साउदीमा १३० नेपाली श्रमिकको मृत्यु, ५४४ जना जेलमा
साउदी : वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार, कानुनी सहजीकरण तथा समस्या समाधानमा नेपाली दूतावासले पछिल्लो समय सक्रियता तीव्र बनाएको छ । जेलमा रहेका नेपालीदेखि अस्पतालमा उपचाररत बिरामीसम्मको उद्धार तथा सहजीकरणमा दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ ।
दूतावास स्रोतका अनुसार हाल विभिन्न मुद्दा तथा कानुनी प्रक्रियाका कारण ५४४ जना नेपाली साउदी अरबका विभिन्न जेलमा रहेका छन् । श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, भागेको आरोप, आपराधिक अभियोग तथा प्रशासनिक जटिलताका कारण उनीहरू हिरासतमा रहेको बताइएको छ। दूतावासले नियमित रूपमा जेलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिने, कानुनी परामर्श उपलब्ध गराउने तथा रिहाइ र स्वदेश फिर्ताका लागि पहल गरिरहेको जनाएको छ ।
त्यस्तै, गत साउनदेखि हालसम्म विभिन्न कारणले १३० जना नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । अधिकांशको मृत्यु हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या, दीर्घरोग तथा प्राकृतिक कारणले भएको उल्लेख गरिएको छ । मृत्यु भएका नेपालीको शव व्यवस्थापन, कानुनी प्रक्रिया पूरा गर्ने, परिवारसँग समन्वय गर्ने तथा शव नेपाल पठाउने कार्यमा दूतावास सक्रिय रहेको बताइएको छ ।
स्वास्थ्य समस्यामा परेका नेपालीहरूको उद्धारमा समेत दूतावासले सक्रियता बढाएको छ । विभिन्न अस्पताल तथा उपचार केन्द्रमा रहेका २७ जना गम्भीर बिरामी नेपालीको उद्धार तथा उपचार व्यवस्थापन गरिएको जानकारी दिइएको छ । केही बिरामीलाई नेपाल फर्काइसकिएको छ भने अन्यलाई फर्काउने प्रक्रिया अघि बढाइएको छ । रोजगारदाता कम्पनीसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने काम पनि भइरहेको दूतावासले जनाएको छ।
यसैबीच, विभिन्न समस्यामा परेका १५६४ जना नेपाली श्रमिकको समस्या समाधानका लागि दूतावासले रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेको जनाएको छ । तलब नपाउने, पासपोर्ट रोक्का गरिने, करारअनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव तथा बसोबास समस्यालगायतका गुनासो समाधानमा दूतावास सक्रिय रहेको उल्लेख गरिएको छ ।
नेपाल फर्किन चाहने तथा कागजात समस्यामा परेका श्रमिकका लागि एक्जिट भिषा प्रक्रियामा समेत सहजीकरण गरिएको छ । हालसम्म करिब ५०० जना नेपालीलाई एक्जिट भिषा प्रक्रियामा सहयोग गरिएको जनाइएको छ । यसले अलपत्र परेका तथा घर फर्किन नसकेका श्रमिकलाई ठूलो राहत पुगेको बताइएको छ ।
दूतावासले श्रमिकका गुनासा छिटो सुन्न र समाधान गर्न आधुनिक सञ्चार माध्यमलाई प्राथमिकतामा राखेको जनाएको छ । विशेषगरी ह्वाट्सएप सेवा सञ्चालनमा ल्याइएपछि दैनिक सयौं गुनासा आउने गरेका छन्। कर्मचारीहरूले तत्काल प्रतिक्रिया दिने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा आवश्यक परामर्श दिने काम गरिरहेको दाबी गरिएको छ । त्यसैगरी, दैनिक ५० भन्दा बढी पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको जानकारी दिइएको छ । अनलाइन प्रणालीमार्फत सेवा प्रवाह हुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज र छिटो सेवा पाउन थालेको दूतावासको भनाइ छ ।
‘फोन उठ्दैन’ भन्ने गुनासोबीच दूतावासको स्पष्टीकरण
विदेशमा रहेका नेपाली श्रमिकबाट बारम्बार सुनिने गुनासो हो, ‘समस्या पर्दा दूतावासको फोन उठ्दैन ।’ विशेष गरी खाडी मुलुकमा कार्यरत नेपालीहरू कठिन परिस्थितिमा पर्दा तत्काल सम्पर्क हुन नसकेको अनुभव सुनाउने गरेका छन् ।
तर साउदीस्थित नेपाली दूतावासका श्रम कन्सुलर कबिराज उप्रेतीले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । उनका अनुसार सीमित साधन र जनशक्तिका बीच पनि दूतावासले श्रमिकको समस्यालाई प्राथमिकतामा राखेर निरन्तर सेवा दिइरहेको छ ।
एनआरएन साउदीको एक कार्यक्रममा बोल्दै उनले दूतावास र श्रमिकबीचको दूरी केवल फोन उठ्ने वा नउठ्ने विषयमा सीमित नभई विदेशमा रहेका लाखौं नेपालीको सुरक्षा, भरोसा र राज्यप्रतिको अपेक्षासँग जोडिएको संवेदनशील विषय भएको बताएका छन् । उप्रेतीका अनुसार दूतावासमा दैनिक सयौं फोन, इमेल, ह्वाट्सएप सन्देश तथा सामाजिक सञ्जालमार्फत सहायता माग आउने गरेका छन् । एउटै समयमा अत्यधिक सम्पर्क प्रयास हुँदा सबै फोन तत्काल उठाउन सम्भव नभए पनि कुनै पनि समस्यालाई बेवास्ता नगरिएको उनको दाबी छ ।
उनले उद्धार, अस्पताल समन्वय, कानुनी सहायता, जेलमा रहेका नेपालीको सहयोग तथा मृत्यु भएका श्रमिकको शव नेपाल पठाउने कार्यमा दूतावास निरन्तर सक्रिय रहेको बताए । पछिल्लो समय ‘अनलाइन श्रमिक सहायता कार्यक्रम’ सञ्चालन गरी सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउने प्रयास थालिएको समेत उनले जानकारी दिए ।
यद्यपि, चुनौती अझै गम्भीर रहेको देखिन्छ । लाखौं नेपाली श्रमिक रहेको मुलुकमा सीमित कर्मचारी, अत्यधिक कार्यचाप, प्रविधिगत समस्या तथा सूचना अभावका कारण सेवा प्रणाली प्रभावकारी बन्न नसकेको गुनासो अझै कायम छ । धेरै श्रमिकलाई दूतावासको आधिकारिक सम्पर्क माध्यम, कार्यालय समय तथा सहायता प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा भ्रम र असन्तुष्टि बढिरहेको देखिन्छ ।
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको सरोकारवालाहरू बताउँछन् । त्यसैले दूतावासको सेवा प्रणालीलाई अझ छिटो, भरपर्दो, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता थप बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !