विवाह गर्न प्रेरित गर्दै भीमेश्वरको नयाँ योजना, प्रोत्साहनवापत ५० हजार नगद
दोलखा : घट्दो जनसंख्या वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा निश्चित उमेरसम्म अविवाहित रहेका नागरिकले विवाह गरेमा नगद प्रोत्साहन प्रदान गर्ने व्यवस्था गरेको हो।
३५ वर्ष उमेर नाघेका अविवाहित महिला र ४० वर्ष उमेर नाघेका अविवाहित पुरुषले विवाह गरेमा नगरपालिकाले ५० हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए। यस कार्यक्रमका लागि आगामी आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ।
पछिल्ला वर्षहरूमा विवाह गर्ने उमेर बढ्दै जानु, सन्तान ढिला जन्माउनु तथा धेरै दम्पतीले एक जना मात्र सन्तान जन्माउने प्रवृत्ति बढ्नुका कारण जनसंख्या वृद्धिदरमा असर परेको उपप्रमुख कमला बस्नेतले बताइन्। यस्ता चुनौतीलाई ध्यानमा राख्दै विवाह र परिवार निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम समावेश गरिएको उनको भनाइ छ।
नेपालमा पछिल्ला वर्षहरूमा जन्मदर घट्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका छन्। युवापुस्तामा उच्च शिक्षा, रोजगारी, वैदेशिक बसाइँसराइ तथा आर्थिक कारणले विवाह ढिलो गर्ने प्रवृत्ति बढ्दो छ। यसले दीर्घकालीन रूपमा जनसंख्याको संरचना, श्रमशक्ति तथा सामाजिक व्यवस्थामा असर पार्न सक्ने भन्दै स्थानीय तहहरूले समेत चासो दिन थालेका छन्।
भीमेश्वर नगरपालिकाले यसअघि पनि जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो। आर्थिक वर्ष २०८१/०८२ मा तेस्रो सन्तान जन्माउने परिवारलाई १० हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरिएको थियो। सो कार्यक्रमपछि नगरपालिकाले विवाहलाई लक्षित गरी थप नयाँ योजना अघि सारेको हो।
नगरपालिकाका अनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरिने जनाएको छ। स्थानीय तहबाट ल्याइएको यो कार्यक्रमले विवाहप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै घट्दो जनसंख्या वृद्धिदरका विषयमा बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सामाजिक र जनसांख्यिक चुनौतीलाई सम्बोधन गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !