बुटवल : मदन भण्डारी राजमार्गको प्यूठान–गुल्मीखण्ड वर्षौंदेखि अलपत्र परेको छ। निर्माण थालेको ४ वर्ष हुनलाग्दा पनि कामले गति नलिएपछि गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्म जोड्ने ३१ दशमलव ८ किलोमिटर सडक अलपत्र परेको हो।
निर्माण सुरु हुँदा राष्ट्रिय राजमार्गले जोड्ने भएपछि हर्षित भएका दुवै जिल्लाका नागरिकहरू अहिले अलपत्र सडकको दुर्दशा देखेर निराश छन्। २०७९ कात्तिक ६ गतेदेखि निर्माण सुरु गरेर तीन वर्षभित्र योजना पूरा गर्ने सम्झौता भएको थियो।
श्रेष्ठ सक्षम जेभी निर्माण कम्पनीसँग मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सम्झौता गरेको थियो। तीन वर्षभित्र योजना पूरा गर्ने गरी २०८२ साउन ५ गतेसम्म अन्तिम म्याद तोकिएको थियो। तर, तोकिएको समयमा योजना पूरा नभएपछि पहिलोपटक म्याद थप गरिएको छ।
थपिएको म्यादको समय सीमा पनि २०८३ पुस १ गतेसम्म मात्रै छ। दोस्रो पटकको म्याद थप्ने समय हुन लाग्दासमेत योजनाको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र छ। गुल्मीको सिमलटारीदेखि प्यूठान सिमाना सौतामारेसम्म १६ दशमलव ३ र प्यूठान खण्डभरि १५ दशमलव ५ गरी कुल ३१ दशमलव ८ किलोमिटर सडक यो योजनाअन्तर्गत पर्छ। निर्माण कम्पनीले सुरुमा भुक्तानी नपाएको र काम गर्ने स्थलमा स्थानीयवासीलगायत सरोकारवाला निकायहरूको साथ नपाउँदा काममा ढिलाइ भएको प्रतिक्रिया छ।
‘निर्माणको पहिलो दुई वर्ष बजेट नै नभएर काम रोकियो। त्यसपछि साइट जंगल क्षेत्र र घरहरू पर्ने क्षेत्रमा काम गर्न अवरोध भयो’, निर्माण व्यवसायी डम्बर खड्काले भने, ‘सबैको तर्फबाट साथ र सहयोग हुने हो भने हामीलाई काम गर्न कुनै गाह्रो छैन।’ तर, दुवै जिल्लाका स्थानीयवासीले ठेकेदारबाटै काममा ढिलाइ हुँदा कामले गति लिन नसकेको आरोप लगाएका छन्।
‘निर्माण व्यवसायी नेतागिरी गरेर हिँड्ने अनि कसरी काम हुन्छ’, झिमरुक प्यूठानका एक स्थानीयले भने, ‘ठेकेदारलाई जसरी पनि हाजिर गराएर कार्यालयले काममा लगाउनुपर्छ।’ तर, निर्माण व्यवसायी खड्काले विगतमा आफूले राजनीति गरे पनि बितेको ६ महिनादेखि पूर्णरूपमा सक्रिय राजनीति छाडेर काममा फर्केको प्रतिक्रिया दिएका छन्। ‘विगतमा राजनीति गरियो होला तर अहिले राजनीतिमा छैन, स्वतन्त्र भएर काम गरिरहेको छु’, उनले भने, ‘मैले यो योजनामा मज्जाले काम गर्न चाहान्छु, तर हामीलाई सबैतिरबाट साथ चाहिन्छ।’उनले वालेन्द्र शाह नेतृत्वको नयाँ सरकार आएपछि बजेटको अभाव भने भोग्न नपरेको प्रतिक्रिया दिए।
निर्माण व्यवसायीले अब कामको गतिलाई नबढाएमा प्यूठानका नागरिकहरू आन्दोलनमा उत्रन बाध्य हुने झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रतिक्रिया दिएका छन्। ‘हाम्रो गाउँपालिकामा योजना कार्यान्वयन गर्ने विषयमा कुनै समस्या छैन, यदि कहीँकतै छ भने हामी समन्वय गरेर समाधान गर्छौं’,पोख्रेलले भने, ‘योजना कार्यालयले निर्माण व्यवसायीलाई काममा लगाउनुप¥यो। नागरिकस्तरबाट हुने सहयोग हामी गर्न तयार छौं।’ निर्माण व्यवसायी खड्काले गुल्मी खण्डको सिमलटारी बजारनजिक कुलो, जंगल क्षेत्र र ३ सय मिटर जतिमा घरहरू हटाउने विषयमा भएको समस्या समाधान नभएको गुनासो गरेका छन्।
