बन्दसत्र स्थलमा अन्योल, पार्टीमा दुई धार

पहिलो महाधिवेशनको तीव्र तयारीमा रास्वपा

पहिलो महाधिवेशनको तीव्र तयारीमा रास्वपा

रास्वपाको केन्द्रीय सभापति पदमा हालसम्म रवि लामिछानेविरुद्ध कुनै प्रतिस्पर्धी देखिएका छैनन्।

चितवन : सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनका लागि उद्घाटन तथा बन्दसत्र स्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेस्ट हाउसको चौरमा हुनेछ। रास्वपाले यसअघि पनि सोही स्थानमा विभिन्न कार्यक्रम गरेको थियो। पार्टी सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि विजय सभा पनि यहीँ गरिएको थियो। असार ७ गते दिउँसो २ बजेदेखि उद्घाटन सत्र हुनेछ। हाल स्टेज निर्माण, टेन्ट जडान तथा अन्य पूर्वाधार व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।

रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार पहिलो महाधिवेशन भएकाले चितवनको मौलिकता झल्काउने प्रयास गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण तथा थारू समुदायको संस्कृति प्रस्तुत गर्ने योजना बनाइएको उनले बताए।

‘जिल्ला र पालिका अधिवेशनका कारण तयारीका लागि समय छोटो थियो। केही चाप त छ नै, तर हामीले तीव्र गतिमा काम गरिरहेका छौं,’ खनालले भने, ‘पहिलो महाधिवेशनलाई विशेष र स्मरणीय बनाउने हाम्रो प्रयास छ।’

महाधिवेशनमा करिब ४० हजार सहभागी हुने अनुमान गरिएको छ। त्यसमध्ये करिब ३५ सय प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले आवासको व्यवस्था स्वयं गर्नुपर्ने भए पनि व्यवस्थापन समितिले होटल व्यवसायीहरूसँग समन्वय गरेको जनाएको छ। भरतपुर, नारायणगढ र सौराहाका होटल व्यवसायी समितिसँग सहकार्य गरी प्रतिनिधिहरूलाई सहुलियत दरमा आवास उपलब्ध गराउने व्यवस्था मिलाइएको बताइएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले तयारी अन्तिम चरणमा पुगेको बताए। ‘महाधिवेशनले पार्टीभित्र एकताको सन्देश दिनेछ भन्नेमा हामी विश्वस्त छौं। प्रतिनिधिहरूलाई बसोबासमा सहज होस् भनेर आवश्यक व्यवस्थापन गरिएको छ,’ उनले भने। महाधिवेशन उदघाटनको अघिल्लो दिन अर्थात् असार ६ गते केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ।

प्रधानमन्त्री जाने कि नजाने ?   
महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) सहभागी हुने वा नहुने विषय अझै स्पष्ट भएको छैन। पार्टीका नेताहरूले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। पार्टीभित्र भने प्रधानमन्त्री शाहको सहभागिताबारे चासो र चर्चा भइरहेको छ।

महाधिवेशनको बन्दसत्रमा विधान अधिवेशन हुनेछ। सभापति रवि लामिछानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। असार ८ गते नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

महाधिवेशनबाट एक सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। विधानअनुसार सभापतिले थप २९ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ। निर्वाचित सदस्यहरूमध्येबाट १६ सदस्यीय पदाधिकारी चयन गरिनेछ।

जर्मन ह्यांगर टेन्टको प्रयोग
 चितवनमा बढ्दो गर्मीलाई ध्यानमा राख्दै उद्घाटन सत्रका लागि जर्मन ह्यांगर टेन्ट प्रयोग गरिने भएको छ। आल्मुनियम संरचनायुक्त उक्त टेन्ट घाम, पानी तथा आगोबाट तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। टेन्ट व्यवस्थापनको जिम्मा पाएको मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार करिब १० हजार मानिस अट्ने क्षमता भएको टेन्ट जडान गरिँदै छ।

null

‘सामान्य टेन्टभन्दा यसको स्वरूप र सुविधा फरक हुन्छ। प्राकृतिक चिसोपन त हुँदैन, तर हावाको प्रवाह राम्रो हुने भएकाले सहभागीलाई सहज हुन्छ,’ उनले भने। उक्त टेन्टमा करिब दुई हजार कुर्सी राख्न सकिनेछ। हावाहुरीबाट कम प्रभावित हुने भएकाले विशेष कार्यक्रमका लागि यसको प्रयोग गर्न लागिएको हो।

बन्दसत्र स्थलमा अन्योल
 महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ। तर उद्योग संघको नियमावलीमा औद्योगिक प्रदर्शनीबाहेक अन्य प्रयोजनका लागि स्थल उपलब्ध नगराउने व्यवस्था रहेकाले हालसम्म औपचारिक अनुमति दिइसकेको छैन।

राजनीतिक दलका कार्यक्रमका लागि उक्त स्थल उपलब्ध नगराउने परम्परा रहेको बताइन्छ। त्यसैले रास्वपाले सम्बन्धित मन्त्रालयमार्फत आवश्यक निर्णय गराएर बन्दसत्र सञ्चालनको वातावरण बनाउने प्रयास गरिरहेको स्रोतको दाबी छ।

पार्टीभित्र दुई धार
रास्वपाभित्र पछिल्लो समय दुई धार स्पष्ट देखिन थालेको चर्चा पार्टीभित्र छ। एक पक्ष सभापति रवि लामिछाने निकट मानिन्छ भने अर्को पक्ष वरिष्ठ उपाध्यक्ष वालेन्द्र शाह निकट रहेको बताइन्छ।

null

जिल्ला तथा प्रदेश अधिवेशनहरूमा यी दुई समूहबीच प्रतिस्पर्धा देखिएको थियो। वालेन्द्र शाह निकट मानिएका महामन्त्री भूपदेव शाह प्रदेश तथा जिल्ला अधिवेशनहरूमा सक्रिय देखिएका थिए।

 कुन प्रदेशमा को सभापति ?   
रास्वपाले हालसम्म सात प्रदेशमध्ये अधिकांश प्रदेशमा नेतृत्व चयन गरिसकेको छ। कोशी प्रदेशको सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनले सरिन तामाङलाई पराजित गरेका थिए। बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।

उनले निवर्तमान सभापति तथा सांसद अच्युतम् लामिछानेलाई दुई मतको अन्तरले हराएका थिए। गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेका थिए।

लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे, कर्णाली प्रदेश सभापतिमा मदन खड्का तथा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। मधेश प्रदेशमा भने जिल्ला अधिवेशनहरू सम्पन्न हुन नसकेकाले प्रदेश अधिवेशनसमेत हुन सकेको छैन।

सभापतिमा रवि निर्विकल्प जस्तै
रास्वपाको केन्द्रीय सभापति पदमा हालसम्म रवि लामिछानेविरुद्ध कुनै प्रतिस्पर्धी देखिएका छैनन्। 

null

पार्टीभित्रका अधिकांश नेताहरूले उनलाई पुनः सभापतिमा निर्वाचित हुने लगभग निश्चित रहेको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.