टिपरको ठक्करबाट बालिकाको मृत्यु, बिर्ताबजार बन्यो तनावग्रस्त
झापा : झापाको बिर्ताबजारमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। बालिकाको मृत्युपश्चात बिर्ताबजारमा तनाव उत्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ ७ बजे बिर्तामोड नगरपालिका–३ बिर्ताबजारको हटियालाईनस्थित भित्री सडक खण्डको अधुवाखोला पुलमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ नम्बरको टिपरले सोही ठाउँका पैदलयात्री १० वर्षीया अनुकृति चापागाईंलाई ठक्कर दिएको थियो।
घाइते बालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए। बालिकाको शव सोही अस्पतालको शव गृहमा राखिएको छ। घटनास्थलमा भेला भएका आक्रोशित स्थानीयको भीडले प्रहरी चौकी बिर्ताबजार घेराउ गर्दै ठक्कर दिने टिपरलाई तोडफोडसहित आगजनीको प्रयास गरेका थिए।
प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमाण्डमा खटिएको टोलीले टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकको कमाण्डमा ३५ जनाको टोली खटाइएको थियो।
प्रतिक्रिया दिनुहोस !