जापानको एक विद्यालयमा आगलागी,१० जना घाइते,३३० जनाको उद्दार
काठमाडौं : जापानको टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा शुक्रबार आगलागी भएको छ। आगलागीको समयमा विद्यालयमा लगभग ३३० विद्यार्थी र शिक्षकहरू उपस्थित थिए। टोकियोको किता वार्डमा रहेको ताकिनोगावा दैसान प्राथमिक विद्यालयमा बिहान ११ बजेतिर यो घटना भएको थियो।
टोकियो अग्नि नियन्त्रण विभागका अनुसार विद्यालयको विद्यालयको चार तले भवनको माथिल्लो तल्लामा रहेको संगीत कोठा नजिकै आगो सुरू भएको थियो। चौथो तल्लामा रहेको लगभग २०० वर्ग मिटर क्षेत्रफलमा आगोले क्षति पुर्याएको छ। ठूलो संख्यामा दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।
आगलागीको समयमा केही विद्यार्थी र एक शिक्षक भवन भित्र फसेका थिए। अग्नि नियन्त्रकहरूले तुरुन्तै उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। धेरैजसो विद्यार्थी र शिक्षकहरू आफैं स्कुलबाट भागेर नजिकैको पार्कमा पुगे। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जम्मा १० जना घाइते भएका छन्।
धूवाँले श्वास फेर्नबाट सातजना विद्यार्थी प्रभावित भएका छन्। एक विद्यार्थी लडेर घाइते भएका छन् भने दुई शिक्षक पनि घाइते भएका छन्। यद्यपि,सबैको अवस्था स्थिर रहेको र कसैको पनि ज्यान जोखिममा नरहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानले पाँचौं कक्षाका विद्यार्थीहरू संगीत कक्षामा हुँदा आगलागी भएको देखाएको छ।
अनुसन्धान एजेन्सीहरूले संगीत कक्षासँगै रहेको कोठाबाट आगो लागेको दावी गरेका छन्। यद्यपि,आगलागीको कारण अझै थाहा हुन सकेको छैन र अनुसन्धान जारी छ।
स्रोत-एजेन्सी
प्रतिक्रिया दिनुहोस !