रास्वपा प्रदेश, जिल्ला अधिवेशन : फाउन्डर्स भर्सेस फलोअर्स

रास्वपा प्रदेश, जिल्ला अधिवेशन : फाउन्डर्स भर्सेस फलोअर्स

काठमाडौं : ‘राजनीतिका लागि लाजनीति गर्दैनौं,’ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिबद्धता छ, ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजर अन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं।’ 

यस्तै प्रतिबद्धता र चुनावी वाचापत्र सार्वजनिक गरेको उदीयमान दल रास्वपाभित्र भनाइ र गराई अर्थात् प्रतिबद्धता र व्यवहारबीच विरोधाभास देखिएको छ। झन्डै दुईतिहाइ जनमत पाई सत्तामा पुगेको रास्वपाको प्रादेशिक तहका अधिवेशनमा गुट/उपगुुट र झडपका दृश्यहरू दोहोरिएका छन्। रास्वपाभित्र पनि पुराना राजनीतिक दलहरूमा जस्तै गुटबन्दी तथा  नेतृत्वका लागि झैझगडा र झडपहरू सार्वजनिक भएका छन्। पार्टीका सांसद र केन्द्रीय सदस्यहरूले रिसइबी साँध्ने र आफ्ना नजिककालाई जिताउन शक्ति र पैसा (तन, मन, धन) को समेत प्रयोग गरेको आरोप पार्टीकै आकांक्षी उम्मेदवारहरूले लगाएका छन्। 

जेठको अन्तिम साता सम्पन्न जिल्ला अधिवेशन र प्रदेश अधिवेशनका क्रममा सांसद र  शीर्ष नेतृत्वले प्यानल बनाएको आरोप सार्वजनिकरुपमै लागेको छ। ‘लोकतान्त्रिक पद्धतिमा हारजित नौलो होइन तर यसरी चिटै चोराएर अधिवेशन पास गर्न जानिन्। आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ। माननीय तृतीय ज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद। तपाईं चौथाज्यूहरूलाई  सायद अनेक  सेटिङ प्यानल बनाउन जानिन्, मैले। गुटबन्दीको घाउले पिरोल्छ  कोशीलाई। यो मेरो सोझो सीधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीति  गर्नै जानिन कमजोरी भो मेरो,’ कोशी प्रदेश  सभापतिमा पराजित गोमा तामाङ (सरिन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन्, ‘आजबाट राजनीतिक बिट मारेँ।’

रास्वपाकी निवर्तमान प्रदेश कार्यवाहक सभापतिसमेत रहेकी तामाङलाई पराजित गर्दै सभापतिमा चन्द्र तामाङ निर्वाचित भएका थिए। उनी प्रदेश कोषाध्यक्षको जिम्मेवारीमा थिए।
बागमती प्रदेशको हेटौंडामा हुने भनिएको अधिवेशन विवादले उत्कर्षरूप लिएपछि काठमाडौं सारेर सम्पन्न गरिएको छ। पुराना दलहरूले गरेका विकृति सुधार्छु भन्दै  जनताको झन्डै दुईतिहाइ भोट पाएको रास्वपा आफैं भित्रभित्रै त्यही विकृति (गुटबन्दी, शक्ति र पैसाको खेल) मा फस्दै गएको अधिवेशनका क्रममा भएका घटनाक्रमले देखाएका छन्। 

‘चार वर्षअघि स्थापित उदीयमान पार्टीको वडादेखि प्रदेशतहसम्म अधिवेशन हुनु सकारात्मक कुरा हो,’ राजनीतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डित भन्छन्, ‘अधिवेशनमा भएका विभिन्न घटनाक्रमले कालान्तरमा संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहको नाममा गुटबन्दी वा समूह बन्ने जोखिम देखिएको छ। त्यस्तै तेस्रो गुटबन्दीका रूपमा कांग्रेस, एमाले वा तत्कालीन माओवादीबाट आएकाहरू देखिन सक्छन्।’ राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल पनि रास्वपामा पुरानै दलको जस्तो पारा देखिएको बताउँछन्। ‘रास्वपाले आफ्नो टाउको (केन्द्र) बनाइसके पछि प्रदेश र जिल्लातहमा संगठन (शरीर) बनाउन लागेको छ,’ बराल भन्छन्, ‘हालसम्मका अधिवेशन हेर्दा पुराना दलको झैं पारा देखिन्छ।’
योगदानको मूल्य माग्नेलाई ‘चेतावनी पत्र’

पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर कतिपय सांसदहरू सभापति लामिछानेसँग ‘योगदानको मूल्य’ मागिरहेका छन्। निवासमै पुग्ने सांसदहरूलाई उनले पार्टीको संस्थापक भए तापनि आफूले समेत योगदानको मूल्य नखोजेको भन्दै सम्झाएर पठाउने गरेका छन्। लामिछानेलाई भने आगामी ५ वर्ष परिणाममुखी काम गर्न नसके जनताको नजरमा  अयोग्य सावित भइने हो कि भन्ने त्रास छ। २३ जेठमा लामिछानेले दिएको वक्तव्य अधिवेशनको शुभकामनाभन्दा बढी संगठनभित्र बढ्न सक्ने गुटबन्दी, पदलोलुपता र अवसरवादविरुद्धको ‘राजनीतिक चेतावनीपत्र’ भएको सचिवालयका नेताहरू बताउँछन्। 

२३ जेठमा लामिछानेले सामाजिक सञ्जाल मार्फत जारी वक्तव्यमा भनेका छन्, ‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।’

अबको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएको लामिछानेले बताएका छन्। ‘त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकिर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,’ लामिछानेको भनाइ थियो । 

संगठनभित्र बढ्न सक्ने शक्ति संघर्ष, पदको आकांक्षा र अवसरवादप्रति लक्षित गरेर पार्टी सभापति लामिछानेले पूर्वचेतावनी दिएको सचिवालयका सदस्यहरूको भनाइ छ। ‘पार्टी अहिले लोकप्रियताको शिखरमा पुगेको बेला सबैभन्दा ठूलो खतरा बाहिरबाट नभई भित्रबाट आउने सम्भावित शक्ति संघर्ष हुन सक्नेतर्फ लक्षित गरिएको चेतावनीपत्र हो,’ पार्टी सचिवालयका एक सदस्यले भने, ‘जनताले दिएको अभूतपूर्व जनादेशलाई व्यक्तिगत अवसरको रूपमा दुरुपयोग नगरौं भन्ने सन्देश हो। सभापतिको वक्तव्यलाई रास्वपाको पहिलो महाधिवेशनअघि जारी गरिएको आन्तरिक अनुशासन, संगठनात्मक पुनर्संरचना र भावी शक्ति संघर्ष व्यवस्थापनको राजनीतिक दस्तावेजका रूपमा पनि लिन  सकिन्छ।’

सहज रूपमा राजनीतिक उचाइ हासिल गरेपछि रास्वपामा अन्य राजनीतिक दलबाट प्रवेश गर्नेको लहर चलेको छ। पार्टीको संगठित सदस्य संख्या ५ लाख नाघेको छ। डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत रास्वपाको सदस्यता लिन सकिन्छ भने अर्को अफलाइन फाराम भरेर लिन सकिन्छ। यो डिजिटल तथा इन्टरनेट पहुँच नभएका शुभेच्छुकका लागि हो। अफलाइन फारामलाई पछि अनलाइनमा इन्ट्री गरिन्छ। अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी रहेको छ। 

पार्टीमा दुई धार : फाउन्डर भर्सेस फलोअर्स 
रास्वपाका प्रदेश र जिल्ला अधिवेशनमा सांकेतिक रूपमा दुईधार देखिएको छ। पार्टीका संस्थापक सभापति लामिछाने र वरिष्ठ नेता शाह पक्षलाई फाउन्डर र फलोअर्सको संज्ञा दिइएको छ।

प्राडा पण्डित भन्छन्, ‘वरिष्ठ नेतालाई संगठनमा रहेर गुटबन्दी गर्नेभन्दा पनि सरकारमा रहेर ‘बेस्ट पर्फरमेन्स’ दिनेतिरै ध्यान गएको छ। त्यसैले नेता–कार्यकर्ताको समर्थन संस्थापक सभापतितिरै देखिन्छ।’ तर, पार्टीका केन्द्रीय सदस्यहरू भने वालेन्द्र शाहसँगै रास्वपामा  प्रवेश गरेका महामन्त्री भूपदेव शाहले संगठनमा सक्रियता देखाइरहेको बताउँछन्। भूपदेवले कोशी प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए। 

त्यस्तै बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टीका संस्थापक महामन्त्री कवीन्द्र बुर्लाकोटीले गरेका थिए। लुम्बिनी प्रदेशको उद्घाटन संस्थापक सहमहामन्त्री विपिन आचार्यले गरेका छन्। जेठ ३१ ग्ते भएको कर्णाली प्रदेशको अधिवेशनको उद्घाटन महामन्त्री भूपदेव र सहमहामन्त्री विपिन आचार्यले गरेका छन्। 

