भारतमा डिजेल–पेट्रोलपछि फेरि बढ्यो कम्प्रेस्ड नेचुरल ग्यासको भाउ
भारत : भारतका शहरहरूमा सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) को मूल्य फेरि बढाइएको छ । दुई दिनभित्र सीएनजीको मूल्य दोस्रो पटक बढाइएको हो। पछिल्लो वृद्धि पछि दिल्लीमा सीएनजीको मूल्य प्रतिकिलो ८०.०९ भारतीय रुपैयाँभन्दा माथि पुगेको छ ।
दिल्ली र त्यससँग जोडिएका नोएडा तथा गाजियाबाद क्षेत्रमा आइतबार बिहान सीएनजीको मूल्य प्रतिकिलो १ रुपैयाँले बढाइएको हो । अब दिल्लीमा सीएनजीको मूल्य प्रतिकिलो ८०.०९ रुपैयाँ पुगेको छ भने नोएडा–गाजियाबादमा प्रतिकिलो ८८.७० रुपैयाँ पुगेको छ । यसअघि मे १५ मा पनि सीएनजीको मूल्य प्रतिकिलो २ रुपैयाँले बढाइएको थियो ।
पेट्रोल–डिजेलमा पनि तीन रुपैयाँ वृद्धि
यो पछिल्ला चार वर्षमा पेट्रोल–डिजेलको मूल्यमा भएको पहिलो वृद्धि हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै तेल मार्केटिङ कम्पनीहरूको घाटा बढेपछि मूल्य वृद्धि गरिएको बताइएको छ । सरकारले इन्धन खपत घटाउने र देशको तेल आयात खर्च नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला यो मूल्य वृद्धि गरिएको हो ।
पीएनजी र एलपीजीको मूल्य यथावत
यद्यपि, घरमा पाइपमार्फत उपलब्ध गराइने प्राकृतिक ग्यास (पीएनजी) र घरेलु एलपीजी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । घरेलु एलपीजी सिलिन्डरको मूल्य मार्च महिनामा ६० रुपैयाँले बढाइएको भए पनि अहिले पनि वास्तविक लागतभन्दा कम रहेको बताइएको छ । तेल कम्पनीहरूलाई १४.२ किलोको एउटा एलपीजी सिलिन्डरमा ६७४ रुपैयाँ घाटा भइरहेको जनाइएको छ ।
अमेरिका–इरान युद्धको असर
विश्व बजारमा कच्चा तेलको मूल्य फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलले हमला गरेपछि र त्यसको जवाफमा तेहरानले प्रतिक्रिया दिएपछि ५० प्रतिशतभन्दा बढी बढेको बताइएको छ । यस युद्धका कारण विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास ओसारपसार हुने होर्मुज स्ट्रेट अवरुद्ध भएको छ, जसले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले हालै इन्धन बचत गर्न, ‘वर्क फ्रम होम’ अपनाउन र विदेश भ्रमण कम गर्न अपिल गरेका थिए । ऊर्जा मूल्य वृद्धि हुँदा भारतको विदेशी मुद्रा सञ्चितिमा दबाब परेको र लगातार तेस्रो वर्ष चालु खाता घाटा बढ्ने जोखिम देखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !