के भारतमा पेट्रोल संकट सुरु भएको हो ? सात दिनमा दुई पटक बढ्यो भाउ
भारत : भारतमा एक साताभित्र दोस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । मंगलबार पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर करिब ९० पैसा बढाइएको हो । नयाँ दिल्लीमा पेट्रोलको मूल्य अब ९८.६४ रुपैयाँ र डिजेल ९१.५८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यहीबीच चण्डीगढको सेक्टर–१७ स्थित एक पेट्रोल पम्पमा सीमित मात्रामा इन्धन दिने सूचना टाँसिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ । सूचनामा दुईपाङ्ग्रे सवारीलाई ५०० रुपैयाँसम्म र चारपाङ्ग्रे सवारीलाई १,५०० रुपैयाँसम्म मात्र पेट्रोल उपलब्ध गराइने उल्लेख थियो ।
तर प्रशासनले इन्धन अभाव नरहेको र यस्ता कुनै निर्देशन जारी नगरिएको स्पष्ट पारेको छ । पम्प व्यवस्थापनका अनुसार स्टक कम भएकाले अर्को ट्यांकर नआउञ्जेल इन्धन सकिन नदिन अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको हो । यसैबीच सीएनजीको मूल्य पनि लगातार बढिरहेको छ ।
कांग्रेसले भन्यो, ‘महँगी म्यानले अझै असुली गर्नेछ’
भारतमा मंगलबार फेरि पेट्रोल र डिजेलको मूल्य वृद्धि भएपछि कांग्रेस पार्टीले सरकारको आलोचना गरेको छ । कांग्रेसले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत लेखेको छ, ‘जनतामाथि महँगी म्यान मोदीको हन्टर फेरि चल्यो । पेट्रोल–डिजेल ९० पैसा महँगो बनाइयो । मोदीले पछिल्ला ४ दिनमा ४ रुपैयाँ बढाइसके ।’ कांग्रेसले थप लेखेको छ, ‘यो त केवल सुरुवात हो । चुनाव सकिएकाले अब महँगी म्यानले अझै असुली गर्नेछ ।’
प्रतिक्रिया दिनुहोस !