बालेन सरकारले ०८१ सालकै नीति तथा कार्यक्रम हुबहु ल्यायो : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अव्यवस्थित बस्तीमा जथाभावी डोजर चलाइएको भन्दै सत्ताको आडमा जे पनि गर्न सकिन्छ भन्ने नसोच्न सरकारलाइ सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको वैठकमा बोल्दै शाहीले अव्यवस्थित बस्ती जोगाउनु पर्छ भन्ने मान्यता आफ्नो नभए पनि सरकार आतंकवादी जस्तो भएर प्रस्तुत हुन नहुने बताए । उनले वाग्मती किनारमा नागरिकको ओत भत्किँदा सरकारलाई पीडा महसुस हुनुपर्ने बताएका छन् । उनले मन्त्रिपरिषद्का सदस्यसम्म हुकुमवासी भएको प्रत्यक्ष प्रमाणहरु बाहिरिँदा त्यसमा भने सरकारले डोजर नचलाएको बताए ।
नेता शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु (कपि पेस्ट) रहेको दाबी गरेका छन् । उनले संसदमा बोल्दै दुवै नीति तथा कार्यक्रमको पुस्तक देखाएका थिए । उनले भने, ‘मेरो हातमा दुई वटा किताब छ । एउटा २०८३ सालमा, हिजो मात्रै, राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नु भएको नीति तथा कार्यक्रम । अर्को २०८१ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्वोधन गर्नु भएको नीति तथा कार्यक्रम । हुबहु एउटै छ ।’ शाहीका अनुसार २०८१ को नीति तथा कार्यक्रममा २१७ बुँदा थिए भने अहिले १०० बुँदा छन् । तर, सबैजसो मिलेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस !