काठमाडौं : २५ जनाको ज्यान लिइसकेको ध्रुवे नाम गरेको हात्तीको व्यापक खोजी भइरहेको छ। धु्रवेले आक्रमण गरी गत शनिबार मात्रै भरतपुर–२३, जगतपुर छेउमा बस्दै आएका २५ वर्षकी आशिका बोटे र उनका ४ वर्षीय छोराको ज्यान लिएको थियो। घरमा सुतिरहेको समयमा हात्तीको आक्रमणमा परेकी बोटेसहित धु्रवेबाट मारिनेको संख्या २५ पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
बोटेको परिवार चितवनको माडी, पाँचपाण्डवबाट १० वर्ष पहिला जगतपुरमा बसाइँ सरेको थियो। उनीहरूको परिवारका अन्य दुई जना सदस्य माडीमा ध्रुवेको आक्रमणमा परेपछि त्यहाँ सरेका थिए। धु्रवेबाट बच्न जगतपुरमै परिवार सरे पनि उसको निशानाबाट जोगिएनन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबारको घटनापछि धु्रवे सम्पर्क बाहिर छ। ध्रुवेलाई नियन्त्रणमा लिन डार्ट टोली (बेहोस गराउने) समूह परिचालन गरिएको छ। मगरका अनुसार नियन्त्रणमा आएपछि धु्रवेको घाँटीमा रेडियो कलर लगाउने र दाह्रा काट्ने तयारी भइरहेको छ। ध्रुवेको दाह्रा पहिला पनि काटिएको थियो, तर पलाइसकेको छ। रेडियोकलरबाट धु्रवेको अनुगमन गरिन्छ। उ कहाँ छ भन्ने सूचना रेडियोकलरबाट हेर्न मिल्छ।
ध्रुवेको शरीरमा २०८० सालमा राखिएको रेडियो कलरले हाल काम गरेको छैन। रेडियो कलरमा भएको ब्याट्री दुई–तीन वर्षमात्र काम गर्ने हुन्छ। त्यसैले पनि नयाँ रेडियो कलर जडान गर्नुपर्ने अवस्था आएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले धु्रवे रातको समयमा मात्रै बाहिर आउने गरेकाले पूरै सतर्क भएर गस्ती गरिरहेको बताए। उसको गतिविधि नियालेर बस्तीनजिक आएमा जानकारी गराउने गरिन्छ। ध्रुवेलाई २०७६ सालतिर मार्ने आदेश नै भएको थियो। त्यतिबेला नेपाली सेनाको गोली खाएर भागेको ध्रुवे ८ वर्ष शान्त बसेर पुन आक्रामक भएको छ। ध्रुवे शान्त रहेको अवधिमा निकुञ्जको भित्रभित्रै बसेर भारतसम्म पुगेको पुन मगरले बताए।
उनका अनुसार विशेष गरी पोथी लाग्ने सिजनमा उनीहरू आक्रमक हुन्छन्। धान पाकेको समयमा, मकै भएको बेलामा पनि हात्तीहरू आक्रमक हुन्छन्। त्यसैकारण मृतक बोटेको घरवरिपरि केरा बगान भएकाले धु्रवे आएको हुनसक्ने अनुमान गरिएको छ। हात्तीलाई केरा मन पर्छ। त्यस्तै घरायसी प्रयोजनमा राखिएको मादक पदार्थको गन्धले पनि आकर्षित गरेर उतm घरमा पुगेको हुनसक्ने मगरले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता वेदकुमार ढकालले भने ‘यत्रो वर्ष शान्त भएको हात्ती किन पुन आक्रमक भयो, हामीलाई पनि अचम्म लागेको छ।’ तर, जनावरले आक्रमण गर्नुमा विभिन्न कुराले प्रेरित गर्ने गरेको उनले बताए।
विभागका महानिर्देशक, बुद्धिसागर पौडेलले ध्रुवेलाई नियन्त्रणमा लिएपछि केही समय त्यसको आनिबानी नियाल्ने बताए। ‘धु्रवे कम्तीमा ३५ देखि ४० वर्ष पुगिसकेकाले थप क्षति नगर्ला भन्ने आश गरेका छौं। विशेषगरी २० वर्षको उमेरतिर हात्ती बढी आक्रामक हुन्छन्,’ उसलाई निकुञ्जको कोर एरियातिर नै पठाइने उनले बताए।
पौडेलका अनुसार ‘स्टान्डर्ड फर एलिफेन्ट’ भन्ने संस्थाले रेडियोकलर उपलब्ध गराउने भनेको थियो। तर, पूर्वमा अर्को हात्तीलाई लगाउने अनुमति पाएको एउटा रेडियो कलर जगेडामा रहेकाले त्यो नै प्रयोग गर्ने जानकारी दिए। ‘रेडियोकलर चितवन पुगिसक्या छ। अमेरिकामा नै बन्ने गरेको र उतैबाट ल्याइने उक्त रेडियोकलर विशेष प्रयोजनमा मात्रै प्रयोग हुने भएकाले स्टकमा राख्न मिल्दैन,’ पौडेलले भने।
जंगली जनावरको आक्रमणमा पर्ने पीडीतहरू विशेषगरी जंगलका छेउछाउ बसोबास गर्ने र झुपडीमा बस्ने र विपन्न वर्गका छन्। जनावरबाट थप क्षति नहोस भनेर उनीहरूको दीर्घकालीन समाधान खोज्नुपर्ने र यस विषयमा मन्त्रालयसँग छलफल भईरहेको पनि पौडेलले। सुरक्षित व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको र त्यस्ता समुदाय जोखिममा रहेको पनि बताए।
चितवन राष्टिय निकुञ्जका अनुसार यो वर्ष मात्रै हात्ती, गैंडा र बाघको आक्रमणमा परी चितवनमा ६ जनाले ज्यान गुमाइसकेका छन्। सकेसम्म यस्ता घटना हुन नदिन तथा न्यूनीकरण गर्न प्रयास गरिरहेको निकुञ्जका प्रमुख पुर्जा मगरले बताए।
प्रतिक्रिया दिनुहोस !