काम नगर्ने मेयरलाई कारबाही गर्छौं, प्रदेश मन्त्रीलाई पनि थुन्छौं : पूर्वाधार मन्त्री लम्साल
काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिएर आलोचित बनेका पूर्वाधार विकास मन्त्री लम्सालले पुन: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँगको भेटमा मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने आश्वसन दिएका हुन्।
लम्सालले तीनै तहका जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए। उनले भने, ‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भनेपनि त्यो केशमा पनि हामीलाई जानकारी दिनुहोस्, मेयरलाई नै कारबाही गर्छौं हामी। प्रदेशका मन्त्रीले पनि त्यस्तै गरे प्रदेशका मन्त्रीलाई पनि थुन्छौं हामी। काम गर्नुपर्यो, काम गराउनुपर्यो।’
वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै स्थानीयले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेका थिए। उनले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए।
यसअघि धादिङमा सडक आयोजनाको अनुगमन गर्दा बिजुलीका पोल नहटाउने व्यवसायीको खुट्टा भाँच्न निर्देशन दिएपछि विरोध भएको थियो। पछि उनले प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफमा त्यसको बचाउ गर्दै आफूले बेलामा काम नगर्दा समस्या हुने भन्दै निर्माण व्यवसायीलाई जोगाउन त्यस्तो अभिव्यक्ति दिएको तर्क गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !