बेलडाँडी (कञ्चनपुर) : कञ्चनपुरको बेलडाँडी गाउँपालिका—५ इमिलियाका टीकाराम रानाको पछिल्लो एक दशकदेखि मचानको बास भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, नीलगाई, चित्तल, बँदेलजस्ता जंगली जनावरले, खेतमा लगाएको बाली खाइदिने भएकाले उनी बाली जोगाउन भन्दै एक दशकदेखि मचानमा बस्दै आएका हुन्।
जंगलको छेउमा घाँसदाउराका लागि सहज हुने भएकाले टीकाराम रानाका बाजे करिब सय वर्षअघि इमिलिया गाउँमा बसेको उनले बताए। तर सजिलोका लागि बसेको त्यही ठाउँ र नदीछेउको बसाइ उनका लागि कष्टकर बन्दै गएको छ। टीकारामको इमिलियाको बीच गाउँमा १० कठ्ठा मात्रै जग्गा छ। त्यसबाट उत्पादन हुने अन्नले घरमा खान पनि नपुग्ने भएकाले उनले सोही वडा भएर बग्ने चौधर नदी किनारको दुई बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेका छन्।
उखु, टीकारामको घरखर्च चलाउने आम्दानीको स्रोत हो। जंगली जनावरबाट बचाउन सकेको वर्ष उनले दुई बिघाबाट करिब ७ सय क्विन्टल उखु बिक्री गर्छन्। नजिकै रहेको महाकाली सुगर मिलले उनको उखु ६ सय रुपैयाँ क्विन्टलका दरले किनिदिने गर्छ। उखु लगाएको खेतबाट १० किलोमिटरको दूरीमै चिनी मिल भएकाले पनि बेलडाँडीका अधिकांश किसानले उखु खेती गर्दै आएका छन्।
वर्षमा एक पटक बिक्री गर्न पाउने उखुबाट उनले वर्षमा झन्डै साढे चार लाख जतिको आम्दानी गर्ने गर्छन्। ‘वर्षभरि घरको नुनतेलको खर्च, बालबालिकाको पढाइ र औषधिमुलोको खर्च भनेको यही उखु हो। तर जंगली जनावरबाट जोगाएर आम्दानी हात पार्न धेरै संघर्ष गर्नु परिरहेको छ’ टीकारामले भने।
टीकारामको मात्र होइन, बेलडाँडी गाउँपालिकाका ५ नम्बर वडामा पर्ने इमिलिया, मोहनपुर, राधापुर, वडा नम्बर २ को गौडीदंगा आसपासका अधिकांश किसान जंगली जनावरबाट बालीनाली जोगाउन संघर्षरत छन्। जंगली जनावरमा पनि बढीजसो उनीहरूको क्षति, हात्तीले गर्नैपर्छ। ‘सबैभन्दा बढी क्षति गर्ने भनेको हात्ती हो। उखु पाक्ने समयमा हात्तीको बथान आउँछ, बिक्रीका लागि तयार भएको उखु सबै खाइदिन्छ, त्यसपछि वर्षभरिको सपना चकनाचुर हुन्छ’ रानाले भने।
बेलडाँडी गाउँपालिकाको वडा नम्बर २ र ५ को अधिकांश भूभाग शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ। आरक्ष नजिकै उत्तर दक्षिण भएर चौधरी नदी बग्ने गर्छ। चौधर नदीमा पानी खान, गर्मीका बेला तालमा खेल्न हात्तीको बथान सो क्षेत्रमा आउने गर्छ। त्यही बथान बेलाबेला गाउँलेको खेतमा पनि पस्ने गर्छ। ‘त्यसैले हामीले मचान बनाएका छौं। मचानमा पालैपालो गरी बस्ने गर्छौं। हात्तीको बथान आयो भने मचानमा बसेका व्यक्तिले गाउँमा फोन गर्छन। त्यसपछि गाउँलेहरू ट्र्याक्टर ल्याएर आउँछन। ट्र्याक्टरको आवाज, गाउँलेहरूको होहल्ला र गाडीका टायरहरू बालेर हात्ती भगाउने प्रयास गरिन्छ’ रानाले भने।
स्थानीयले आफ्नो सुरक्षाका लागि ममचान बनाएका हुन्। केही स्थानमा पक्की मचान बनाइएका छन् भने अधिकांश स्थानमा काठका पोल हालेर मचान बनाइएका छन्। खेतमा कटेरो बनायो भने हात्तीको बथान आएको पनि नदेखिने र आएपछि सजिलै भत्काइदिने भएकाले स्थानीयले आफ्नो ज्यानको सुरक्षाका लागि मचानहरू बनाएका हुन्। ‘आफ्नो सुरक्षाका लागि हामीले मचान बनाएका हौं। सानो कटेरो बनायो भने हात्तीले भत्काई दिन्छ। मचान अलि बलियो र उँचाईमा हुने भएकाले सुरक्षित हुन्छ’ रानाले भने।
चौधरी नदी आसपासको खेतमा करिब ५० वटा मचान बनाइएका छन्। यस आसपासको जमिनमा घरहरू छैनन्। त्यहाँका स्थानीयहरूको अलि टाढाको बस्तीमा घरहरू छन। तर खेतीपातीका लागि भएको जमिन निकुञ्ज छेउमा छ। निकुञ्ज छेउमा रहेका तर सँगसँगै जोडिएको खेत भएका स्थानीयहरू पालैपालो मचानमा बस्ने गर्छ। मचानमा चौबिसैघण्टा कुनै न कुनै स्थानीयले ड्युटी दिएकै हुनुपर्छ।
साना जंगली जनावरहरूलाई धपाउन सकिलो भए पनि हात्तीको आतंकले उनीहरू आजित छन्। स्थानीयले हात्तीको आतंक रोकिदिन सरकारसँग माग गरेका छन्। ‘सरकारले निकुञ्जको क्षेत्रमा तारजाली लगाई दिए हुन्थ्यो’ स्थानीय बसन्ती रानाले भनिन्। ‘निकुञ्जले लगाएको करेन्टवाला तारबाट पनि हात्ती रोकिएको छैन।’
उनले हात्तीलाई करेन्टबारे जानकारी भइसकेको बताइन्। ‘पहिला पहिला करेन्ट छोडिएको तारमा सुँड लगाउदा झट्का लाग्ने गरेका कारण हात्ती फर्किन्थ्यो। तर अहिले हात्तीको बथान आएमा पुच्छरतिरको भागले तार चुडाल्छ अनि बथान खेतमा पस्छ’ बसन्तीले भनिन्।
प्रतिक्रिया दिनुहोस !