ठगी र ‘साइबर स्क्याम’ बाट बच्न तत्काल मिलाउनुस् ह्वाट्सएपका यी ५ गोप्य ‘सेटिङ’
काठमाडौं : पछिल्लो समय अनलाइन ठगी र ‘साइबर स्क्याम’ का घटनाहरु बढिरहेका छन् । जसका कारण धेरैले आफ्नो बर्षौको कमाइ समेत गुमाएका छन् । ठगीका माध्यमहरुमा ह्वाट्सएप पनि देखिएको छ । यसैले ह्वाट्सएपबाट हुने ठगी र साइबर स्क्यामका घटनाबाट बच्न यसको सुरक्षित प्रयोगका बारेमा पनि ज्ञान र जानकारी हुन आवश्यक छ ।
ह्वाट्सएपमा बढ्दो अनलाइन ठगी र साइबर स्क्यामबाट बच्न कम्पनीले धेरै सुरक्षा फिचर उपलब्ध गराएको छ । यदि तपाईं पनि दैनिक रूपमा ह्वाट्सएप प्रयोग गर्नु हुन्छ भने केही महत्वपूर्ण सेटिङ तुरुन्त अन गर्नु उपयुक्त हुन्छ ।
ह्वाट्सएप अब केवल च्याटिङ एप मात्र रहेन
आजकल मानिसहरूले बैंकिङ अपडेट, अनलाइन भुक्तानी, व्यापारिक कुराकानी र महत्वपूर्ण कागजात शेयर गर्न समेत ह्वाट्सएप प्रयोग गर्छन् । तर यसको प्रयोग बढ्दै जाँदा साइबर फ्रड र अनलाइन स्क्यामका घटना पनि तीव्र रूपमा बढिरहेका छन् । नक्कली लिंक, फेक कल, ओटीपी फ्रड र स्क्रिन शेयरिङ स्क्यामका कारण धेरै मानिस ठगिइरहेका छन् । सानो गल्तीले नै बैंक खाता समेत खाली हुन सक्छ ।
यी फिचरले फर्जी कल र ह्याकिङबाट बचाउँछन्
यही जोखिमलाई ध्यानमा राख्दै ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षाका लागि केही विशेष फिचर दिएको छ । यी फिचरले अकाउन्ट सुरक्षित राख्नुका साथै शंकास्पद म्यासेज, फेक कल र ह्याकिङ प्रयासबाट जोगाउन मद्दत गर्छन् । धेरै मानिसलाई यी फिचरबारे जानकारी नहुँदा उनीहरू जोखिममा पर्ने गरेका छन् । यहाँ त्यस्ता ५ महत्वपूर्ण फिचरबारे जानकारी दिइएको छ :
१) टु स्पेट भेरिफिकेशन फिचर
यो फिचरले तपाईंको अकाउन्टमा थप सुरक्षा तह थप्छ । सामान्यतया ह्वाट्सएपमा लगइन गर्दा ओटीपी मात्र आवश्यक हुन्छ, तर यो फिचर अन गरेपछि ६ अंकको पिन पनि हाल्नु पर्छ । यदि कसैले तपाईंको ओटीपी प्राप्त ग¥यो भने पनि पिन बिना अकाउन्ट खोल्न सक्दैन । अहिले SIM swap र ओटीपी फ्रड बढिरहेको अवस्थामा यो फिचर निकै उपयोगी मानिन्छ ।
यसलाई अन गर्नः
Settings → Account → Two–Step Verification मा गएर पिन सेट गर्नुपर्छ ।
२) साइलेन्स अननन कलर्स फिचर
अहिले विदेश वा अपरिचित नम्बरबाट आउने स्क्याम कल तीव्र रूपमा बढिरहेका छन् । भिडियो कलमार्फत डर देखाएर वा फकाएर पैसा ठग्ने प्रयास हुने गरेको छ । साइलेन्स अननन कलर्स फिचरले अपरिचित नम्बरबाट आउने कललाई स्वतः साइलेंट बनाइदिन्छ । कल देखिन्छ, तर फोन बज्दैन । यसले स्क्याम कल उठाउने जोखिम कम गर्छ । यो फिचर प्राइभेसी सेटिङभित्र उपलब्ध हुन्छ ।
३) च्याट लक फिचर
यदि तपाईंको ह्वाट्सएपमा बैंकिङ च्याट, निजी फोटो वा संवेदनशील जानकारी छ भने च्याट लक फिचर अत्यन्त उपयोगी हुन सक्छ । यसले विशेष च्याटलाई फिंगरप्रिन्ट, फेस अनलक वा पासवर्डमार्फत लक गर्न मद्दत गर्छ । लक गरिएको च्याट छुट्टै फोल्डरमा जान्छ र अनुमति बिना कसैले खोल्न सक्दैन । फोन अरूको हातमा परे पनि निजी कुराकानी सुरक्षित रहन्छ ।
४) प्राइभेसी कन्ट्रोल फिचर
धेरै मानिसले आफ्नो प्रोफाइल फोटो, दास्ट सिन, अनलाइन स्टाटस र एबाउट सबैका लागि खुला राखेका हुन्छन् । साइबर ठगहरूले यिनै जानकारी प्रयोग गरेर मानिसलाई टार्गेट बनाउने गर्छन् । प्राइभेसी कन्ट्रोलमार्फत तपाईंले आफ्नो जानकारी कसले हेर्न पाउने भन्ने तय गर्न सक्नु हुन्छ । प्रोफाइल फोटो, स्टाटस र लास्ट सिनलाई ‘माइ कन्ट्याक्ट’ वा ‘नोबडी’ मा सेट गर्न सकिन्छ । यसले अपरिचित व्यक्तिलाई निजी जानकारीबाट टाढा राख्छ ।
५) Disappearing Messages फिचर
यो फिचरले निजी च्याटलाई अझ सुरक्षित बनाउँछ । Disappearing Messages अन गरेपछि निश्चित समयपछि च्याट आफैं गायब हुन्छ । यदि कसैले बैंकिङ विवरण, ओटीपी वा निजी कागजात लामो समय फोनमा राख्न चाहँदैन भने यो फिचर उपयोगी हुन्छ । यसले डेटा लिक हुने जोखिम कम गर्न मद्दत गर्छ । यसमा २४ घण्टा, ७ दिन वा ९० दिनको टाइमर सेट गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !