भलिबल खेलाडीको रोजाइ रोनाल्डो कि मेसी ?
काठमाडौं : फुटबलको महाकुम्भले सबैको ध्यान केन्द्रित गरिरहेका बेला खेलकर्मीहरूको व्यस्तता अहिले विश्वव्यापी रुपमै अस्तव्यस्त बनेको छ। फुटबल यस्तो खेल हो, जसप्रति चासो र आकर्षण यही खेलमा लाग्नेहरूमा मात्र सीमित हुँदैन। अन्य खेलमा जीवन समर्पित गर्नेहरूलाई पनि आफूतिर तान्ने क्षमता फुटबलसँग छ। विश्वकप त चार वर्षमा एकपटक मात्र आउने विश्व फुटबलको सबैभन्दा ठूलो मेला भएकाले स्वभाविक रुपमा अन्य खेलमा समर्पित खेलकर्मी पनि अबको ६ हप्ता फुटबलमा केन्द्रित हुन्छन्।
फुटबलको विश्वव्यापी लोकप्रियताले नेपालका भलिबल, क्रिकेटलगायत खेलका खेलाडी र खेलकर्मीलाई अहिले विश्वकपतिर एकोहो¥याएको छ। नेपाली महिला भलिबल टोलीले भर्खरै घरेलु कोर्टमा काभा च्याम्पियनसिप खेल्यो। नेपालका लागि यो प्रतियोगिता सुखद् रहन सकेन। नेपाल चौथो स्थानमा सीमित भयो। नेपालको नतिजा जस्तो भए पनि काभा च्याम्पियनसिप चलुञ्जेल नेपाली खेलकुद भलिबलमय बनेको थियो।
प्रतियोगितापछि खेलाडीहरू विश्राममा छन्। यो विश्राममा उनीहरूलाई विश्वकप फुटबलको ज्वरोले तताएको छ। यस्तो ज्वरो जसले भर्खर काभा खेलेका भलिबल खेलाडीलाई पनि प्रभावित बनाएको छ। त्यही भएर विश्राममा रहेको महिला टोलीका खेलाडी अहिले फिफा विश्वकपमा रमिरहेका छन्। केही खेलाडी यसमा अपबाद पनि छन्। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर उषा भण्डारी थप्छिन्, ‘फुटबल त म हेरिरहेकै हुन्छु। नेपालको लिग पनि हेर्छु।
विश्वकप नहेर्ने त कुरै भएन। तर, भर्खरै मात्रै जापानमा हुने एसियाली खेलकुदको अभ्यास सुरु भएको छ। त्यसैले त्यतै बढी ध्यान दिएको छु।’ उषा यो विश्वकपमा पोर्चुगलको समर्थनमा छिन्। क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा धेरै सफलता हासिल गरे पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले यही उपलब्धी हासिल गरेको हेर्न चाहन्छिन्, उषा। ‘रोनाल्डोकै कारण पोर्चुगल मन पर्छ। रोनाल्डो अनुशासित छन्। उनले गर्ने मेहनत र उनको रणनीतिक खेलका कारण पनि फ्यान भएँ। पोर्चुगलले पहिलो पटक विश्वकप जितेको हेर्ने चाहना छ’, उषा भन्छिन्।
फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रभाव विश्वव्यापी छ। उनीहरूको प्रभावले नेपाली समर्थकको मनमा पनि राज गरिरहेको छ। यही कारण हो, समाजका अन्य समूहजस्तै भलिबलको महिला टिममा पनि धेरैजसो अर्जेन्टिना र पोर्चुगलको समर्थनमा छन्।
यस्तै मिडल ब्लकर सुमित्रा रेग्मी जापानमा हुने एसियाली खेलकुदको तयारी गर्दै घरमै विश्वकप हेरिरहेकी छन्। उनी अर्जेन्टिना र मेसीको फ्यान हुन्। ‘अर्जेन्टिना र मेसीको खेल पहिल्यैबाट हेर्ने गरेको छु। यसपटक पनि अर्जेन्टिनाले जितेको हेर्ने चाहना छ’, उनी भन्छिन्, ‘मध्यरातमा खेल हुँदा सबै हेर्न सकिँदैन। त्यसैले एसियन गेम्स खेल्ने टिमहरूकै भलिबल हेर्छु। यो सिकाइले एसियन गेम्समा धेरै सहयोग गर्छ’, उनी भन्छिन्।
सेटर प्रगति नाथ पनि पोर्चुगलको समर्थक हुन्। तर, मध्यरातमा खेल हुँदा खासै हेर्न नपाउने उनको गुनासो छ। बिहान नतिजा हेरेरै चित्त बुझाउने उनी बताउँछिन्। स्पाइकर कामना विष्टले बहिनी (सिमरन विष्ट)सँग घरमै विश्वकप हेर्ने योजना बनाएकी छन्। ‘घरमै विश्वकप हेर्ने योजना बनाएको छु। बहिनी पनि आएकी छिन्। सजिलो हुन्छ’, उनी भन्छिन्। कामनाको कामना नै रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले पोर्चुगलले जितोस् भन्ने छ।
प्रतिक्रिया दिनुहोस !