मोबाइल चोरीको आरोपमा बालबालिकालाई पिलरमा बाँधेर यातना, दुईजना पक्राउ
विराटनगर : मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेको आरोपमा दुईजना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको भन्दै प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
बालबालिकामाथि अमानवीय व्यवहार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकी पक्राउ परेका हुन् ।
उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजे उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । दुवै बालबालिका उर्लाबारी–३ निवासी दुखीलाल उराउका छोरा र छोरी हुन् ।
मोबाइल चोरी गरेको आरोप लगाउँदै कार्की र बुढाथोकीले बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर राखेको भन्ने सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी सहायक निरीक्षक (असई) चन्द्रबहादुर भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले तत्काल डोरी फुकालेर दुवै बालबालिकाको उद्धार गर्दै अभिभावकको जिम्मा लगाएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको खुट्टामा सामान्य निलडाम देखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुवै आरोपितमाथि इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा विस्तृत अनुसन्धान भइरहेको छ । डीएसपी श्रेष्ठले चोरीको आशंका वा आरोपका आधारमा कसैमाथि पनि कानुन हातमा लिएर दुव्र्यवहार गर्न नपाइने स्पष्ट पार्दै विशेषगरी बालबालिकालाई बाँधेर यातना दिनु गम्भीर कानुनी विषय भएको बताए । उनले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !