दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको पहिलो राउन्ड अफ ३२ को खेलमा दक्षिण अफ्रिकालाई १-०ले पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा प्रवेश गरेको छ।
लस एन्जलस स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै तर्फबाट कुनै गोल भएको थिएन। ९० मिनेटमा थप गरिएको पाँच मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा क्यानडाका स्टेफेन युस्टाकियोले गोल गरे। यही गोल नै निर्णायक हुन पुग्यो।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा पनि गोल निस्किएको थिएन। खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका क्यानडा भन्दा अगाडि रहेको थियो। डिफेन्समा पनि दक्षिण अफ्रिकाको डिफेन्स निकै राम्रो थियो।
यी दुवै टोलीले पहिलोपटक नकआउट चरणमा खेलेका थिए। यसभन्दा अगाडि दुवै टोली समूह चरणबाट बाहिरिएका थिए।
क्यानडाले पहिलोपटक राउन्ड अफ १६ मा स्थान बनायो भने दक्षिण अफ्रिकाले यो अवसर गुमायो। यो जितसँगै क्यानडाले आफ्नो विश्वकपको यात्रा निरन्तर जारी राख्ने भएको छ। क्यानडाले नेदरल्यान्ड्स र मोरक्को बीचको विजेता टोलीसँग राउन्ड अफ १६ मा भेट गर्नेछ
प्रतिक्रिया दिनुहोस !