जनकपुरधाम : १ सय १५ वर्ष पुरानो ऐतिहासिक जानकी मन्दिर विश्व सम्पदा सूचीमा अटाउन संघर्षरत छ।मुगल, राजपुताना र मिथिला शैलीमा निकै आकर्षक रूपमा निर्माण गरिएको मिथिला संस्कृतिको जीवन्त सम्पदाको रूपमा प्रख्यात रहेको यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन एक दशकदेखि प्रयास भइरहेका छन्। तर, तीनवटै तहका सरकारको दृढ इच्छाशक्तिको अभाव र मन्दिर व्यवस्थापन पक्षको लापरबाहीका कारण यो मन्दिर विश्व सम्पदामा सूचीकृत हुन सकेको छैन।
वर्तमान सरकारले यस विषयमा तदारुकता देखाउँदै जानकी मन्दिरलाई विश्व सम्पदामा अटाउन प्रक्रियागत कामहरू अघि बढाएको छ।जसअन्तर्गत पहिलो चरणमा मन्दिरसहित वरिपरिको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, दोस्रो चरणमा स्थानीय तहले यसको स्वामित्व कुन आधारमा ग्रहण गर्ने भन्ने विषयमा टुंगो लगाएर केन्द्रमा पठाइने र तेस्रो चरणमा पुरातत्व विभागले यसका आवश्यक कागजातहरू संकलन गरी प्रक्रिया पुर्याएपछि सरकारले विश्व सम्पदा केन्द्रमा सबै प्रमाण बुझाउने तयारी गरेको छ।त्यसपछि विश्व सम्पदा समितिले यसलाई सूचीकरण गर्ने वा नगर्ने निर्णय गर्नेछ।
पहिलो चरणअन्तर्गत जानकी मन्दिरसहित आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने तयारी सुरु भएको छ।पुरातत्व विभागले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न औपचारिक रूपमा प्रक्रियासमेत अघि बढाएको छ। संरक्षित स्मारक क्षेत्र घोषणाका लागि शिवमन्दिरदेखि, राममन्दिर, सोनारपट्टी हुँदै जनक चौकदेखि, शिवचौक हुँदै तेलहामडहा पोखरी, अंगराजसर पोखरी हुँदै बाह्रबिघासम्मको क्षेत्रलाई पहिलो चरणमा संरक्षित स्मारक क्षेत्रमा ल्याइने जनाएको छ।‘हिन्दूधर्मावलम्बीहरूको आस्थाको केन्द्र यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा हामी लागिपरेका छौं जसको पहिलो चरणमा संरक्षित स्मारक क्षेत्र घोषणाका लागि काम अघि बढेको छ,’ जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले अन्नपूर्णसँग भने, ‘केही विवाद र समस्याहरूले गर्दा अघि बढ्न सकेका थिएनौं तर, अहिले केन्द्र सरकारको तर्फबाट पनि निकै सहयोगी भूमिका पाएका छौं र आफ्नो सांस्कृतिक विरासतलाई जोगाउन र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन निरन्तर काम गरिराखेका छौं।’
संरक्षित स्मारक क्षेत्र भन्नाले ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक वा कलात्मक महत्व बोकेका प्राचीन स्मारक, मन्दिर, देवालय, स्तुप आदि रहेको स्थानलाई सरकारले ऐनबमोजिम संरक्षण गर्न तोकेको निश्चित भूभाग वा क्षेत्रलाई जनाउँछ।प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार यस्तो क्षेत्रको चार किल्ला तोकेर विशेष संरक्षण गरिन्छ। संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुको मुख्य उद्देश्य स्मारकहरूको मौलिक स्वरूप जोगाउनु, प्राचीन वस्तुहरूको संरक्षण गर्नु र वरपरको वातावरणलाई स्मारक अनुकूल राख्नु हो भने यस्तो क्षेत्रभित्र जथाभावी घर बनाउन, मर्मत गर्न, पुनर्निर्माण गर्न वा स्मारकको स्वरूप बिग्रिने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था छ। कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने प्रावधान रहेको छ। मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि हालै मात्रै युनेस्को र पुरातत्व विभागको आयोजनामा काठमाडौंमा एउटा बैठकसमेत सम्पन्न भएको छ।
‘यस विषयलाई लिएर पटक–पटक आवाज उठे पनि यो चुनावी एजेन्डा मात्रै बन्ने र पछि बिर्सिँदै प्राथमिकतामा नपर्ने अवस्था रहिआएको छ,’ धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा भन्छन्, ‘जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजानका लागि प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ।यसका लागि सरकार अलि कडाइका साथ प्रस्तुत हुने तयारी पनि गरेको छ।किनभने जानकी मन्दिर क्षेत्रमा रहेको बजारीकरण, सहरीकरण र बसोबासलाई पहिला व्यवस्थित गर्नुपर्ने हुन्छ।
मन्दिरको वरिपरि जग्गा अधिग्रहण गरिएका छन्।अवैद्य रूपमा निर्माण गरिएका संरचनाहरू हटाउनुपर्ने हुन्छ।स्थानीय तहले यसमा विशेष भूमिका निर्वाह गर्नु पर्छ।र, यदि सबैको सामूहिक सहयोग भयो भने अवश्य नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुनेछौं।’
मिथिला संस्कृति र सभ्यताको विरासत जानकी मन्दिर
१८औं शताब्दीको पूर्वाद्र्धमा महात्मा सुरकिशोर दास र चतुर्भुज गिरी जनकपुर आएका थिए।इतिहासकारहरूका अनुसार यी दुई महात्माको आगमनभन्दा पहिला यो क्षेत्र जंगल थियो।फाट्टफुट्ट वस्ती भए पनि यहाँ गुफा र कन्दरामा साधुसन्तहरू बस्थे।महात्मा सुरकिसोर दासले एउटा निमको रूखमुनि टहरा बनाएर बास बस्न थाले।एक रात महात्माले सपनामा सो रूखको मुनि राम, सीता र लक्ष्मणको प्रतिमा रहेको देखे।
किंबदन्तीहरूअनुसार अहिले जहाँ जानकी मन्दिर अवस्थित छ पहिला त्यहाँ निमको रूख थियो र त्यसकै मुनि मूर्तिहरू भेटिएका थिए।सुरकिशोरले ती प्रतिमाहरूलाई टहरामा राखेर पूजाअर्चना गर्न थाले।जानकी मन्दिरका वर्तमान महन्थ रामतपेश्वर दासका अनुसार जानकी मन्दिरको सिंहासनमा तिनै तीनवटा मूर्ति विराजमान छन्।
सुरकिशोर दास र चतुर्भुज गिरीले माता सीतालाई छोरीको रूपमा अपनाएर उनको पूजापाठ गर्न थाले। पछि यस क्षेत्रको प्रचार हुन थाल्यो । मकवानपुरका राजा इन्दुविधाता सेनले रामसीताको पूजा अर्चना, भोगराग र साधु सेवा चलाउनका लागि तत्कालीन महन्थ चतुर्भुज गिरीलाई सन् १७०७ मा १ हजार ४ सय ५० बिघा जग्गा दान दिएका थिए।त्यसै जग्गामा बस्यो आधुनिक जनकपुर।
रामजानकीको पूजाअर्चनाले राम्रो फल प्राप्ति हुन थालेपछि देश–विदेशका राजा महराजाहरू जनकपुर भाकल गर्न आउन थाले। सोही क्रममा भारत मध्यप्रदेश टिकमगढस्थित ओरछा नरेश महाराज प्रताप सिंह रानी वृषभानु कुंवरिसहित रामजानकी मन्दिर आएका थिए। उनले सन्तान प्राप्तिको कामना गरे।यदि सन्तान सुख प्राप्त भयो भने भव्य मन्दिर बनाउने भाकल रानीले गरिन्।माता जानकीको अनुकम्पाले वृषभानु कुँवरले छोरा पाइन् र त्यसपश्चात उनी फेरि जनकपुर आएर सन् १८९६ (वि.स.१९५२ माघ २८ गते) जानकी मन्दिरको शिलान्यास गरिन्।इतिहासकार शिवेन्द्रलाल कर्णका अनुसार, जानकी मन्दिरका १२औं महन्थ रामकृष्ण दासको कार्यकालमा ११ फरवरी १९११ (वि.सं.१९६७ साल माघ २८ गते ) मन्दिरको उद्घाटन गरिएको थियो।
सो बेला मन्दिर निर्माणमा ९ लाख रुपैयाँ खर्च भएको किंवदन्ती छ। सोही कारणले जानकी मन्दिरलाई नौलख्खा मन्दिर पनि भनिन्छ।४१ हजार ५ सय ५५ वर्गफिट क्षेत्रफलमा फैलिएको मन्दिर ५० फिट अग्लो रहेको छ। जसमा सानाठूला गरी ६० वटा कोठा छन्। महन्थको आवास र बैठक कोठालाई शीषमहल भन्ने गरिन्छ। क्षेत्रफलको आधारमा जानकी मन्दिर नेपालकै सबैभन्दा ठूलो मन्दिर रहेको छ। मुगल र राजपुताना शैलीमा निर्मित जानकी मन्दिरमा मिथिलाको वास्तुकलाको प्रयोग भएको कुरा यसको मुख्य प्रवेशद्वारको माथि गणेश र माछाको तस्बिर भएको तथ्यले प्रमाणित गर्ने गरेको ‘जनकपुरधामके इतिहास’ नामक पुस्तकमा उल्लेखित छ।मन्दिरको पूजाआजा, प्रसाद र पर्वतिहार सबै मिथिला संस्कृति अनुसारनै गरिन्छन्।
जानकी मन्दिरमा माता सीतालाई छोरी र भगवान् रामलाई ज्वाइँसरह व्यवहार गरिन्छ र सोहीअनुसारको परम्परासमेत निर्वाह गर्दै आइएको छ।‘यहाँ छोरीज्वाइँलाई मिथिलामा जसरी आदर र सत्कार गरिन्छ हामी त्यसरी नै भगवान् सीतारामको आदर सत्कार गर्छौं,’ महन्थ रामतपेश्वर दास वैष्णव भन्छन्, ‘बिहानको भोग खीरको लगाइन्छ। नित्य चुरादही, चिनी र पेंडाको भोग मन्दिरमा लाग्छ। मध्याह्नमा दालभात, तरकारी, तरुवा, भुजुवा र दहीको भोग लाग्छ भने बेलुका फलफूल मेवा र रातिको भोजनमा मिथिला परिकारहरू भगवान्को भोजनमा सजाउने गरिन्छ।यहाँ मनाइने उत्सवहरू विवाहपञ्चमी, जानकी नवमी, रामनवमी, झुला महोत्सव सबै मिथिला संस्कार र संस्कृतिअनुसार नै हुन्छन्।’
मन्दिर व्यवस्थापनमा मनमौजीले सम्पदालाई जोखिम
विश्व सम्पदामा सूचीकृत गराउन पहिलो सर्तनै सम्पदाको मौलिकतामा कुनै किसिमको प्रभाव नपार्नु हो।तर, जानकी मन्दिरलाई पछिल्लो समय यसका व्यवस्थापकहरूबाटै चुनौती भएको छ।पुरातत्व विभागको सल्लाह बिनानै मन्दिर परिसरमा निर्माण कार्य गर्ने, अवैज्ञानिक मर्मतसम्भार गर्ने जस्ता क्रियाकलापहरूले गर्दा मन्दिरको सौन्दर्यलाई प्रभावित गर्ने काम भएको छ। वि.सं:. २०७५/०७६ सालमा मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले स्वच्छता अभियान सुरु गरेका थिए।सोही अभियानअन्तर्गत ८ करोड रुपैयाँको लागतमा मन्दिरको भित्री र बाहिरी भागमा मार्बल र ग्रेनाइट जडान गर्ने काम भयो र तीनवटा मुख्यद्वारहरू पुनर्निर्माण तथा ढल निकासको काम गरियो।तर, सो बेला जडान गरिएका टायल, मार्बल र ग्रेनाइटहरू कमसल एवं गुणस्तरयुक्त नहुँदा ठाउँ–ठाउँमा फुटेर निकै कुरुप बनेका छन्।
यसअघि मन्दिरको बाहिर इँटाको खरन्जा जडान गरिएको थियो जसले गर्दा खाली खुट्टा हिँडदा पनि शीतल हुन्थ्यो। तर, खरन्जा उप्काएर लगाइएका सेता मार्बलले खाली खुट्टा मन्दिर प्रवेश गर्नेका लागि चिसोमा अत्याधिक चिसो र गर्मीमा खुट्टानै पोल्ने खालको समस्या निम्त्याउने गरेको छ।‘प्रदेश सरकारले गुणस्तरहीन काम गरेको भनेर पटक–पटक आवाज उठाएका थियौं तर, सम्बन्धित निकायहरूले कुनै सुनवाइ नै गरेन,’ जनकपुरका युवा अभियन्ता सरोज मिश्र भन्छन्, ‘एकातर्फ मन्दिरलाई विश्व सम्पदा सूचीमा लग्ने माग हामी जनकपुरवासीले गरिरहेका छौं।अर्कोतर्फ पुरातात्वीक महत्वलाई ख्यालनै नगरी निर्माणहरू गराइयो यसले मन्दिरलाई क्षति पुर्याएको छ।’
एकातर्फ प्रदेश सरकारले पुरातात्विक महत्व र मौलिकताको ख्यालै नगरी जानकी मन्दिरमा निर्माण गरायो भने अर्कोतर्फ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले २०७६ वैशाख २ गते ११ करोड ७४ लाख ४९ हजार रुपैयाँ खर्चेर मन्दिरमा विद्युतीकरणको काम गर्यो। जसअन्तर्गत परिषद्ले मन्दिरमा २ सय ४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ थान, सोलार स्ट्रिट लाइट १६ थान, स्ट्रिट लाइट ४८ वटा, स्पिकर ६४ वटा, ३० केभिएको स्टेपलाइजर र युपीएसलगायतको सामग्री जडान गरेको थियो। बत्ती जडानको क्रममा मन्दिर भरी ड्रिल गरियो र मन्दिरका पर्खाललाई क्षति पुर्याउने काम गरियो।यसले पनि मन्दिरको मौलिकतामा प्रभाव पारेको हो।मन्दिरमा प्रत्येक दिन भेटी र उपहारहरू श्रद्धालु भक्तजनहरूले चढाउने गरे पनि आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक नगर्ने व्यवस्थापकले नत मन्दिरको सरसफाइमा ध्यान दिएका छन् नत मन्दिरको संरक्षणमा नै।
विश्व सम्पदामा परे विकास र समृद्धिको बाटो खुल्छ
मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन भोर नामको संस्थाले अभियाननै चालेको थियो।सन् २००८ मा पुरातत्व विभागले मन्दिरलाई युनेस्कोमा ‘टेन्टेटिभ लिस्ट’ मा दर्ता गराएको थियो।तर, त्यसपछि २०१४ सम्म सरकारले यस विषयमा खासै पहल नै गरेन। राष्ट्रिय गौरवको रूपमा रहेको मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउन औपचारिक रूपमा १५ असोज २०७१ देखि भोर नामक संस्थाले हस्ताक्षर अभियाननै सुरु गर्यो।सरकारमाथि दबाव सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानका लागि अनलाइन हस्ताक्षरको समेत व्यवस्था गरिएको थियो।‘त्यसबेला ७७ वटै जिल्लाका नागरिकका साथै भारत, बंगलादेश, कतार, अमेरिका, बेलायत, दुबई, पाकिस्तान, श्रीलंका, कोरिया, फ्रान्सलगायतका विभिन्न देशका नागरिकहरूले हस्ताक्षर गरेका थिए।
अभियानप्रति जनसमुदायको चासो र ऐक्यबद्धता तीव्र रूपमा वृद्धि भएको थियो र फलस्वरूप विभिन्न जिल्लाहरूमा स्वतःस्फूर्तरूपमा हस्ताक्षर अभियान सञ्चालन भएको थियो,’ भोरका संयोजक राजकुमार महतो भन्छन्, ‘५५ हजारभन्दा बढी मानिसहरूको हस्ताक्षर सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागलाई ४ भदौ ०७२ मा हस्तान्तरण गरेका थियौं।’ उक्त दबाबमूलक काम पछिनै त्यसबखत युनेस्कोको विश्व सम्पदा सूची केन्द्रको कार्यविधिअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रूपमा सूचीकृत गराउन नोमिनेसन फाइल तयार पारी पेस गर्न विभागले लिखित प्रतिबद्धता पत्र अभियानलाई प्रदान गरेको थियो।
‘विश्व सम्पदा सूचीमा जानकी मन्दिर सूचीकृत भयो भने यसले मात्रै मिथिला र यस क्षेत्रका बासिन्दाका लागि नभई सम्पूर्ण मैथिल संस्कृति, रामायणकालीन सभ्यता र ऐतिहासिकतालाई सम्बद्र्धन गर्नेछ,’ परराष्ट्रविद् तथा विश्व सम्पदा समन्वय समितिका सदस्य डा. रामबाबु ढकाल भन्छन्, ‘वैश्विक विशिष्ट मूल्य मान्यताको सम्पदा भयो भने मात्रै त्यसलाई विश्व सम्पदा सूचीमा राखिन्छ र हाम्रो दाबी के छ भने यस मन्दिरले मिथिला संस्कृतिसँग जोडिएको कुरा विश्वकै लागि विशिष्ट मूल्य मान्यता राख्छ।
यो विश्व सम्पदा सूचीमा सूचीकृत भयो भने राष्ट्रकै गरिमालाई समेत बढाउँछ र देशकै पहिचानलाई थप बल दिन्छ।यो स्थान आफैं प्रचार–प्रसारमा आउँछ।युनेस्कोले यसलाई आफ्नो नक्सामा राखेर विश्वभरी प्रचार गर्छ र पर्यटकीय दृष्टिकोणले यहाँ आउनुपर्ने स्थान भनेर तोकिन्छ।र यो क्षेत्रमा पर्यटकीय प्रबद्र्धन र आयआर्जनको नयाँ बाटोहरू खुल्ने छ। यसका साथै हाम्रो सांस्कृतिक धरोहरको संरक्षण सम्बद्र्धनका लागि पनि लगानीको बाटो खुल्छ तसर्थ जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन सबैको ऐक्यबद्धता हुनु आवश्यक छ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृतत गर्न ठोस प्रतिबद्धता व्यक्त गर्नुपर्ने जरुरी छ।यसका लागि सरकारले पनि अलि कडाइका साथ प्रस्तुत हुने तयारी गरेको छ।किनभने जानकी मन्दिर क्षेत्रमा रहेको बजारीकरण, सहरीकरण र बसोबासलाई पहिला व्यवस्थित गर्नुपर्ने हुन्छ। मन्दिरको वरिपरि जग्गा अधिग्रहण गरिएका छन्। अवैद्य रूपमा निर्माण गरिएका संरचनाहरू हटाउनुपर्ने हुन्छ। स्थानीय तहले यसमा विशेष भूमिका निर्वाह गर्नुपर्छ। र, यदि सबैको सामूहिक सहयोग भयो भने अवश्य नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुनेछौं।

मनिष झा
प्रतिनिधिसभा सदस्य,
उपमहानगरपालिका केही विवाद र समस्याहरूले गर्दा अघि बढ्न सकेका थिएनौं। तर, अहिले केन्द्र सरकारको तर्फबाट पनि निकै सहयोगी भूमिका पाएका छाैं। सांस्कृतिक विरासतलाई जोगाउन र जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन निरन्तर काम गरिरहेका छौं।

मनोज साह
नगरप्रमुख, जनकपुरधाम
विश्व सम्पदा सूचीमा सूचीकृत भयो भने राष्ट्रकै गरिमा बढाउँछ। देशकै पहिचानलाई थप बल दिन्छ। युनेस्कोले यसलाई आफ्नो नक्सामा राखेर विश्वभरि प्रचार गर्छ र पर्यटकीय दृष्टिकोणले घुम्नुपर्ने गन्तव्यको रूपमा सूचीकृत गर्छ।त्यसपछि क्षेत्रमा पर्यटकीय प्रवर्द्धन र आयआर्जनका नयाँ बाटोहरू खुल्ने छन्।यसका साथै सांस्कृतिक धरोहरको संरक्षण सम्बद्र्धनका लागि पनि लगानीको बाटो खुल्छ।तसर्थ जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबैको ऐक्यबद्धता जरुरी छ।
डा. रामबाबु ढकाल
परराष्ट्रविद् तथा विश्व सम्पदा समन्वय समितिका सदस्य
प्रतिक्रिया दिनुहोस !