अध्यक्ष र उपाध्यक्षको पद धरापमा
पदमुक्त निर्णयविरुद्ध पाल्हीनन्दनकी उपाध्यक्ष सर्वोच्चमा, अध्यक्षको पदमुक्तविरुद्धको रिट खारेज
परासी : निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय गरेपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारी सर्वोच्च अदालत पुगेकी छन् । निर्वाचन आयोगले असार ९ गते सूचना निकालेर उनको उपाध्यक्ष पद रिक्त भएको जनाएको थियो ।
आयोगले राजनीतिक दलसम्बन्धी कानुन बमोजिम नेपाली कांग्रेसबाट निर्वाचित अन्सारीले दल परित्याग गरी अर्को दलको पक्षमा गतिविधि गरेको भन्दै उनको निर्वाचित पद स्वत: रिक्त भएको जनाएको थियो।
आयोगको उक्त निर्णय कानुनविपरीत भएको दाबी गर्दै निर्णय बदर गरी आफूलाई उपाध्यक्षकै हैसियतमा काम गर्न दिनका लागि फातुमाले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेकी हुन् ।
रिटमा निर्वाचन आयोग र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा निर्वाचन आयोगको पद रिक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई उपाध्यक्ष पदमा रहेर काम गर्न दिन आदेश माग गरिएको अधिवक्ता शर्माले बताइन् ।
यसैबीच पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई पदमुक्त गर्न परेको रिट उच्च अदालत तुलसीपुर बुटवल इजलाशले खारेज गरिदिएको छ । रिट खारेजसँगै उनको पद हाललाई नजाने भएको छ । उनीमाथि २०८१ सालमा लागुऔषधसम्बन्धीको मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा गुप्ताको पदमुक्तको माग गर्दै उच्च अदालतमा रिट दायर भएको थियो । मतियारका रुपमा रहेको उक्त मुद्दामा जिल्ला अदालत नवलपरासीले एक वर्ष कैद र २ लाख जरिवानाको फैसला गरेको थियो ।
एक वर्ष कैद सजाय भएपछि धरौटी राखेर पुनरावेदन गर्न पाइने कानुनी व्यवस्थाअनुसार गुप्ताले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले समेत जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।
प्रतिक्रिया दिनुहोस !