आमा र छोरामाथि घरमै छुरा प्रहार गरी निर्मम हत्या, नगद र गहना पनि लुटियो
भारत : भारतको राजधानी दिल्लीमा आमा–छोराको निर्मम हत्या भएको छ । योजनाबद्ध रूपमा आएको समूहले आमा–छोराको हत्या गरेपछि नगद र गहना लिएर फरार भएका छन् । प्रहरीले आसपासका सीसीटीभी फुटेज जाँच गरिरहेको छ भने संदिग्धहरूको खोजीका लागि विशेष टोली गठन गरिएको छ ।
गोविन्दपुरी क्षेत्रमा ३८ वर्षीया शारदा र उनका १३ वर्षीय छोरा खुशालको निर्ममतापूर्वक हत्या गरिएको हो । उनीहरूलाई घरभित्रै छुरा प्रहार गरेर मारिएको प्रहरीले जनाएको छ । खुशाल कक्षा ७ मा अध्ययनरत थिए । घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
प्रहरीका अनुसार आरोपीहरू पूर्ण तयारीका साथ घरमा प्रवेश गरेका थिए । हत्या गरेपछि उनीहरूले घरमा राखिएको करिब १० देखि १२ लाख रुपैयाँ नगद तथा गहना लुटेर फरार भएका हुन् । प्रारम्भिक अनुसन्धानमा लुटपाट नै घटनाको मुख्य कारण भएको आशंका गरिएको छ, यद्यपि प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान अघि बढाइरहेको छ ।
बुधबार राति करिब १ः११ बजे गोविन्दपुरी प्रहरी थानामा पीसीआर कल आएको थियो । कलमा गोविन्दपुरी, कालकाजीस्थित गली नम्बर १० को एक घरमा दुई जनाको हत्या भएको जानकारी दिइएको थियो । त्यसपछि एसएचओ र एसीपीसहितको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार विष्णु साहु नामका व्यक्ति साप्ताहिक बजारमा फलफूल तथा तरकारी बेच्ने काम गर्छन् ।
उनी राति करिब १२ः३० बजे घर फर्किदा घरको मुख्य ढोका बाहिरबाट बन्द गरिएको अवस्थामा थियो । घरभित्र प्रवेश गर्दा उनले आफ्नी पत्नी र छोराको शव देखेका थिए, जसमा छुरा प्रहारका धेरै चोट देखिएको थियो । घटनास्थलको निरीक्षणका क्रममा अलमारीबाट नगद र गहना हराएको भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि फरेन्सिक साइन्स ल्याब (एफएसएल) टोलीलाई पनि घटनास्थलमा बोलाइएको थियो । प्रहरीले दुवै शव पोस्टमार्टमका लागि पठाएको छ ।
आसपासका सीसीटीभी फुटेजको जाँच भइरहेको छ भने आरोपीहरूको खोजीका लागि विभिन्न टोली परिचालन गरिएको छ । हाल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र अनुसन्धान जारी रहेको छ । प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) को धारा १०३ र ३०९(६) अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ। आरोपीहरू हालसम्म पक्राउ परेका छैनन् ।
प्रतिक्रिया दिनुहोस !