प्यूठानको भविष्यसँग जोडिएको यो योजनाको निर्माणमा देखिएको ढिलासुस्तीले सिंगो जिल्लालाई लज्जित बनाएको झिमरुक गाउँपालिका–१ का अध्यक्ष धु्रवराज खनालले गुनासो गरे। ‘फेरि बर्खा लाग्न थाल्यो’, उनले भने, ‘ठेकेदारले आलटाल गरेर ढिलासुस्ती गरेका छन्। अब नागरिकस्तरबाट दबाब सुरु हुन्छ। काम नगरेर आन्दोलन गर्छौं।’ उनले योजना कार्यालय र ठेकेदारले आरोप प्रत्यारोप गरेर काममा ढिलाइ नगर्नसमेत चेतावनी दिएका छन्।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीका योजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर रमेश चौधरीले निर्माण व्यवसायीले समयमै काम नगर्दा समस्या भएको प्रतिक्रिया दिएका छन्। ‘पाँच किलोमिटर जतिमा सामान्य समस्या भएपनि बाँकी २६ किलोमिटर साइट क्लियर छ’, उनले भने, ‘काम गर्न कुनै समस्या छैन, मात्र उहाँले बाहना बनाइरहनुभएको छ।’ उनले प्यूठान र गुल्मी खण्डमा रहेका सामुदायिक वनमा कटानका लागि कार्यालयले सहजीकरण गरिसकेको समेत जानकारी गराए। २०८३ वैशाख १६ गतेसम्म काम गरेको सबै भुक्तानी निर्माण कम्पनीले लगिसकेको उनले बताए। ‘अहिले काम गरेमा बजेटको कुनै अभाव छैन’, उनले भने, ‘काम गर्नुपर्यो, कार्यालयले धेरैपटक पत्राचार पनि गरेको छ। काम नगरे कानुनअनुसार कार्यालयले कारबाही गर्छ।’ चौधरीले विभिन्न बहाना बनाएर निर्माण व्यवसायी तर्किन खोजेको बताए। उनले गुल्मी, प्यूठानमा गरी करिब १ सय बढी घर पर्ने र उनीहरूलाई मुआब्जा दिने विषयमा समस्या नरहेको उल्लेख गरे। ७ मिटर कालोपत्रे र नालीसहित ११ मिटरको सडक निर्माण हुने चौधरीले बताए।
निर्माण व्यवसायी खड्कामाथि योजना सम्झौता गरेर मोबिलाइजेसन वापतको रकम लिएर चुनाव लड्न गएको दुवै जिल्लाका नागरिकहरूले आरोप लगाएका छन्। ठेकेदार खड्का कांग्रेसका नेता हुन्। उनी अघिल्लो निर्वाचनमा इलाम–२ मा उम्मेदवार बनेका थिए। खड्काले गुल्मीको धुर्कोट गाउँपालिका क्षेत्रमा ठूलो खालको क्रसर सञ्चालन गर्न ट्रान्समिटरका लागि गाउँपालिकाले सहमतिसमेत नदिएको गुनासो गरेका छन्।
स्थानीय स्तरमा पाइने ढुंगा, गिट्टी बालुवाको समेत अभाव भएको भन्दै खड्काले गुनासो पोखेका छन्। यो योजनाको कुल सम्झौता बजेट कुल १ अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९ सय सात रुपैयाँ छ। सम्झौताको २६ प्रतिशत रकम निर्माण कम्पनीले भुक्तानी लगिसकेको छ। यही योजना कार्यालय मातहत सञ्चालन भएको गुल्मीकै तम्घास रिडी सडक खण्डमा भने निर्माण कार्य पूरा भएको छ। कुनै बेला कष्टपूर्ण यात्रा गर्न बाध्य यहाँका नागरिकहरू अहिले आरामदायी यात्रा गर्न पाउँदा दंग छन्।
प्रतिक्रिया दिनुहोस !