आन्तरिक विवाद र व्यवस्थापकीय कमजोरी 
मधेस प्रदेशमा अधिवेशन नै स्थगित हुनुले रास्वपाको आन्तरिक संगठन र निर्वाचन आयोग (पार्टीको) को व्यवस्थापकीय अपरिपक्वता उजागर भएको छ। मधेसका ७ जिल्लामा रास्वपाले अधिवेशन गर्न सकेको छैन। त्यस्तै मधेस प्रदेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित भएको छ। 
देशव्यापी संगठन चलाउन रास्वपालाई अझै सांगठनिक जग बलियो बनाउनुपर्ने चुनौती यसले देखाउँछ। बागमतीमा मतपत्र र मतदाता नामावलीमा देखिएको त्रुटि तथा मधेस प्रदेशमा अधिवेशन नै स्थगित हुनुले रास्वपाको प्राविधिक र व्यवस्थापकीय कमजोरी उजागर गरेको छ। 

सांसद सिंह भर्सेस सल्लाहकार शाह
रास्वपाका सांसद अमरेशकुमार सिंह र प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असिम शाहबीच कटाक्ष चलिरहेको छ।  रास्वपाका पूर्वसांसद र हाल प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिमलाई लक्षित गर्दै सांसद सिंहले आक्रोश व्यक्त गरेपछि सञ्जालबाट दोहोरी चलेको छ। 

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको संयोजकको भूमिकामा असिमले सक्रियता बढाएका छन्। ‘हु इज द असिम साह ? कुन प्रदेशमा असिम साहको सरकार छ ?  ल मेकर पनि हैन। बढीमा बालेनको कानमा फुसफुस गर्न सक्छन। संसद्मा उठाउने अधिकार छैन। प्रस्ताव पनि गर्न सक्दैनन् नि ! संसद भए त प्राइभेट बिल पनि दर्ता गर्थे होलान्। त्यो पनि छैन बिचरा,’ ३१ जेठमा आयोजित एक सार्वजनिक कार्यक्रममा  सांसद सिंहले कटाक्ष गर्दै भने, ‘न त प्रदेशमा छ, न त कतै पार्टीमा छन, कतै पनि छैनन। नन–इन्टिटीलाई लिएर यो इस्यु बनाएको छ। किनभने मान्छेलाई मेन इस्युबाट डाइभर्ट गर्नु छ।’

आयातित नेता, जिल्ला नेतृत्वमा 
रास्वपाका अधिकांश जिल्ला अधिवेशनमा घोषित/अघोषित ढंगले दुई प्यानल बनेका थिए। यद्यपि, केही जिल्ला नेतृत्वमा पुरानै दलबाट प्रवेश गरेकाहरू पुग्न सफल भएका छन्। फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएकाहरू रास्वपामा प्रवेश गरी जिल्ला तहको नेतृत्वमा निर्वाचित भएका छन्। कांग्रेसका पाँचथरको पूर्वफिदिम नगरसभापति प्रकाश गुरुङ रास्वपाको जिल्ला सभापति बनेका छन्। 

कांग्रेस तनहुँका पूर्वसचिव विश्वनाथ बास्तोला तनहुँका सभापतिमा विजयी भएका छन्। त्यस्तै कांग्रेसबाट नवलपुरको मध्यविन्दु नगर सभापति रहिसकेका दोमनबहादुर भण्डारी पनि जिल्ला सभापतिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य सीता पराजुली अर्घाखाँची जिल्ला सभापतिमा विजयी भएकी छिन्।

नेकपाबाट प्रवेश गरेका ओम भण्डारी रास्वपाको झापा सभापतिमा निर्वाचित भएका छन्। नेकपा त्याग्दै रास्वपामा प्रवेश गरेका भुवन थापा धनकुटा जिल्ला सभापति बनेका छन्। २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार हुन नपाएपछि  बागी उम्मेदवार भएकी पुनम शर्मा रास्वपाको बागलुङ सभापतिमा निर्वाचित भएकी छिन्। लुम्बिनी प्रदेशका रास्वपाका  शुभेच्छुक कृष्ण भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी प्रवेश गरेको कति दिन, महिना भयो ?   निर्वाचनअघि र पछि आफ्नो अवस्था हेरे मात्रै उम्मेदवार बने हुने थियो।’

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरका अनुसार रास्वपाभित्र रूप फेरिँदैमा चरित्र पनि फेरिन्छ भन्ने हुँदैन। ‘रूप फेरिएको हुन्छ। चरित्र पनि फेरिन सक्छ। तर, प्रवृत्ति फेरिँदैन,’ विश्लेषक पिटर भन्छन्, ‘राजनीतिको अंकगणितमा जो पनि मौका परस्त हुन्छ।’

रास्वपाले आफ्नो टाउको (केन्द्र) बनाइसकेपछि प्रदेश र जिल्लातहमा संगठन (शरीर) बनाउन लागेको छ। हालसम्मको अधिवेशन हेर्दा पुराना दलको झैं पारा देखिन्छ। 
लोकराज बराल, प्राध्यापक, राजनीतिशास्त्र

रास्वपामा संस्थापन पक्षलाई पछि पार्टीमा प्रवेश गरेकाहरूले ‘टेक ओभर’ गर्ने जोखिम छ। पार्टीको संस्थापन पक्ष किनारा लाग्न सक्ने ‘ट्रेन्ड’ देखिँदै छ। 
विजय गुप्ता,राजनीतिक विश्लेषक 

चार वर्षअघि स्थापित उदीयमान पार्टीको वडादेखि प्रदेश तहसम्म अधिवेशन हुनु सकारात्मक कुरा हो। दुई शीर्ष नेताहरू मात्र होइन अन्य दलबाट प्रवेश गरेका समेत गर्दा तीन गुट बन्न सक्ने जोखिम देखिन्छ। व्यवस्थापनको 
चुनौती छ। 
प्राडा गान्धी पण्डित,विश्लेषक

चितवन महाधिवेशन : नेताहरूको निर्णायक मोड

प्रादेशिक तहका अधिवेशनले वेक अप कल (चेतावनी र अवसर दुवै) केन्द्रीय नेतृत्वलाई दिएको छ।  असार ७ गतेदेखि चितवनमा हुने पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन नेताहरूका लागि निर्णायक मोड (टर्निङ प्वाइन्ट) बन्ने देखिएको छ।

रास्वपाका कार्यकर्ताहरूले पार्टीभित्र विचारभन्दा व्यक्तिलाई, योगदानभन्दा पहुँचलाई र सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति मौलाउँदै गएको हो कि भन्ने चिन्ता बढ्दो रहेको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्। ‘प्रदेश अधिवेशन नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र होइन, यो पार्टी कुन दिशामा जाने भन्ने निर्णायक मोड पनि हो। यदि हामीले आज पनि व्यक्तिपूजा, अवसरवाद र शक्ति केन्द्रित मानसिकतालाई प्रश्रय दियौं भने वैकल्पिक राजनीतिको सपना केवल नारामै सीमित हुनेछ,’ योगेश उदय नामका कार्यकर्ताले लेखेका छन्, ‘हामीले यस्तो नेतृत्व रोज्नुपर्छ— जसको आधार विचार हो, व्यक्ति होइन। जसको शक्ति कार्यकर्ता हुन, बिचौलिया होइनन्। जसको लक्ष्य पद होइन, परिवर्तन हो। जसको पहिचान अवसरवाद होइन, निरन्तर संघर्ष र प्रतिबद्धता हो। पार्टीलाई कमजोर बनाउने कुरा आलोचना होइन, गलत प्रवृत्तिप्रति मौन बस्नु हो। त्यसैले आज आवश्यक छ—व्यक्तिको होइन, प्रवृत्तिको समीक्षा। गुटको होइन, सिद्धान्तको पक्षधरता।’ 

उनले संघर्षको मैदान छोड्ने नभई अझ दृढताका साथ उभिने समय भएको उल्लेख गर्दै वैकल्पिक  राजनीतिको भविष्य नेतृत्व चयनले मात्र नभई नेतृत्व चयन गर्ने कार्यकर्ताको चेतनाले निर्धारण गर्ने टिप्पणी गरेका  छन्। प्रादेशिक र जिल्लाको परिणामले महाधिवेशन र पार्टीको समग्र नीतिमा पार्ने दूरगामी प्रभावहरू पार्ने केन्द्रीय सदस्यहरू बताउँछन्। केन्द्रीय शक्ति समीकरणमा फेरबदल र गुटबन्दीको सुरुआत हुने जोखिम देखिएको छ। 

अहिलेसम्म रास्वपामा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहको बलियो नियन्त्रण थियो। तर, केन्द्रले पठाएको सर्कुलर (सांसदहरू तल्लो तहमा उम्मेदवार बन्न नपाउने) लाई चुनौती दिँदै सांसदहरूले चुनाव लड्नु र पराजित हुनुले केन्द्रको कमान्ड कमजोर हुँदै गएको देखाएको छ।  तल्लो तहका कार्यकर्ताहरू अब केन्द्रको आदेश अक्षरंशः मान्ने पक्षमा छैनन्। ‘शक्ति र सत्तामा रहन कसलाई मन लाग्दैन र ?   ‘रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यसै कारण महाधिवेशन धेरैकोलागि टर्निङ प्वाइन्ट बन्न सक्छ।’

महाधिवेशनमा केन्द्रीय समिति १ सय २१ बाट बढाउने विषयमा  छलफल चलिरहेको छ ।  महाधिवेशनमा पदाधिकारी चयनमा अब स्थापित अनुहारहरूलाई सजिलो हुने छैन। नयाँ चुनिएका प्रदेश सभापतिहरूले  महाधिवेशनमा आफ्नै बलिया गुट सिर्जना गर्ने जोखिम छ। ‘शीर्ष नेताहरूले चाहँदैमा आफू अनुकूलका व्यक्ति मात्र केन्द्रीय समितिमा भिœयाउन नसकिने अवस्था रहेको छ,’ राजनीतिक विश्लेषक विजय गुप्ता भन्छन्, ‘रास्वपामा संस्थापनलाई पछि पार्टी प्रवेश गरेकाले टेक ओभर गर्ने जोखिम देखिएको छ। पछि गएर संस्थापन पक्ष किनारा लाग्न सक्ने ट्रेन्ड देखिँदै छ।’
 महाधिवेशनमा एक व्यक्ति, एक पदको मुद्दा राष्ट्रिय एजेन्डा बन्ने सम्भावना छ। प्रादेशिक अधिवेशनले चुनावले रास्वपाका भुइँतहका कार्यकर्ताको स्पष्ट मनोविज्ञान उजागर गरेको छ केन्द्रमा सांसद भएकाहरूले सबै पद ओगट्नु हुँदैन। आगामी महाधिवेशनमा एक व्यक्ति, एक पद र अवसरको मुद्दा विधान संशोधनकै मुख्य एजेन्डा बन्ने छ। सांसदहरूलाई पार्टीको कार्यकारी पदमा बस्न रोक्ने वा निरुत्साहित गर्ने गरी नीतिगत रूपमै नयाँ नियमहरू तय हुन सक्छन्। 

रास्वपा अहिलेसम्म लामिछाने र वालेन्द्र सहितका केही पपुलर अनुहारहरूको क्रेजका भरमा टिकेको छ।  तर, प्रदेश तहमा कार्यकर्ताहरूले स्थापित सेलिब्रेटी वा सांसदभन्दा रातदिन संगठनमा खट्ने स्थानीय नेताहरूलाई जिताएका  छन्। यसले महाधिवेशनमा पार्टीको नीति परिवर्तन गर्न दबाब दिने एक केन्द्रीय सदस्यले बताए। उनले भने, ‘पार्टी अब फेसबुक र टिकटकको क्रेजबाट मात्र चल्दैन। ग्राउन्ड रियालिटी र सांगठनिक पकड भएका नेताहरू चाहिन्छन् भन्ने नीति केन्द्रीय नेतृत्वले लिनै पर्ने देखिएको छ।’ महाधिवेशनमा सभापति पदमा लामिछानेको स्थान बलियो नै देखिएको छ। तर, उनी नजिकका व्यक्तिहरू वा केन्द्रले रुचाएकाहरूलाई कार्यकर्ताले सहजै स्वीकार गर्ने छैनन्। पार्टीमा चेक एन्ड ब्यालेन्ससमेत सुरु भएको छ। 
सभापति लामिछानेले प्रादेशिक अधिवेशनलाई सकारात्मक रूपमा लिँदै पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ भएको सन्देश दिन सक्छन्। यो सन्देश दिएमा परम्परागत दलहरू (कांग्रेस, एमाले, नेकपा) भन्दा रास्वपा फरक र लोकतान्त्रिक छ भन्ने भाष्य बलियो बनाउँछ। रास्वपाको आसन्न महाधिवेशनलाई विचार, नीति र नेतृत्वको वास्तविक लोकतान्त्रिक प्रतिस्पर्धाको थलो बनाउने अपेक्षा गरिएको छ। केन्द्रमा हामी जे भन्छौं, त्यही हुन्छ भन्ने सोच राख्ने नेतृत्वलाई प्रदेशको परिणामले सोच्न बाध्य बनाएको छ।

स्थापित नेता पाखा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनबाट शीर्ष र स्थापित नेता पाखा लागेका छन । यसले पार्टीभित्र  आन्तरिक लोकतन्त्रको बलियो उदाहरण पेस भएको विश्लेषकहरू बताउँछन्। लुम्बिनी प्रदेश सभापतिमा संस्थापन पक्षधर शालिकराम घिमिरे निर्वाचित भए । पार्टीका संस्थापक सहमहामन्त्रीसमेत रहेका विपिन आचार्यको प्रभाव रहेको प्रदेश हो, लुम्बिनी। लुम्बिनी प्रदेश सभापति समेत रहेका दाङ– १ का  सांसद  देवराज पाठकले  पुनः सभापतिमा दोहोरिन चाहेका थिए। 

घिमिरेलगायतका प्रतिस्पर्धी  अडिग रहँदा सांसद पाठक पछि हट्न बाध्य भए। अन्ततः घिमिरे ६ जना प्रतिस्पर्धीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भए । घिमिरे रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापतिको जिम्मेवारीमा थिए। 

रास्वपामा समानुपातिक कोटाबाट  सांसद बनेकी मञ्जु भुसाल (ज्ञवाली)ले लुम्बिनी प्रदेश सभापतिमा  ७१ भोट मात्र पाइन्। भुसाल फाउन्डर नभई फलोअर्स हुन्। कांग्रेस हुँदै तत्कालीन माओवादी र एमाले हुँदै गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनपछि रास्वपामा प्रवेश गरेकी हुन्। प्रत्यक्ष निर्वाचित सांसद पाठक र समानुपातिक सांसद भुसाल दुवैलाई कार्यकर्ताले प्रदेश सभापतिमा रुचाएनन्। ‘तपाईं केन्द्रमा सांसद हुनुहुन्छ भने प्रदेश र स्थानीय तह अरूलाई छाडिदिनुस्’ भन्ने भावना कार्यकर्तामा बलियो देखिएको छ।  जसले अवसरको विकेन्द्रीकरण खोजेको छ।

बागमती प्रदेशका प्रवक्ता रहेका उत्सव अर्याल सभापतिमा निर्वाचित भए । नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  डा. अच्युतम् लामिछाने पराजित भए । पुनः सभापतिमा दोहोरिने चाहना राख्दा २ मतले पराजित भए। 

गण्डकी प्रदेशमा पार्टी स्थापनाकालदेखि संगठन निर्माणमा खटिएका राजन गौतम पनि पराजित भए । कास्कीका नवीन त्रिपाठी विजयी भए । पोखरामा भएको प्रथम अधिवेशनमा निवर्तमान महामन्त्री त्रिपाठीले २ सय ३४ मत ल्याउँदै विजयी भए। निवर्तमान सभापति एवं प्रतिनिधिसभाका सदस्य गौतमले १ सय ८२ मत मात्र ल्याए। गौतम नवलपरासी—१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

स्थापित केन्द्रीय सांसदहरू  र बहालवाला सभापति नै पराजित हुनुले रास्वपाका तल्लो तहका कार्यकर्ताहरूमा नेतृत्व परिवर्तनको तीव्र चाहना रहेको देखिन्छ। स्थापित अनुहार वा शक्ति केन्द्रको आडमा मात्रै चुनाव जितिँदैन भन्ने सन्देश तल्लो तहले दिएको छ। जसलाई लोकतान्त्रिक अभ्यासको सकारात्मक पक्ष मान्न सकिन्छ। केन्द्रीय नेतृत्वले संघमा निर्वाचित सांसदहरूलाई गुटबन्दी र प्यानल नबनाउन सर्कुलर (निर्देशन) जारी गरेको थियो। तर, कतिपय सांसदहरूले नै त्यसको अवज्ञा गरे। यसले दुईवटा कुरा संकेत गर्छ,  एकातिर पार्टीभित्र केन्द्रीय निर्देशन र स्थानीय कार्यकर्ताको आकांक्षाबीच तालमेल मिलिरहेको छैन। 

प्रदेश सभापतिमा सांसदहरू पराजित भएका घटनाले पार्टीभित्र पुरानो योगदानभन्दा तात्कालिक लोकप्रियता, गुटगत समीकरण वा नयाँ एजेन्डा हाबी हुन थालेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.