दुई वर्षीया बालिकाको खोजीमा सयौ जवान र ड्रोन, कुकुरको मृत्युले गहिरियो रहस्य

दुई वर्षीया बालिकाको खोजीमा सयौ जवान र ड्रोन, कुकुरको मृत्युले गहिरियो रहस्य
सुन्नुहोस्

भारत :  काकीनाडा जिल्लाको डोंडावका पञ्चायतस्थित सीएच अग्रहारमको ताडको तेल (पाम आयल) बगैंचामा आफ्ना बुबालाई खोज्दै गएकी दुई वर्षीया ज्ञानेश्वरी हराएको घटनाले रहस्यमय रूप लिएको छ । धेरै दिन बितिसक्दा पनि बालिकाको कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।

उनको खोजीका लागि एसडीआरएफ, एनडीआरएफ, ड्रोन टोली, प्रहरी र स्थानीय बासिन्दा परिचालन गरिएका छन् । उनीहरूले ४० एकडको पाम आयल बगैंचा र ५०० एकडको पहाडी क्षेत्रमा खोजी अभियान चलाइरहेका छन् । मौसम प्रतिकूल भए पनि खोजी कार्य निरन्तर जारी छ । बगैंचा, झाडी, नहर, पोखरी, इनार, खाली घर लगायत बालिका हुन सक्ने सम्भावित सबै स्थानमा खोजी भइरहेको छ ।

के हो घटना ?

दुई वर्षीया ज्ञानेश्वरी जुन ६ मा हराएकी थिइन् । उनका बुबा सुनकारा गणेश सोही बगैंचामा हेरालुको रूपमा काम गर्छन् र परिवारसहित त्यहीँ बसोबास गर्छन् । परिवारका अनुसार, घटनाको दिन ज्ञानेश्वरी आफ्ना बुबाको पछि लागेर बगैंचातर्फ गएकी थिइन् । केही समयपछि उनी अचानक हराइन् । ज्ञानेश्वरीकी आमा सुनकारा भवानीका अनुसार, उनी सानी छोरीलाई दूध खुवाउन घरभित्र गएकी थिइन् । त्यही बेला ज्ञानेश्वरी आफ्ना बुबाको पछि लागेर गएकी र त्यसपछि बेपत्ता भएकी हुन् ।

जारी छ खोजी
आन्ध्र प्रदेशकी गृहमन्त्री वंगलपुडी अनीताका अनुसार बालिका बिहान करिब ११ः५० बजे घर बाहिर गएको देखिएको थियो । त्यसपछि उनी फर्किनन्। खोजीका लागि प्रहरी, एसडीआरएफ, एनडीआरएफ, वन्यजन्तु विशेषज्ञ टोली तथा अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले बालिकालाई कुनै जंगली जनावरले लगेको हो कि वा अपहरण गरिएको हो भन्ने दुवै सम्भावनामा अनुसन्धान गरिरहेको छ ।  सामान्यतया हराएका व्यक्तिका घटनामा केही घण्टाभित्र कुनै न कुनै सुराग भेटिने गर्छ । तर यस घटनामा धेरै दिन बितिसक्दा पनि कुनै प्रमाण फेला नपर्नु अनुसन्धानकर्ताका लागि चुनौती बनेको छ ।

बगैंचामा झुण्ड्याइयो गुडिया
प्रहरीले जंगली जनावरको गतिविधि पत्ता लगाउन केही खेलौना तथा आकृतिहरू बगैंचाको बारमा बाँधेको छ । सामाजिक सञ्जालमा ती गुडियाबारे विभिन्न अड्कलबाजी भइरहे पनि प्रहरीका अनुसार ती केवल जनावरको गतिविधि निगरानी गर्न राखिएका हुन् ।

सीसीटीभी र मोबाइल डाटा विश्लेषण
प्रहरीले आसपासका क्षेत्रका सीसीटीभी फुटेज जाँच गरिरहेको छ । शंकास्पद व्यक्ति तथा सवारीसाधनको गतिविधिमाथि विशेष निगरानी गरिएको छ । मोबाइल डाटा, कल रेकर्ड तथा स्थानीय सूचनाको समेत विश्लेषण भइरहेको छ ।

कुकुरको मृत्युले थप्यो रहस्य
ज्ञानेश्वरीसँगै गएको घरपालुवा कुकुर पछि घर फर्किएको थियो । तर केही समयपछि उसको व्यवहार असामान्य देखिएको र त्यसपछि मृत्यु भएको बताइएको छ । ज्ञानेश्वरीकी आमा भवानीले कुकुरको अचानक मृत्युले आफूलाई झन् चिन्तित बनाएको बताएकी छन् । गृहमन्त्री अनीताका अनुसार कुकुरको शव पोस्टमार्टम र फरेन्सिक परीक्षणका लागि पठाइएको छ । प्रारम्भिक रिपोर्टमा सर्पदंशको कुनै प्रमाण नदेखिएको बताइएको छ ।

अबको योजना
पेद्दापुरमका डीएसपी एबीजी तिलकका अनुसार अब खोजी क्षेत्रलाई अझ विस्तार गर्ने र उपलब्ध प्राविधिक प्रमाणहरूको गहिरो विश्लेषण गर्ने योजना छ । सयौं सुरक्षाकर्मी, ड्रोन, खोजी टोली, प्राविधिक अनुसन्धान र विभिन्न विशेषज्ञको सहयोगका बाबजुद पनि ज्ञानेश्वरीको अवस्था अझै अज्ञात रहनु यस घटनाको सबैभन्दा रहस्यमय पक्ष बनेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.