हारेर पनि केप भर्डेले जितेको मन

मेसीले भोजिन्हालाई भने– ‘तिमी महान छौं। केप भर्डेका जनता तिमीबाट गौरवान्वित छन्।’

हारेर पनि केप भर्डेले जितेको मन
सुन्नुहोस्

काठमाडौं : विश्व फुटबलमा प्रायः विजेता टोली र तिनका खेलाडीको मात्रै चर्चा र परिचर्चा हुन्छ। तर, कहिलेकाहीँ यस्ता टोली पनि हुन्छ, जसले खेल र उपाधि जित्दैनन्। तर, आफ्नो साहस, संघर्ष र खेलभावनाले विश्वभरका समर्थकको मन जित्छन्। यस पटकको फिफा विश्वकप २०२६ मा अफ्रिकी राष्ट्र केप भर्डेले पनि यस्तै चर्चा बटुल्यो। आमदर्शकको मन जित्न सफल भयो। 

करिब ५ लाख जनसंख्या भएको एउटा सानो द्विपीय राष्ट्रले पहिलो विश्वकप सहभागितामै संसारलाई चकित बनायो। विश्व वरीयतामा ६४औं स्थानमा रहेको केप भर्डेलाई धेरैले कागजी रूपमा कमजोर टोलीका रूपमा हेरेका थिए। तर, विश्वकप सुरु भएदेखि नै आफ्नो दमदार छाप छाड्न सफल भयो। एउटा कमजोर टोलीका रूपमा विश्वकपमा स्थान बनाएको केप भर्डे विश्वकपबाट बाहिरिँदासम्म सबैभन्दा प्रेरणादायी टोलीका रूपमा आफूलाई स्थापित गर्न सफल भयो।

विश्वकपमा डेब्यु गर्ने ४ टोलीमध्ये नकआउट चरणमा पुग्ने एकमात्र टोली केप भर्डे हो। समूह चरणमा उसले विश्व फुटबलका स्थापित राष्ट्र स्पेनसँग गोलरहित बराबरी खेल्यो। त्यसपछि उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेल्दै आफ्नो क्षमता थप प्रमाणित गरेको थियो। समूह चरणको तेस्रो खेलमा साउदी अरेबियाविरुद्ध पनि अंक बाँड्दै केप भर्डेले आफ्नो अपराजित यात्रा कायम राख्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। 

पहिलोपटक विश्वकप खेलिरहेको सानो अफ्रिकी राष्ट्रले साविक विजेता अर्जेन्टिनालाई अन्तिम ३२ को खेलमा अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाउँदै फुटबल समर्थकको मन जित्न सफल भयो। अन्तिम ३२ को खेलमा ३–२ गोलको नतिजाले प्रतियोगिताबाट बाहिरिए पनि केप भर्डेले आफ्नो साहस, आत्मविश्वास र उत्कृष्ट खेलका कारण विश्वभर प्रशंसा बटुल्न सफल भयो।

भोजिन्हा : दी वाल
केप भर्डे यस विश्वकपको प्रेरणादायी टोलीका रूपमा उदाउँदा त्यसका नायक बनेका थिए, ४० वर्षीय गोलरक्षक भोजिन्हा। भोजिन्हाले विश्वकप विजेता स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता सशक्त टोलीसँग मात्रै होइन, साउदी अरेबियासँग पनि सानदार प्रदर्शन गरेका थिए। स्पेनसँगको खेलमा उत्कृष्ट ८ बचाउ गरेका उनले अर्जेन्टिनासँगको खेलमा पनि ७ बचाउ गरेका थिए। केप भर्डेको पोस्ट्मा पर्खाल जसरी उभिने उनलाई ‘दी वाल’का रूपमा धेरैले चर्चा गर्दै आएका छन्।

विश्वकपको डेब्यु खेलमै भोजिन्हाले २०१० को विजेता स्पेनलाई बराबरीमा रोक्न सानदार प्रदर्शन गरेका थिए। यो खेलपछि आँसु झार्दै केप भर्डेको झन्डा दुई हातले उठाएको तस्बिर भाइरल बनेको थियो। उनले मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनले उनी रातारात ‘सुपर स्टार’ बन्न पुगेका थिए।
अनुभवी गोलरक्षक भोजिन्हाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे। अर्जेन्टिनाविरुद्ध उनले लियोनल मेसीसहितका स्टार खेलाडीका धेरै प्रहार बचाउँदै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखे। उनको प्रदर्शनलाई प्रतियोगिताकै उत्कृष्ट गोलकिपिङ प्रदर्शनमध्ये एकका रूपमा चर्चा गरिएको छ। 

टोलीका मुख्य प्रशिक्षक बुबिस्टाले प्रतियोगिताबाट बाहिरिएपछि खेलाडीप्रति गर्व व्यक्त गर्दै आफ्नो टोलीले केवल फुटबल मात्र नभई देशको पहिचान, आत्मसम्मान र संघर्षको कथा विश्वसामु प्रस्तुत गरेको बताएका थिए। उनले विश्व च्याम्पियनविरुद्ध दुई पटक खेल बराबरीमा ल्याउनु र अतिरिक्त समयसम्म प्रतिस्पर्धा गर्नु नै आफ्नो टोलीको ठूलो सफलता भएको प्रतिक्रिया दिएका थिए।

खेलपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तिम ३२ को खेल निकै कठिन हुने अनुमान आफूहरूले यसअघि नै लगाइसकेको बताएका थिए। ‘साँचो भन्नुपर्दा, हामीलाई यो खेल निकै कठिन हुने कुरा पहिले नै थाहा थियो। पहिलो गोल गर्न नै सबैभन्दा धेरै संघर्ष गर्नुपर्‍यो। पहिलो गोल गरेपछि खेल आफ्नो नियन्त्रणमा आउँछ र अझ संयमित भएर खेल्न सकिन्छ भन्ने सोचेका थियौं। तर, खेल ठीक त्यसको उल्टो भयो। केप भर्डेले निकै उत्कृष्ट खेल खेल्यो’, उनले भोजिन्हालाई लक्षित गर्दै भने, ‘तिमी महान छौं। केप भर्डेका जनता तिमीबाट गौरवान्वित छन्।’ 

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि केप भर्डेको खुलेर प्रशंसा गरेका छन्। उनले केप भर्डेले आफ्नो टोलीलाई अन्तिमसम्म कडा चुनौती दिएको बताए। उनले आफ्ना खेलाडीहरू खेलपछि निकै थाकेको उल्लेख गर्दै यस्तो प्रतिस्पर्धाले विश्वकपको स्तर झल्काउने प्रतिक्रिया दिएका थिए। केप भर्डे विश्वकपबाट बाहिरिए पनि टोलीले विश्वभर सम्मान, समर्थन र नयाँ समर्थक कमाएको छ।

केप भर्डेको यो यात्रा विश्व फुटबलमा ‘अन्डरडग’ कथाको उत्कृष्ट उदाहरण बनेको छ। सीमित स्रोत र सानो जनसंख्या हुँदाहुँदै पनि दृढ इच्छाशक्ति, रणनीति र सामूहिक एकताले विश्व फुटबलमा नयाँ इतिहास लेख्न सकिने सन्देश यस दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.