अमेरिकामा ‘विशेष प्राकृतिककरण नागरिकता’ खारेज अभियान तीब्र
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्राकृतिककरण (नेचुरलाइजेसन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज (डिन्याचुरलाइजेसन) गर्ने अभियानलाई तीव्र बनाएको छ ।
अमेरिकी न्याय विभागका एक वरिष्ठ अधिकारीका अनुसार प्रशासनले आगामी अक्टोबरभित्र कम्तीमा २५० वटा डिन्याचुरलाइजेसन मुद्दा दायर गर्ने योजना बनाएको छ । यस वर्ष दुई महिनाभन्दा कम अवधिमै न्याय विभागले २९ वटा मुद्दा दायर गरिसकेको छ । ती सबै मुद्दा विदेशी मूलका अमेरिकी नागरिकविरुद्ध हुन्, जसले अमेरिकी नागरिकता प्राप्त गर्ने क्रममा ठगी वा झूटो विवरण दिएको आरोप लगाइएको छ ।
सरकारी अभिलेख पहुँच तथा विश्लेषण केन्द्रका अनुसार सन् २००८ देखि १२ जुन २०२६ सम्म १६६ वटा डिन्याचुरलाइजेसन मुद्दा दायर भएका थिए, जसको वार्षिक औसत १० भन्दा कम थियो । यसले ट्रम्प प्रशासनले विगतका वर्षहरूको तुलनामा यो अभियान निकै तीव्र बनाएको देखाउँछ । यो कदम ट्रम्पको कडा आप्रवासन नीतिको हिस्सा हो । प्रशासनले अब अवैध रूपमा बसोबास गर्नेहरूलाई मात्र नभई, प्राकृतिककरणमार्फत नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूमाथि पनि निगरानी र कानुनी कारबाही बढाएको छ ।
अन्य विभागका वकिल पनि परिचालन
न्याय विभागले डिन्याचुरलाइजेसनका मुद्दा अघि बढाउन विभिन्न शाखामा कार्यरत नागरिक मुद्दा हेर्ने वकिलहरूलाई समेत परिचालन गरेको छ । ठगी अनुसन्धानमा खटिएका वकिलहरूलाई समेत यस्ता मुद्दामा लगाइएको बताइएको छ । साथै, अमेरिकी सरकारी वकिल (यूएस अटर्नी) कार्यालयहरूमा पनि थप मुद्दा पठाइँदैछ ।
वरिष्ठ अधिकारीले सीएनएनसँग भने, ‘यो कानुनी व्यवस्था दशकौँदेखि लागू छ । अमेरिकी नागरिकताको विश्वसनीयता जोगाउन र योग्य व्यक्तिले मात्रै नागरिकता पाऊन् भन्ने सुनिश्चित गर्न यस्ता मुद्दालाई प्राथमिकता दिइएको हो ।’
कुन–कुन आधारमा नागरिकता खारेज गर्न सकिन्छ ?
हालसम्म ट्रम्प प्रशासनले दायर गरेका मुद्दामा नागरिकता प्राप्त गर्ने क्रममा ठगी गरेको, नाबालिगमाथि यौन दुव्र्यवहार गरेको वा प्राकृतिककरणअघि वा त्यसक्रममा आतंकवादप्रति समर्थन जनाएको आरोप लगाइएका व्यक्तिहरू समावेश छन् ।
अमेरिकी कानुनअनुसार नागरिकता प्राप्त गर्ने क्रममा महत्वपूर्ण तथ्य लुकाइएको, झूटो विवरण दिइएको वा कानुनी रूपमा नागरिकता प्राप्त गर्ने योग्यता नै नभएको प्रमाणित भएमा संघीय सरकारले नागरिकता खारेज गर्न सक्ने अधिकार राख्छ । यस्ता मुद्दा परिस्थितिअनुसार दिवानी वा फौजदारी दुवै रूपमा अघि बढ्न सक्छन् । यद्यपि, अमेरिकामै जन्मिएका र जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिमा यो प्रक्रिया लागू हुँदैन ।
प्रतिक्रिया दिनुहोस !