सीजेपीका अभिजीत दीपकेको नयाँ अपिल, जन्तर–मन्तरमा रातभर के–के भयो ?
भारत : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनाको माग गर्दै कक्रोज जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तर–मन्तरमा थालेको आन्दोलन दोस्रो दिन पनि जारी छ । पार्टीका संस्थापक अभिजीत दीपकेले सर्वसाधारणलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । नीट–यूजी परीक्षाको प्रश्नपत्र चुहिएको आरोपपछि आज (२१ जुन २०२६) पुनः परीक्षा सञ्चालन भइरहेको छ ।
सीजेपीले प्रश्नपत्र चुहावटको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गरिरहेको छ । दीपकेले २० जुनदेखि नै धर्मेन्द्र प्रधानको पदबाट बहिर्गमनको उल्टो गन्ती सुरु भएको दाबी गरेका छन् । यद्यपि आइतबार बिहान जन्तर–मन्तरमा प्रदर्शनकारीको संख्या अपेक्षाकृत कम देखिएको छ ।
सामाजिक सञ्जाल एक्समा उनले सुरक्षाकर्मीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म प्रहरीसँग आग्रह गर्छु, मानिसहरूलाई जन्तर–मन्तर आउन नरोकिनुहोस् । हामी कुनै गलत काम गरिरहेका छैनौं । हामी ती विद्यार्थीका लागि न्याय मागिरहेका छौँ, जसले आत्महत्या गरेका छन् ।’ शनिबार दिउँसोदेखि आन्दोलन जारी रहे पनि दिल्ली प्रहरीले प्रदर्शनकारीलाई स्थल खाली गर्न आग्रह गरिरहेको छ ।
पानी र शौचालयको सुविधा रोकिएको आरोप
दीपकेले आन्दोलनस्थलमा रहेको शौचालयको पानी आपूर्ति बन्द गरिएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘धर्मेन्द्र प्रधान आफ्नो सरकारी निवासमा आरामसँग सुतिरहेका छन् । १२ जना विद्यार्थीले आत्महत्या गर्दा पनि उनलाई कुनै फरक परेन । तर, उनका विरुद्ध आन्दोलन गरिरहेका युवाका लागि शौचालयमा पानी समेत उपलब्ध छैन ।’ सीजेपीले विशेष गरी जेनजी पुस्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै ‘थोरै क्रिकेट, थोरै आन्दोलन’ को सन्देश समेत दिएको छ ।
शनिबार रातभर के भयो ?
शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीहरू जन्तर–मन्तरमा भेला हुन थालेका थिए । धेरैले कक्रोजको मास्क लगाएका थिए भने केही थाल र चम्चा बोकेर आएका थिए । दीपकेले यसअघि नै समर्थकलाई थाल–चम्चा लिएर आन्दोलनमा आउन आग्रह गरेका थिए । ‘गो प्रधान गो’ र ‘धर्मेन्द्र प्रधान राजीनामा देऊ’ जस्ता नाराबीच सुरु भएको आन्दोलन साँझसम्म सकिने अपेक्षा गरिएको थियो ।
तर, दीपकेले अचानक शिक्षामन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने घोषणा गरे । रातभर प्रदर्शन जारी रहे पनि सहभागीको संख्या क्रमशः घट्दै गएको थियो । धेरै प्रदर्शनकारी जन्तर–मन्तरमै सुतेका देखिएका थिए । एक समय ठूलो संख्यामा सुरक्षाकर्मी पुगेपछि प्रहरीले दीपकेलाई हटाउन सक्ने अनुमान गरिएको थियो, तर त्यस्तो कदम चालिएन ।
‘राजीनामा नआएसम्म जन्तर–मन्तर छोड्दिनँ’
दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आफू जन्तर–मन्तर नछोड्ने घोषणा गरेका छन् । उनले एक्समा लेखेका छन्–दिल्ली प्रहरीले आन्दोलनस्थलमा खाना, पानी, सडकबत्ती र शौचालयको सुविधा उपलब्ध हुन दिएको छैन । उनले प्रहरीकै कारण मानिसहरूलाई आन्दोलनस्थल प्रवेश गर्न रोकिएको आरोप पनि लगाएका छन् ।
भिडियोमार्फत उनले दिल्लीवासी, विद्यार्थी, अभिभावक र शिक्षकलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै भनेका छन्, ‘हामीले सकेसम्म आन्दोलन लम्ब्याएका छौँ । तर तपाईंहरूको साथ बिना यो सफल हुँदैन । यदि अहिले पनि तपाईंहरू अगाडि आउनु भएन भने देशमा बाँकी रहेको आशा पनि समाप्त हुनेछ ।’
सीजेपीको उदय र माग
कक्रोज जनता पार्टीको नाम सार्वजनिक भएपछि केही घण्टामै सामाजिक सञ्जालमा लाखौं समर्थक जोडिएको दाबी गरिएको थियो । ६ जुनमा अभिजीत दीपके अमेरिकाबाट दिल्ली फर्किएलगत्तै जन्तर–मन्तरमा प्रदर्शन आयोजना गरेका थिए । त्यस आन्दोलनमा मुख्यतः युवाहरू सहभागी थिए र शिक्षामन्त्रीको राजीनामा मागिएको थियो ।
सीजेपीले सात दिनभित्र राजीनामा नआए पुनः आन्दोलन गर्ने चेतावनी दिएको थियो । उक्त आन्दोलनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत ‘जेन–जी आन्दोलन’ भनेर उल्लेख गरेका थिए । त्यस कार्यक्रममा सोनम वाङचुक पनि सहभागी भएका थिए, जो गत मार्चमा छ महिनाको जेल जीवनपछि रिहा भएका थिए ।
दीपकेले त्यसबेलाको आन्दोलनलाई ‘सिर्फ ट्रेलर’ भन्दै अझ ठूलो आन्दोलनको संकेत दिएका थिए । त्यसपछि उनले पुणे, अमृतसर, लखनउ र जयपुरमा पनि प्रदर्शन आयोजना गरेका थिए । १५ जुनमा जयपुरको शहीद स्मारकमा नीट प्रश्नपत्र चुहावट, शिक्षा प्रणाली र बेरोजगारीविरुद्ध भएको प्रदर्शनका क्रममा केही व्यक्तिले अभिजीत दीपकेमाथि हातपात समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !