युगकविको आँगनमा अक्षरहरूको उत्सव : कविताको लयमा झुम्यो ओखलढुङ्गा

युगकविको आँगनमा अक्षरहरूको उत्सव : कविताको लयमा झुम्यो ओखलढुङ्गा
सुन्नुहोस्

ओखलढुङ्गा : युगकवि सिद्धिचरण श्रेष्ठले कुनै समय सिर्जनाको रोमाञ्चकतामा टहलिँदै रचेको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतमा भनेझैं यो सुवासिलो माटोमा यस पटक पुनः कविताका अक्षरहरू ब्युँझिएका छन् । भावनाका अजश्र लहरहरू पग्लिएका छन् । सिङ्गो ओखलढुङ्गा कविताको एउटा उत्सवमय लयमा झुमेको छ । बहाना निकै गरिमामय र ऐतिहासिक थियो–युगकवि श्रेष्ठको ११५ औं जन्मजयन्ती । 

यसै अवसरलाई साक्षी राखेर सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको आयोजना तथा सिद्धिचरण नगरपालिका र जिल्ला समन्वय समिति, ओखलढुङ्गाको आर्थिक सहयोगमा सम्पन्न ’खुला कविता प्रतियोगिता–२०८३ तथा कविता उत्सव’ ले यस ऐतिहासिक भूगोललाई केवल एउटा पहाडी जिल्ला मात्र रहन दिएन, केही दिनका लागि देशकै साहित्यिक राजधानी जस्तै जीवन्त र ऊर्जाशील बनाइ दियो ।

देशका कुना–कन्दरा र दूरदराजबाट स्रष्टाहरूले इमेलमार्फत पठाएका १५० वटा कविताहरू ओखलढुङ्गाको थातथलोमा पठाइसकेका थिए । तीमध्ये तटस्थ मूल्याङ्कन समितिले सुक्ष्म अध्ययन र मिहिनेतका साथ मञ्चीय प्रस्तुतिका लागि उत्कृष्ट १० कविताहरू छनोट गरेको थियो । जब तिनै छानिएका उत्कृष्ट १० सिर्जनाहरू युगकविको शालीकलाई साक्षी राखेर  जब वाचित भए, तब उपस्थित स्रोता र साहित्यनुरागीहरू मन्त्रमुग्ध भए । 

nullकार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत रहेका थिए भने अतिथिका रूपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराई र संस्थापक मेयर मोहनकुमार श्रेष्ठको उपस्थिति थियो । आमन्त्रित अतिथिहरूले युगकविको ऐतिहासिक कदर गर्दै नयाँ पुस्तामा सञ्चारित उच्च साहित्यिक ऊर्जाको खुलेर प्रशंसा गरे ।

प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक हुँदा झापाको साहित्यिक सुगन्ध ओखलढुङ्गाको डाँडाकाँडामा मगमगाएको थियो । प्रतियोगितामा झापाका विवेक दुलाल क्षेत्रीले प्रथम स्थान हासिल गर्दै ओखलढुङ्गाको मन जित्न सफल भए । उनले प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारे । यस्तै, झापाकै निकेश डाँगीले द्वितीय स्थान सुरक्षित गर्दै प्रमाणपत्र र नगद १० हजार रुपैयाँ प्राप्त गरे भने काभ्रेपलाञ्चोकका प्रताप चौलागाईले तृतीय स्थान प्राप्त गरी प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ हात पार्न सफल भए । 

विजेताहरू मात्र होइन, उत्कृष्ट पाँच अर्थात् सान्त्वना स्थानमा पर्न सफल धनकुटाका बिनोद विवश, खोटाङका अनाम उपेक्षित, सोलुखुम्बुका किशोर बाहिङ राई तथा स्थानीय माटोका सुवास बोकेका ओखलढुङ्गाका पेसलकुमार बराल र सुमन दाहालका सिर्जनाहरूले पनि उत्सवमा रोमाञ्चकता र  ओखलढुङ्गालाई काव्यिक चेत प्रवाह गरेको छ ।

प्रतियोगी कविहरूको जोश त छँदै थियो, कविता उत्सवलाई प्राज्ञिक उचाई र लालित्य दिन नेपाली समकालीन साहित्यका स्थापित एवं प्रखर स्वरहरू मञ्चमा उत्रिएका थिए । स्थापित कविहरू हेमन यात्री, चन्द्र गुरुङ, सविता फागो र दिलिप पहाडीले जब आफ्ना शक्तिशाली, दर्शन चेत र सामाजिक यथार्थले भरिएका कविताहरू प्रस्तुत गरे, तब हलमा गडगडाहट तालीको वर्षा भयो । विशेष गरी कवि हेमन यात्री, दिलिप पहाडी र चन्द्र गुरुङका कविताले स्रोताहरूबाट लगातार ‘वाइवाइ’ र ‘वान्स मोर’ को सम्मान पाएका थिए । उनीहरूका कविताले समकालीन नेपाली समाज, मानवीय संवेदना र प्रेमका बहुआयामिक रङहरूलाई यसरी प्रस्तुत गरे कि लाग्थ्यो–युगकवि सिद्धिचरणको दिव्य आत्मा कतै कुनामा बसेर मुसुमुसु हाँसिरहेको छ ।

यस ऐतिहासिक उत्सवमा दुई दर्जनभन्दा बढी प्रबुद्ध कविहरूले आफ्ना विविध रस र विम्बात्मक कविता वाचन गरेका थिए भने नयाँ पुस्ताको बलियो जगका रूपमा रहेका निहारिका धमलासहित एक दर्जन प्रतिभावान बाल कविहरूले समेत आफ्नो उत्साहजनक र ऊर्जाशील प्रस्तुति दिएका थिए । कविताको वाचन र लय हाबी भइरहँदा कार्यक्रममा प्राज्ञिक गम्भीरता र बौद्धिक विमर्श पनि थपियो ।

प्रखर शिक्षक तथा समालोचक युवराज दाहालले युगकवि सिद्धिचरण श्रेष्ठका कविताका मुख्य प्रवृत्ति, शिल्प, चेतना र सामयिकतालाई समेटेर एउटा गहन कार्यपत्र प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई प्राज्ञिक बहसको थलो समेत बनायो । सिद्धिचरण सङ्ग्रहालय समितिका रुपेश शाक्यको अध्यक्षतामा सम्पन्न साहित्यिक कुम्भ जिल्लाको इतिहासमै सबैभन्दा बृहत र भव्य साहित्यिक जमघट भएको सर्जक चौतारी ओखलढुङ्गाका अध्यक्ष तथा कवि वीरेन्द्र तामाङले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.