प्रतिपक्षी दलको सबै प्रश्नको उत्तर दिनुपर्छ भन्ने छैन, प्रमको अभिव्यक्तिबारे परराष्ट्रले जवाफ दिइसक्यो : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षी दलले उठाएका सबै प्रश्न उत्तर सत्तापक्षले नदिने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। जसका कारण बजेटमाथि छलफलसमेत हुन सकेको छैन।
दिनहुँ सदन अवरुद्ध भएपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारका लागि संसद बैठक बोलाएका छन्। तर, प्रतिपक्षी दल अहिले पनि सीमा विषयमा दिएको अभिव्यक्ति प्रधानमन्त्री शाहले फिर्ता लिनुपर्ने र सदनमा माफी माग्नुपर्ने अडान लिँदै आएका छन्।
सोही विषयमा सोधिएको प्रश्नमा सभापति लामिछानेले प्रतिपक्षी दलको सबैखालेको प्रश्न उत्तर सत्तापक्षले नदिने अडान लिए। उनले सीमा विवादसम्बन्धी अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयले आधिकारिक धारणासमेत सार्वजनिक गरिसकेको बताए।
'हामी अस्थिरताको पक्षमा छैनौं। हामी स्थीरताको पक्षमा छौं। हामीले वाचा पत्रमा लेखेका कुरामा अडिग छौं। त्यो पूरा गर्छौं। प्रतिपक्षले के प्रश्न गर्यो भन्ने सबै कुराको उत्तर सत्तापक्षले दिनुपर्छ भन्ने छैन। प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ,' उनले भने।
उनले प्रधानमन्त्री शाह समय र परिस्थिति हेरेरमात्र विदेश भ्रमणमा जाने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !