धानखेतबाट बनेको सानो पोखरीबाट चर्चित गन्तव्य बन्यो रानी ताल

धानखेतबाट बनेको सानो पोखरीबाट चर्चित गन्तव्य बन्यो रानी ताल

राजारानी (धनकुटा) : धनकुटाको दक्षिण–पूर्वी भेगमा पर्ने चौबिसे गाउँपालिका–६, राजारानी अहिले पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको छ। राजारानीमा धनखेतबाट बनेको रानी तालले सानो पोखरीको ठूलो पहिचान बनाउन सफल भएको छ। राजारानीको रानी ताल अहिले पर्यटकीय गन्तव्यका रूपमा निक्कै चर्चित छ। केही वर्षअघिसम्म सामान्य ग्रामीण भू–भागका रूपमा रहेको यो ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकिएको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ।

यो परिवर्तनको पछाडि छन्, ५१ वर्षीय सुकपाल चेम्जोङ। वैदेशिक रोजगारीका लागि करिब आठ वर्ष कुवेतमा बिताएर गाउँ फर्किएका उनले आफ्नै जन्मथलोमा केही नयाँ र दीर्घकालीन काम गर्ने सोच बनाए। २०३२ सालमा जन्मिएका चेम्जोङले विदेशबाट फर्किएपछि विभिन्न पेसा र काम गरे पनि कुनै पनि कामले सन्तुष्टि दिन सकेन। अन्ततः उनले गाउँकै उपेक्षित पोखरीलाई नयाँ रूप दिने निर्णय गरे।

अहिले ‘रानी ताल’ भनेर परिचित यो क्षेत्र पहिले ‘मावरक’ नामले चिनिन्थ्यो। लिम्बू भाषामा ‘मा’को अर्थ देवी र ‘वरक’को अर्थ पोखरी हुने भएकाले यसको अर्थ ‘देवीको पोखरी’ हुने चेम्जोङ बताउँछन्। समयक्रमसँगै यही नाम परिवर्तन हुँदै ‘रानी ताल’का रूपमा परिचित बन्न पुगेको हो। उनका अनुसार पहिले ताल निकै सानो थियो। पानीको स्रोत सीमित थियो भने वरिपरिका खेतमा राम्रो उत्पादनसमेत हुँदैनथ्यो। खेतबाट बगेर आएको पानी सानो पोखरीमा जम्मा हुने गथ्र्यो। पछि उनले पानीका मुहान सफा गर्न थाले। पोखरीलाई विस्तार गर्ने काम अघि बढाए। विस्तारै पानीको मात्रा बढ्दै गयो र पोखरीले ठूलो तालको स्वरूप लियो।

  •  धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीस्थित रानी ताल पूर्वी नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गएको छ।
  • पहिले ‘मावरक’ (देवीको पोखरी) नामले चिनिने क्षेत्र अहिले १०४ रोपनीमा फैलिएको आकर्षक रानी तालमा रूपान्तरण भएको छ।
     

२०६३ सालतिरबाट उनले स्थानीयसँग मिलेर ताल संरक्षण अभियान सुरु गरेका थिए। स्थानीयकै नाममा रहेको जग्गामा ‘रानी ताल संरक्षण समिति’ गठन गरेर काम अघि बढाइएको थियो। सुरुमा गाउँपालिकाले समेत केही सहयोग गरेको थियो। पानी व्यवस्थापनका लागि सानो ड्याम निर्माणसमेत गरिएको थियो। तर, निजी जग्गामा बनेको संरचनामा सरकारी लगानी गर्न नमिल्ने बुझाइका कारण स्थानीय तह पछि हटेपछि काम रोकिएजस्तै भयो।

त्यसपछि चेम्जोङले ताल विकासको जिम्मेवारी आफैंले उठाए। पछिल्ला तीन वर्षयता उनी पूर्ण रूपमा ताल व्यवस्थापन र सौन्दर्यीकरणमै केन्द्रित छन्। अहिले ताल क्षेत्रमा बोटिङ, साइक्लिङ, ठूलो पिङ, आकर्षक फूलबारी र फोटो खिच्न मिल्ने संरचना निर्माण गरिएका छन्। जसका कारण यहाँ आउने पर्यटकको संख्या लगातार बढिरहेको छ।

ताल विकासको यात्राले आफ्नो व्यक्तिगत जीवनशैलीसमेत बदलिएको चेम्जोङ बताउँछन्। पहिले साथीभाइसँग भेटघाट र गफगाफका लागि समय हुने गरे पनि अहिले बिहानदेखि साँझसम्म तालकै काममा व्यस्त रहनु परेको उनी सुनाउँछन्। तालमा कति लगानी भयो भन्ने यकिन हिसाबसमेत राख्न नभ्याएको उनको भनाइ छ। रानीताल करिब १०४ रोपनी क्षेत्रफलमा फैलिएको छ। घेराबारसहितको समग्र क्षेत्र अझ ठूलो रहेको चेम्जोङले बताए। उनी यसलाई पूर्वी नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यमा छन्।

धनकुटाको चर्चित पर्यटकीय क्षेत्र भेडेटारबाट करिब आठ किलोमिटर दूरीमा रहेको रानी ताल अहिले पूर्वी नेपालका विभिन्न जिल्लाबाट घुम्न आउनेहरूको रोजाइ बन्न थालेको छ। सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुटालगायत जिल्लाबाट दैनिकजसो पर्यटक पुग्ने गरेका छन्। भारतको दार्जिलिङ, सिक्किम र बिहारबाटसमेत गर्मी छल्न पर्यटक आउने गरेका स्थानीय बताउँछन्।

स्थानीय विद्यालयहरूले समेत विद्यार्थीलाई अवलोकन भ्रमणका लागि यहाँ ल्याउन थालेका छन्। केही समयअघि राजारानी गोल्डकप फुटबल प्रतियोगिताका क्रममा गृहपालिका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले तालमा साइक्लिङ गर्दै फोटोसुट गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमार्फत रानी तालको चर्चा अझ व्यापक बनेको स्थानीयको भनाइ छ। विराटनगरबाट घुम्न पुगेका अंकु मगरका अनुसार रानी ताल क्षेत्रको मौसम भेडेटारजस्तै चिसो र रमाइलो छ। एक्कासि बाक्लो हुस्सु लाग्ने, हरियालीले भरिएको वातावरण र शान्त परिवेशले पर्यटकलाई फरक अनुभूति दिने उनले बताए। गर्मी छल्न चाहनेका लागि यो ठाउँ उपयुक्त गन्तव्य बनेको मगरको अनुभव छ।

यति ठूलो सम्भावना हुँदाहुँदै पनि राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो चेम्जोङको छ। कोशी प्रदेश सरकारले २०८२ साललाई भ्रमण वर्ष घोषणा गरे पनि त्यसको प्रभाव ग्रामीण पर्यटकीय क्षेत्रसम्म पुग्न नसकेको उनी बताउँछन्। ‘व्यक्तिगत लगानीले मात्रै यति ठूलो परियोजना धान्न कठिन हुन्छ,’ उनी भन्छन्, ‘स्थानीय तह र प्रदेश सरकारले साथ दिने हो भने रानी ताल पूर्वी नेपालकै उत्कृष्ट पर्यटकीय केन्द्र बन्न सक्छ।’

सानो पोखरी र धान फल्ने खेतबाट सुरु भएको ‘मावरक’ आज मेहनत, लगाव र निरन्तर संघर्षको प्रतीक बनेको छ। एउटा व्यक्तिको सपना र अठोटले गाउँको स्वरूप कसरी बदलिन सक्छ भन्ने उदाहरण अहिले धनकुटा राजारानीको रानी ताल बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.