इरानका सर्वोच्च नेता आफ्ना पिता अली खामेनीको अन्त्येष्टिमा किन भए अनुपस्थित ?
इरान : पूर्व इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका तीन छोरा मोस्तफा, मेइसाम र मसुद खामेनीले आइतबार आफ्ना पिता तथा परिवारका अन्य चार सदस्यको शव अगाडि अन्तिम प्रार्थना गरे । तर अली खामेनीपछि इरानको सर्वोच्च नेता बनेका उनका छोरा मोज्तबा खामेनी भने अन्त्येष्टि कार्यक्रममा देखिएनन् ।
सरकारी टेलिभिजनले तेहरानस्थित विशाल धार्मिक परिसर इमाम खोमेनी मोसल्लाको प्रांगणमा राखिएका शवअगाडि तीन भाइले प्रार्थना गरिरहेको दृश्य प्रसारण गरेको थियो । धार्मिक शासनप्रति जनसमर्थन र क्रान्तिकारी उत्साह प्रदर्शन गर्ने उद्देश्यसहित इरानले अली खामेनीको सम्मानमा एक सातासम्म सामूहिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यसअन्तर्गत उनको पार्थिव शरीर छिमेकी इराकका प्रमुख शिया धार्मिक तीर्थस्थलहरूमा पनि लगिने कार्यक्रम छ ।
वरिष्ठ इरानी अधिकारी तथा विदेशी प्रतिनिधिहरूले श्रद्धाञ्जली दिनका लागि एक दिनसम्म शवलाई भवनभित्र राखिएको थियो । त्यसपछि शनिबार अली खामेनीको शवलाई उनकी छोरी, ज्वाइँ, बुहारी र १४ महिनाकी नातिनीको शवसँगै सिसाभित्र राखेर सर्वसाधारणका लागि बाहिर प्रदर्शन गरिएको थियो। रोयटर्सका अनुसार फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा गरेको संयुक्त आक्रमणमा अली खामेनी र उनका परिवारका सदस्यको मृत्यु भएको थियो । सोही आक्रमणमा मोज्तबा खामेनी पनि घाइते भएका थिए । उनी निकट स्रोतहरूका अनुसार उनको अनुहार गम्भीर रूपमा विकृत भएको छ भने एउटा वा दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।
वाशिङ्टनको मध्यस्थतामा भएको युद्धविरामपछि चार महिनादेखि जारी युद्ध अहिले रोकिएको छ । इरानी अधिकारीहरूले यस सहमतिले अन्ततः देशलाई ठूलो आर्थिक लाभ पुग्ने र यसलाई आफूहरूले महाशक्तिमाथिको विजयका रूपमा लिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिसम्बन्धी गतिविधिका कारण शान्तिवार्ता एक साताका लागि स्थगित गरिएको बताएका छन् । आइतबार इरानका राष्ट्रपति मसुद पेजेशकियान र संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि शवअगाडि प्रार्थना गरे। यस क्रममा मसुद खामेनी रोइरहेका र इरानमा क्रान्तिकारी आदर्श तथा प्यालेस्टिनीहरूप्रतिको ऐक्यबद्धताको प्रतीक मानिने केफियाहले आँशु पुछिरहेका दृश्य देखिएको थियो ।
हजारौं इरानी नागरिक मोसल्लामा श्रद्धाञ्जली दिन पुगेका छन् । धेरै जना रोइरहेका तथा केहीले छाती पिट्दै शोक व्यक्त गरेका थिए । इरानको मेट्रो सेवाका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म करिब ७० लाख यात्रा दर्ता भएका छन्, जसले ठूलो संख्यामा मानिसहरू राजधानीको केन्द्रतर्फ गएको देखाउँछ ।
सोमबार तेहरानमा विशाल शवयात्रा निकालिनेछ । त्यसपछि मंगलबार धार्मिक अध्ययनको केन्द्र कोममा अन्त्येष्टि कार्यक्रम हुनेछ । त्यसपछि बुधबार पार्थिव शरीर इराकका शिया धर्मावलम्बीका पवित्र सहर नजफ र कर्बला लगिनेछ । अन्तिम चरणमा बिहीबार इरानको मशहदमा अर्को शवयात्रापछि मध्यकालीन एक शिया इमामको समाधिनजिक उनको अन्त्येष्टि गरिनेछ । आगामी दिनहरूमा हुने विशाल शवयात्रामा लाखौं मानिस सहभागी गराउने लक्ष्यसहित सरकारले यातायात, खाना र बसोबासको व्यवस्था गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस !