रास्वपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी

रास्वपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुन गइरहेको छ।

पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। ‘महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ,’ बिहीबारको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भनेका थिए, ‘त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ।’ यसअघि वरिष्ठ नेता वालेन्द्र शाहको टिमका साथै साझा विवेकशील पार्टी, खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह रास्वपामा समाहित भएको थियो।

सहमतिअनुसार रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह नै हुनेछन्। बिहीबारको सचिवालय बैठकले ‘वरिष्ठ नेता’ पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढाउने निर्णयसमेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या १९ सदस्यीय हुने भएको छ।

विधान संशोधन गर्दै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो। यसअघि विधान संशोधन गरी एक वरिष्ठ नेता र एक जना सहमहामन्त्री थपेर पदाधिकारी संख्या १९ सदस्यीय बनाउने निर्णय भएको हो। हालसम्म पार्टीमा सभापति १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ४, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुने व्यवस्था थियो।

उपसभापतिमा १, सहमहामन्त्रीमा १ र सहप्रवक्तामा १ जना महिला अनिवार्य गरिएको छ। अब नयाँ व्यवस्थाअनुसार सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेछन्। त्यस्तै, १ सय ५१ निर्वाचित सदस्यसहित सातै प्रदेशका सभापतिहरू पदेन सदस्य हुने गरी कुल १ सय ५८ सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ। यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १ सय २९ सदस्यीय रहेको थियो।

नेतृत्वका आकांक्षी धेरै

सभापति र वरिष्ठ नेताको पद निश्चित जस्तै भए पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्षका आकांक्षीहरू भने धेरै देखिएका छन्। रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुनेछन् र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीहरू चयन हुने व्यवस्था छ।

महाधिवेशनको तयारीका लागि पार्टीले १८ वटा उपसमिति गठन गरेको छ। जसमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, प्रतिवेदन उपसमिति, प्रतिवेदन समन्वय उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति, कानुनी समन्वय उपसमिति, प्रचार–प्रसार तथा सञ्चार समन्वय उपसमिति र सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति छन्।

यस्तै सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन उपसमिति, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा उपसमिति, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति गठन गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले महाधिवेशन प्रतिनिधिहरूका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनका क्रममा सम्पूर्ण नेता–कार्यकर्तालाई निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिइएको छ।

महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकताभन्दा बढी प्रचार–प्रसार गर्ने प्रवृत्ति देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरिएको हो। पार्टीका सदस्यहरूबीच कुनै मतभेद नराखी सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्नका लागि निर्वाचन आचारसंहिताभित्र रहेर प्रस्तुत हुन सचिवालय बैठकले अनुरोध गरेको छ। 

महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनुभएको छ । उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ ।
– रवि लामिछाने, सभापति


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.