विदेशी मुद्राको ठूलो खाँचोका बेला भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?
भारत : भारतले चिनीको निर्यातमा ३० सेप्टेम्बर २०२६ सम्म प्रतिबन्ध लगाएको छ । यो निर्णय यस वर्ष अनुमान गरिएको भन्दा कम उखु उत्पादन हुने सम्भावना र इरानमा भएको युद्धका कारण मल आयातमा गम्भीर अवरोध उत्पन्न भएपछि गरिएको हो ।
विशेषज्ञहरूका अनुसार, निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले सरकार आफ्नो ठूलो जनसंख्याका लागि आन्तरिक आपूर्ति स्थिर राख्न र बढ्दो महँगीको डर कम गर्न केन्द्रित रहेको देखाउँछ । भारत विश्वको दोस्रो ठूलो चिनी उत्पादक र प्रमुख निर्यातकर्तामध्ये एक हो । यस्तो अवस्थामा, प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा भण्डार बढाउन जोड दिइरहेका बेला देशको सबैभन्दा मूल्यवान नगदेमध्ये एकको निर्यात रोक्नुले धेरै प्रश्न उठाएको छ ।
बजारले पनि यस निर्णयलाई नकारात्मक प्रतिक्रिया दियो । बिहीबार प्रमुख चिनी कम्पनीहरूको शेयर मूल्य ६ प्रतिशतसम्म घटेको रिपोर्ट गरिएको छ । विशेषज्ञहरूको भनाइमा, सरकारले यो निर्णय आन्तरिक आपूर्ति सुनिश्चित गर्न गरेको हो । किनभने भारत चिनीको सबैभन्दा ठूलो उपभोक्तामध्ये पनि एक हो ।
इण्डियन सुगर एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसनका महानिर्देशक दीपक बल्लानीले यसलाई ‘सावधानीपूर्ण कदम’ भनेका छन् । जसको उद्देश्य देशभित्र पर्याप्त आपूर्ति सुनिश्चित गर्नु हो । तर उनले केही पुराना निर्यात सम्झौताहरूलाई ध्यानमा राखेर अझ व्यवस्थित समीक्षा हुनुपर्ने पनि बताएका छन् । उनका भने, ‘हामीले निर्यात अवस्थाको सन्तुलित समीक्षा हुने अपेक्षा गरेका थियौं, विशेष गरी केही सम्झौताहरू पहिले नै भइसकेका थिए । ती ढुवानीहरूलाई अनुमति दिनुपर्थ्याे, किनभने सम्झौता तोड्नु उचित होइन ।’
अपेक्षाभन्दा कम उत्पादन
विशेषज्ञहरूका अनुसार, यो प्रतिबन्धको मुख्य कारणमध्ये एक यस सिजन (२०२५–२०२६) मा उखु उत्पादन अनुमानभन्दा कम हुनु हो । दीपक बल्लानीका अनुसार सुरुमा ३ करोड टन चिनी उत्पादन हुने अनुमान थियो, तर खराब मौसमका कारण अब करिब २.८ करोड टन मात्र उत्पादन हुने अपेक्षा गरिएको छ । पहिले भारत सरकारले १५ लाख टन निर्यात अनुमति दिएको थियो, जसमध्ये करिब ६.५ लाख टन पहिले नै निर्यात भइसकेको छ ।
होर्मुज स्ट्रेटको असर
उत्पादन घट्नु बाहेक अर्को कारण होर्मुज स्ट्रेट बन्द हुँदा उर्वरक आपूर्तिमा परेको दबाब पनि हो । भारत विश्वको दोस्रो ठूलो उर्वरक प्रयोगकर्ता हो र विश्व व्यापारको करिब एक–तिहाइ भाग होर्मुज स्ट्रेट हुँदै जाने भएकाले यसमा अवरोध आएको छ । यसले उखु खेतीमा प्रत्यक्ष असर पारेको छ, किनभने उखु बालीलाई धेरै मात्रामा मल चाहिन्छ । सरकारले भने पर्याप्त मल भण्डार रहेको दाबी गरेको छ, तर केही किसानहरूले पहिले नै कमी महसुस गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस !