रहेनन् दलित समुदायका पहिलो सगरमाथा आरोही विजय
सोलुखुम्बु : दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रचेका आरोही विजय घिमिरे विश्वकर्माको निधन भएको छ । सगरमाथा आरोहणका क्रममा लेक लागेर ३६ वर्षीय घिमिरेको आज आइतबार आधार शिविर क्षेत्रमा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकाश राईका अनुसार आज बिहान अन्दाजी ४ बजे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका घिमिरे अचानक बिरामी परेका थिए । टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएपछि उनलाई तत्काल आधार शिविरतर्फ फर्काइएको थियो । उद्धारका क्रममा बिहान अन्दाजी ९ः३० बजे बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहण अभियानमा सहभागी घिमिरेलाई हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला हेलिप्याड ल्याइएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक तुलबहादुर सलामीको नेतृत्वमा टोली खटिएको छ । उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षक अस्पताल ल्याउने तयारी भइरहेको ट्रेक नेपाल कम्पनीले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्क निवासी घिमिरे दलित समुदायबाट सगरमाथा शिखर चुम्ने पहिलो आरोही हुन् ।
कठिन संघर्ष र अभावबीच पर्वतारोहण यात्रामा अघि बढेका उनले पटक–पटक सगरमाथा आरोहण गरिसकेका थिए । पछिल्लो समय घिमिरे पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय थिए । पर्वतीय पर्यटन र सामाजिक समावेशिताको क्षेत्रमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ । दलित समुदायका युवाहरूलाई साहस, संघर्ष र आत्मविश्वासको प्रेरणा दिने व्यक्तित्वका रूपमा उनलाई स्मरण गरिने गरिएको थियो । सामाजिक अभियन्ताको छवि समेत बनाएका घिमिरे समाजसेवामा समेत सक्रिय थिए ।
शोक र श्रद्धाञ्जली
घिमिरेको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्र शोकमग्न बनेको छ । विशेषगरी दलित समुदायमा उनको निधनलाई अपूरणीय क्षतिका रूपमा लिइएको छ । सामाजिक सञ्जालहरूमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘संघर्षका प्रतीक’, ‘साहसी आरोही’ र ‘प्रेरणाका स्रोत’ का रूपमा स्मरण गर्ने क्रम जारी छ । पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !