबाहेक बाहिर ननिस्कौं। यात्रा नगरौं।’
उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २८ र २९ गते भारीदेखि अति भारी वर्षाको चेतावनी अघि नै जारी गरेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।
अवरुद्ध सडक खुलाउन सडक विभाग र सुरक्षाकर्मीहरूको टोली खटिए पनि लगातारको वर्षाले सडक पन्छाउने काममा निरन्तर बाधा पुगिरहेको छ। सरकारले सम्भावित जोखिम क्षेत्र र नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !