इजरायलको बेन गुरियन विमानस्थलमा ओर्लनेबित्तिाकै मेरो मनमा एउटै कौतूहल थियो– ‘जुन देशको आधाभन्दा बढी जमिन मरुभूमि छ, उसले कसरी आफूलाई विश्वकै आधुनिक राष्ट्रको सूचीमा उभ्यायो होला ?’
बेन गुरियन विमानस्थलमा ओर्लनेबित्तिकै मेरो मनमा एउटै कौतूहल थियो। ‘जुन देशको आधाभन्दा बढी जमिन मरुभूमि छ, उसले कसरी आफूलाई विश्वकै आधुनिक राष्ट्रको सूचीमा उभ्यायो होला ?’ तेल अभिभका गगनचुम्बी भवनहरू पार गर्दै जब म दक्षिणको नेगेभ मरुभूमितर्फ लागें, विकासको वास्तविक परिभाषा त्यहाँ देख्न पाएँ।
बाटोभरि देखिने चिल्ला र फराकिला सडकहरूले इजरायलको कनेक्टिभिटीलाई झल्काउँथे। अन्नपूर्ण पोस्ट् दैनिकमा विकास विशेषांकमा ‘सडक सञ्जाल’बारे नेपालको सन्दर्भ लेखेको चित्र ती सडकले सम्झाए। तर, मेरो ध्यान सडकभन्दा बढी सडकको छेउमा रहेका खैरो र सुक्खा पहाडका बीचमा लहरै मिलेका हरियालीले खिच्यो। यो कुनै प्राकृतिक चमत्कार थिएन, बरु इजरायली प्रविधिको उपज थियो। ‘थोपा सिँचाइ’ (ड्रप इरिगेसन)को माध्यमबाट बालुवामा पनि अंगुर र खजुरका लहलहाउँदा बगानहरू देख्दा लाग्यो— यहाँ प्रविधिले प्रकृतिलाई जितेको होइन, प्रकृतिसँग सहकार्य गर्न सिकेको छ।
परिक्रमा लोभलाग्दो विकासको
समुद्रको नुनिलो पानीलाई पिउने योग्य बनाउने ‘डिसालिनेसन’ प्लान्टहरू देख्दा अर्को पाटो प्रस्ट भयो— विकास भनेको अभावलाई अवसरमा बदल्नु रहेछ। तेल अभिभको सिलिकन वादीमा देखिने स्टार्टअप कल्चर र गगनचुम्बी आधुनिक संरचनाहरूले इजरायललाई ‘स्टार्टअप नेसन’को पहिचान दिएका रहेछन्। तर, यो भौतिक चमकधमकका बीच पनि उनीहरूले आफ्ना पुराना ऐतिहासिक गल्ली र सांस्कृतिक सम्पदालाई जसरी जगेर्ना गरेका छन्, त्यो साँच्चै लोभलाग्दो छ।
इजरायलको पहिलो यात्राले महत्वपूर्ण यथार्थ महसुस गरायो— विकास केवल सिमेन्ट र रडको थुप्रो होइन। यो त मानिसको दूरदर्शिता, कडा मिहिनेत र प्रविधिको सही प्रयोगको योगफल हो। मरुभूमिलाई त स्वर्ग बनाउन सकिन्छ भने अपार जलस्रोत र उर्वर भूमि भएको हरियाली मेरो देश नेपालमा विकासको सम्भावना कति होला ? त्यो मरुभूमिमा हरियाली अनि स्वर्गजस्तो नेपाल सम्झिएर मेरो मथिंगल त्यो यात्राको साताभरि सल्बलाइरह्यो। इजरायलको यो भौतिक रूपान्तरण केवल एउटा यात्रामात्र थिएन, मेरा लागि एउटा ठूलो सपनाको झिल्को पनि थियो।
मरुभूमिमा प्रविधिको चमत्कार
सर्वोच्च शिखरबाट समुद्रमुनिको यात्रा सुरु भयो। सगरमाथाको देशबाट हामी मृतसागरमा पुग्यौं। इजरायल मरुभूमिमा फुलेको आधुनिक फूल हो। जहाँ प्रविधिले सुक्खा बालुवामा सुन फलाएको रहेछ। नत्र कसरी प्रतिव्यक्ति आय ५८ हजार ५ सय अमेरिकी डलर पुग्छ त्यहाँ ? संस्थापक बेन गुरियनले मरुभूमि ब्युँझाउने अठोट गरेका थिए जहाँ। यो चमत्कार तब छर्लंग भयो, जब मसहित १९ पत्रकारको टोली २०८२ साउनमा इजरायल पुग्यौं।
झन्डै दुई साताको अस्ट्रेलिया भ्रमणपछि यो यात्रा तय भयो। इजरायलको परराष्ट्र मन्त्रालयको एक विशेष निम्तो थियो। नेपालका लागि इजरायली राजदूत स्यामुअल ए. बासबाट इमेल आयो, ‘अन बिहाफ अफ द मिनिस्ट्री अफ फरेन अफेयर्स अफ इजरायल’ भन्दै। लेखिएको थियो, ‘२–९ अगस्टका लागि स्पेसल डेलिगेसन अफ जर्नालिस्टस् फ्रम नेपाल फर एन एक्स्पोजर भिजिट टु इजरायल।’ यसरी एक साता लामो भ्रमण तय भएको थियो, इजरायलको।
अगस्ट दुईदेखि भ्रमणको तालिका सुरु भयो। विकासको त्यो लोभलाग्दो प्रतिविम्ब हामीले देख्यौं। मृतसागर समुद्र सतहभन्दा निकै तल छ, ४ सय ३० मिटर गहिरो भूभागमा। इजरायलले भूगोललाई ‘बुद्धिको दास’ बनाएको महसुस भयो। ‘असम्भव केही छैन’ भन्ने सन्देश त्यहाँ पायौं। प्रविधि र गहिराइ (डेड सी)ले पूरै संसार तानेको छ। नुनिलो पानीमा तैरिँदा दिव्य अनुभूति भयो। मानौं, सगरमाथा र मृतसागरबीच मितेरी साइनो गाँसिएको छ। यो यात्रा भूगोलको होइन, प्रगतिको हो।
स्टार्टअप नेसनको आर्थिक मेरुदण्ड
तेल अभिभइजरायलको जीवन्त धड्कन हो। यो सहर कहिल्यै निदाउन जान्दैन। सिलिकन वादीमा सपनाहरूको ठूलो उद्योग छ। ‘सिलिकन वादी’ इजरायलको उच्च प्रविधि क्षेत्रलाई दिइएको एउटा विशेष उपनाम हो। सिलिकन वादी इजरायलको बौद्धिक सम्पत्ति, आविष्कार र आर्थिक समृद्धिको मुख्य इन्जिन हो। जसरी अमेरिकामा प्रविधिको केन्द्रलाई ‘सिलिकन भ्याली’ भनिन्छ, त्यसैको सिको गर्दै इजरायलको प्रविधि हबलाई ‘सिलिकन वादी’ भनिएको हो।
‘सिलिकन’ प्रविधिमा प्रयोग हुने तत्व हो भने ‘वादी’ अरबी शब्द हो, जसको अर्थ ‘उपत्यका’ वा ‘नदीको किनार’ भन्ने बुझिन्छ। हिब्रु र अरबी दुवै भाषामा यो शब्द चल्तीमा रहेछ। यो विशेषगरी तेल अभिभ र यसको वरपरको क्षेत्रमा फैलिएको छ। हाइफा र जेरुसेलमका केही भाग पनि यसैअन्तर्गत पर्छन्। जहाँ संसारका दिग्गज प्रविधि कम्पनीहरू (जस्तैः इन्टेल, गुगल, एप्पल, माइक्रोसफ्ट आदि)का अनुसन्धान केन्द्रहरू छन्। इजरायललाई ‘स्टार्टअप नेसन’ बनाउनुमा यही सिलिकन वादीको सबैभन्दा ठूलो हात रहेको पाइयो।
इजरायलमा १० हजारभन्दा बढी स्टार्टअप छन्। प्रविधि यहाँको सबैभन्दा ठूलो निर्यात हो। ६ हजार कम्पनीले युवालाई रोजगारी दिए। जाँगरिलो सहरले समृद्धिको नयाँ पाठ सिकायो। यहाँको प्रतिव्यक्ति आय निकै उच्च छ। वार्षिक ५८ हजार ५ सय डलर आम्दानी छ प्रतिव्यक्ति। नेपालको १५ सय डलर पनि छैन। कुल निर्यातमा आधा हिस्सा स्टार्टअपकै छ। जीडीपीमा प्रविधिको हिस्सा २० प्रतिशत छ। जहाँ तथ्यांकले समृद्धिको सुन्दर कथा सुनाइरहेछ।
अनुसन्धान र प्रविधि नै उत्कृष्टताको जग
अनुसन्धान नै विकासको वास्तविक जग हो। इजरायल शिक्षामा विश्वकै पाँचौं स्थानमा छ। साइबर सुरक्षाको ठूलो हिस्सा यहीँबाट जान्छ। सरकारले बजेटको ठूलो अंश अनुसन्धानमा दिन्छ। विद्वान् भन्छन्, ‘ज्ञान नै शक्ति हो।’ इजरायलले यही ज्ञानलाई पुँजीमा बदल्यो। नत्र तिनमा यो आत्मविश्वास कसरी जन्मन्थ्यो र ?
बौद्धिक पुँजी नै यहाँको असली शक्ति रहेछ। विश्वविद्यालयहरू नवप्रवर्तनका जीवन्त पाठशाला हुन्भन्दा अत्युक्ति नहुने रहेछ। तथ्यांक वैज्ञानिक (डाटा साइन्टिस्ट)को जमातले भविष्य कोर्ने रहेछ। त्यसैले अत्याधुनिक सफ्टवेयर मौलिक उपहार बनाइएको छ विश्वलाई। हार्वर्ड र अक्सफोर्डका प्राध्यापक त्यहाँ भेटिए। प्रविधिले इजरायलको भविष्यलाई चम्काएको छ। विकासको यो गति निकै तार्किक पनि देखियो, बुझियो अनि भोगियो।
मरुभूमिमा कृषिको चामत्कारिक रूपान्तरण
मरुभूमिमा कृषिको चामत्कारिक रूपान्तरण देखिन्छ, जब तपाईं त्यहाँको भूमि टेक्नुहुन्छ। थोपा सिँचाइ विश्वमै एउटा पृथक अवधारणा। जसले बालुवामा प्राण भरिदिएको पायौं। थोपा–थोपा पानीले त्यहाँ सुन फलाउँदो रहेछ। सिर्जनाको ऊर्जा सुक्खा बालुवामा फैलिएको छ। यो प्रविधि नेपालका लागि अनुकरणीय छ। इजरायलले प्रकृतिको अभावलाई शक्तिमा बदल्यो। नेपाल भएको प्रकृतिलाई पनि समेट्न सकिरहेको छैन।
९५ प्रतिशत फोहोर पानी पुनः प्रशोधन हुन्छ इजरायलमा। पानी व्यवस्थापनमा इजरायल विश्वमै उत्कृष्ट रहेछ। नत्र कसरी बाँच्थे इजरायली नागरिक त्यो मरुभूमिमा ? जबकि सिंगापुर छिमेकी देश मलेसियाको भरमा छ पिउने पानीका लागि। नुनिलो पानीलाई इजरायल पिउने बनाउँछ र पिलाउँछ नागरिक र पाहुनालाई। जुन काम सिंगापुरले सकेको छैन। समुद्रको पानीले मान्छेको तिर्खा मेटाउने देश रहेछ इजरायल। प्रविधि र प्रकृतिको यो गजब मेल हो। विकासको यो नमुना अत्यन्तै प्रभावकारी लाग्यो।
युद्धको भुंग्रोमा छ र त सुरक्षा संयन्त्र नै राष्ट्रिय संकल्पमा छ
इजरायलको भूमि केही दशकदेखि युद्धको भुंग्रोमा छ। यसको सुरक्षा संयन्त्र निकै अभेद्य छ। नागरिकको मुटुमा देशप्रेमको दियो बल्छ। १८ वर्षे ठिटाहरू हतियार बोकेर हिँड्छन्। राइफल, ग्रिनेड र साहस उनीहरूको मुख्य पहिचान हो। जो सडक सडकमा देशको सुरक्षाका लागि खटिएका देखिन्छन्। यो नै यहाँको अस्तित्वको बलियो आधार हो। गोल्डा मेयर भन्थिन्, ‘हामीसँग विकल्प छैन।’ सुरक्षाको यो पर्खाल निकै बलियो देखिन्छ।
७ अक्टोबर २०२३ ले देशको छाती नराम्ररी चिथोरेको देख्यौं, जब त्यहाँका हरेक भूगोल पुग्यौं। हमासको आक्रमणले मानवतालाई नै लज्जित बनाएको पायौं, जब १० नेपाली दाजुभाइको रगत त्यहाँ मिसिएको आँखाले देख्यौं। विपिन जोशीको वियोगले मुटु छियाछिया बनायो, जब उनी कार्यरत कम्पनीका मालिकले हामीलाई त्यो नरसंहार घटनाको सप्रसंग व्याख्या गरेर भूगोल देखाए। बंकरहरू इजरायलका हरेक घरका अभिन्न अंग भएको थाहा पाउँदा मुटु थरर भयो। विकाससँग नागरिक सुरक्षा जोडिएको थियो। २३ अक्टुबर ७ को हरेक घटनास्थल पुग्यौं। नेपालीको साहसले आफ्नोमात्र होइन, धेरैको ज्यान जोगिएको थाहा पाउँदा ‘वीर गोर्खाली’को साहस अझै उच्च रहेको अनुभूत भयो।
जेरुसलाम अझै जीवन्त जेसस : इतिहासको ज्युँदो दस्तावेज
जेरुसलाम तीन धर्मको पवित्र संगम रहेछ। वेस्टर्न वाल विश्वप्रसिद्ध ठाउँ। जहाँ आस्थाका स्वरहरू सुनिन्छन्। यहुदी, मुस्लिम र इसाइसँगै भेटिए। त्यो अद्भुत संगमले विश्वलाई धार्मिक मिलापको पाठ सिकाइरहेको रहेछ। त्यसैले सायद त्यो सहरलाई इतिहासको ज्युँदो दस्तावेज भनिएको हुनुपर्छ। सुरुङभित्र शताब्दीयौं पुराना कथाहरू जीवितै भेटिए, युद्धभूमिमा यसरी जुन जोकसैले जोगाएर राख्दैन, सक्दैन। ती भित्ताको निर्माण अद्भुत छ। आस्थाको यो ज्योति कहिल्यै निभ्ने छैन। विद्वान् भन्छन्, ‘जेरुसलाम विश्वको आध्यात्मिक मुटु हो।’ हो रहेछ साँच्चै! जहाँ ढुंगाढुंगामा पुराना कथाहरू कोरिएका छन्।
जिसस क्राइस्टको जन्म र मृत्यु यहीँ भयो। क्रिश्चियनका लागि यो भूमि अत्यन्तै पूजनीय छ। मन्दिर र चर्चका अवशेषहरू अझै देखिए जसको दृश्यावलोकनले हामी पनि जीवन्त भयौं। प्राचीन भूगोल लाग्यो जेरुसेलम जसमा आधुनिक जीवन सञ्चारित पायौं। इतिहासको भार प्रत्येक पाइलामा महसुस हुन्छ। जेरुसलामले युगौंदेखि सत्यको रक्षा गरेको छ। धर्म र संस्कृतिको त्यो अनुपम मेल हो। यति भएर पनि यो सहरले विश्वलाई शान्तिको पाठ सिकाइरहेछ।
याद वासेममा ६० लाखको आँसु र होलोकास्टको स्मृति
याद वासेममा ६० लाखको आँसुको कथा लेखिएको छ। हिटलर विश्वप्रसिद्ध नाम। जसको बर्बरताले संसारलाई नै रुवाउँछ, वासेममा हाम्रा आँसु पनि खसे अनि मन कैयौंपटक कुँडियो। एली विसेलले भनेका थिए, ‘बिर्सनु भनेको मार्नु हो।’ हामीलाई मजैले महसुस भयो कि संग्रहालयका भित्ताहरू मौन क्रन्दन गरिरहेका छन्। विगतको पीडा नै वर्तमानको शक्ति बन्यो इजरायलीका लागि। जहाँ मानवताविरुद्धको अपराध स्पष्ट देखियो।
वासेमभित्रका शब्द र तस्बिर जीवन्त छन्। स्मृतिमा अझै ती निर्दोष आत्माहरू जीवितै लाग्छन्।संग्रहालयले सहनशीलताको ठुलो पाठ सिकाएको पायौं। विगतको घाउले वर्तमानलाई झन् बलियो बनाएको बुझ्यौं। नरसंहारका कथाले जो कोहीलाई भावुक बनाउँछ। ‘इतिहास दोहोरिनु हुँदैन’ भन्ने त्यहाँको सन्देश हो। न्यायको खोजीमा इजरायल सधैं अडिग रहेको संग्रहालयका कर्मचारीको ‘ब्रिफिङ’ले छर्लंग पारिदियो। अध्ययनका लागि वासेम निकै महत्वपूर्ण छ। मानव अधिकारको रक्षा गर्नु सबैको कर्तव्य हो। वासेमको मौनताले ठूलो विद्रोहको कथा सुनायो हामी नेपालीलाई। न्यायका लागि त्यहाँका मानिसहरू सधैं लडिरहन्छन्।
कूटनीतिक सेतुमा बीपी कोइराला
सन् १९६० मा बीपीले इजरायल टेकेका थिए। नेपाल इजरायल चिन्ने पहिलो एसियाली मुलुक हो। यो मित्रताको जग बीपीले बसालेका हुन्। दुई देशबीच गहिरो र आत्मीय नाता छ। १९ पत्रकारले यो सम्बन्ध महसुस गरे। विश्वासको यो खम्बा निकै दरिलो छ। बीपीको दूरदर्शिताले यो मितेरी गाँसिएको हो। कूटनीतिक मर्यादामा नेपाल सधैं इमानदार रह्यो।
नेपालले इजरायललाई कठिन समयमा साथ दिएको थियो, जुन इजरायलले बिर्सिएको छैन भन्ने अनुभूति पटकपटकका सन्दर्भमा पायौं। भारत र चीनभन्दा पहिले नेपाल इजरायल पुगेको रहेछ। राजदूतावासहरूले यो सम्बन्धलाई कसिलो बनाएका छन्। दुई देशबीचको सहकार्य अझै बढ्नुपर्छ लाग्यो मलाई। यो सम्बन्ध विश्वासको एउटा बलियो खम्बा हो। कूटनीति भनेको दुई देशको मुटुको मिलन हो। बीपीको त्यो निर्णय आज इतिहास बनेको छ। सातापछि गहिरोसँग मनमा गढेको छ, नेपाल र इजरायल सधैं असल मित्र हुन्।
गोलन हाइटको सामरिक व्यथा
गोलन हाइटको यात्रा निकै चुनौतीपूर्ण थियो। तेल अभिभबाट १८२ किलोमिटर टाढा छ। सिरिया र लेबनानका सिमाना नजिकै देखिन्छन्। सुरक्षाका दृष्टिले यो ठाउँ निकै संवेदनशील छ। हिजबुल्लाका मिसायलहरू यहाँ बेलाबेला खसिरहन्छन्। बाह्र निर्दोष बालबालिकाले जहाँ ज्यान गुमाए, त्यो भूगोल टेक्यौं। आमाहरूको चीत्कार सुन्यौं, जसले मानौं वरिपरिका पहाडहरू अझै सँगै रोइरहेका छन्। लाग्छ, युद्धको छायाँले त्यहाँको आकाश छोपेको छ। यसका बाबजुद गोलन हाइट विकासलाई अँगालो मारिरहेछ।सामरिक दृष्टिकोणले त्यहाँका पहाड निकै महत्वपूर्ण छन्। सीमामा सेनाको निगरानी चौबिसैघण्टा हुन्छ। भूगोल विवादित भए पनि नियन्त्रण बलियो छ इजरायलको। शान्तिको पर्खाइमा त्यहाँका बस्तीहरू सुस्ताइरहेका थिए। सीमाको त्यो व्यथा बुझ्न निकै गाह्रो रहेछ। नेपालस्थित इजरायली दूतावासकी डीसीएम जनान वेवरले त्यहाँका दुःखका कथा सुनाइन्, ‘युद्धले निम्त्याउने घाउहरू निकै गहिरा हुन्छन्। शान्तिको खोजीमा गोलन सधैं कुरिरहेको छ।’
किबुज : सामूहिक विकासको नमुना
इजरायलको विकासमा किबुजको ठूलो भूमिका छ। ‘सबैका लागि एक, एकका लागि सबै।’ यो सिद्धान्तले यहाँको गाउँ बदलिएको छ। अचम्मै लाग्यो, सामूहिक खेती र साझा भान्छाको अभ्यास रहेछ। अल्बर्ट आइन्सटाइनले यो पद्धतिको प्रशंसा गरेको पाइन्छ। थिओडोर हज्र्ल भनेका थिए, ‘इच्छा भए सपना साकार हुन्छ।’ किबुजले इजरायललाई खाद्यान्नमा आत्मनिर्भर बनायो। जुन विकासको एक समाजवादी र सफल मोडेल हो।
भनिन्छ, मरुभूमिमा हरियाली किबुजकै कारण सम्भव भयो। यहाँका मानिसहरू कडा मिहिनेतमा विश्वास गर्छन्। प्रविधि र श्रमको यो सुन्दर संयोजन हो। नेपालले पनि यो सिकाइलाई अपनाउन सक्छ। सहकारीको सही रूप यहाँ देख्न पाइन्छ। गाउँको विकास नै राष्ट्रको असली विकास हो। जसको साक्षी इजरायल रहेछ। किबुजको जगमा आधुनिक इजरायल ठडिएको छ। यो पद्धतिले समानता र प्रगति सिकाउँछ।
- इजरायलबाट नेपालले धेरै कुरा सिक्न सक्छ। प्रविधिको प्रयोगले देशको अनुहार बदल्न सकिन्छ। मरुभूमिमा कृषि हुन्छ भने पहाडमा झन् हुन्छ। इच्छाशक्ति भए विकास सम्भव हुने देखियो। स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति नेपालमा चाहिन्छ। युवालाई देशमै रोक्ने यो उत्तम उपाय हो।
- सर्वोच्च शिखरबाट समुद्रमुनिको यात्रा सुरु भयो। सगरमाथाको देशबाट हामी मृतसागरमा पुग्यौं। इजरायल मरुभूमिमा फुलेको आधुनिक फूल हो। जहाँ प्रविधिले सुक्खा बालुवामा सुन फलाएको रहेछ। नत्र कसरी प्रतिव्यक्ति आय ५८ हजार ५ सय अमेरिकी डलर पुग्छ त्यहाँ ?
मृतसागरमा तैरिएको अनौठो अनुभव
डेड सी पुग्दाको अनुभव बयान गर्नै सकिन्न। सुन्दा तीन छक्क परेथें, यो समुद्रमा मान्छे कहिल्यै पनि डुब्दैन। समुद्रभित्र तैरिँदा थाहा भयो। नुनको जादुले शरीरलाई माथि उफार्छ। यो प्रकृतिको एक अनौठो उपहार हो। सगरमाथाको गर्व र मृतसागरको मर्म भेटियो। १९ पत्रकार समुद्रमा सँगै तैरिँदै थियौं। भूगोल र भावनाको यो सुन्दर संगम हो। नुनिलो पानीले शरीरमा नयाँ ऊर्जा दियो।‘हाइएस्ट पिक’बाट ‘लोवेस्ट प्लेस’सम्मको यात्रा थियो त्यो हाम्रो। प्रकृतिको यो विरोधाभास निकै सुन्दर छ। समुद्र पस्नुअघि दलिने गिलो माटोले शरीरको उपचार गर्दोरहेछ। समुद्रको सतहभन्दा निकै तल यो छ। मध्याह्नको घामले मरुभूमि निकै तातो थियो। पानीमा तैरिँदा ब्रह्माण्डको शक्ति महसुस भयो। मृतसागरले जीवनको एउटा नयाँ अर्थ सिकायो। प्रकृतिको काखमा हामी सबै बराबर छौं।
विकासको एउटा नयाँ दिशा
इजरायल यात्राले मेरो सोच नै बदलिदियो। अभावलाई कसरी शक्तिमा बदल्ने भन्ने जब त्यहाँ पुग्दा देखें। बालुवामा सुन फलाउने कला इजरायलसँग छ। प्रविधि र राष्ट्रवादको यो अनुपम उदाहरण हो। नेपालले इजरायलबाट धेरै कुरा सिक्न सक्छ। विकास भनेको केवल संरचनामात्र होइन। यो त मानिसको बलियो इच्छाशक्ति पनि हो। दशकौं लामो युद्धका बाबजुद इजरायल एउटा ज्युँदो र जाग्दो राष्ट्र हो।
मरुभूमिबाट सुरु भएको यात्रा सफल भयो। प्रविधिको उज्यालोले यहाँको भविष्य सुन्दर छ। हाम्रो त्यो यात्रा भूगोलको मात्र होइन, ज्ञानको भोक मेट्ने बौद्धिक पनि भयो। इजरायलको माटोले मिहिनेतको सुगन्ध दिन्छ। हामीले देखेको यो विकास साँच्चै लोभलाग्दो छ। यो देशले विश्वलाई नै चुनौती दिएको छ। सगरमाथाको देशले यो मित्रता सधैं जोगाउँछ। इजरायल सधैं मेरो मानसपटलमा रहनेछ।
विपिन जोशी र बन्दीको पीडा
अलुमिममा विपिन जोशीको सम्झना ताजा छ। ७ अक्टोबरको त्यो बिहान निकै क्रूर थियो। नेपाली विद्यार्थीले अकल्पनीय पीडा भोग्नुपर्यो। विपिनको अपहरणले सिंगो नेपाल रोएको थियो। उनी फर्किने आसले करिब दुई वर्ष बिते पनि आँखा ओभानो हुन सकेन। न्यायको याचनामा हाम्रो स्वर मिसिएको छ। बंकरभित्र लुक्दा पनि विपिन जोगिन सकेनन्, उनलाई छोडेनन्।आतंकवादीले उनलाई अज्ञात सुरुङमा पुर्याए। स्डेरोटका सडकमा अझै गोलीका दाग छन्। १० नेपालीको बलिदान इजरायलले बिर्संदैन। विपिनको रिहाइ हामी इजरायल पुग्दासम्म नेपाली र इजरायलीको मुख्य चाहना थियो। जुन पीडाले कूटनीतिको कठिन परीक्षा लिएथ्यो तर अन्ततः हार्यो। एली विसेल भन्थे, ‘विपत्तिमा मौनता अपराध हो।’ मानवताको रक्षा नै मानिसको साझा संकल्प रहेछ।
संस्कृति, भाषा र जीवनशैलीको रङ
हिब्रु यहाँको मुख्य सरकारी कामकाजको भाषा हो। अंग्रेजी र अरेबिक पनि धेरै बोलिन्छ। सेकेल यहाँको प्रचलित र बलियो मुद्रा हो। शनिबार यहाँ ‘शबत’को पवित्र दिन हो। परिवारसँग रमाउने यहाँको मौलिक संस्कृति हो। प्रविधिमा आधुनिक, संस्कारमा परम्परागत समाज हो। खानामा मध्यपूर्वीय स्वादको अनुपम मिश्रण छ। मानिस निकै अनुशासित र मिहिनेती छन्। हरेक नागरिकले सैन्य तालिम लिनैपर्छ। यो अनुशासनले नै नयाँ देश निर्माण भयो। जीवनलाई प्रेम गर्ने यहाँको छुट्टै दर्शन छ। इजरायली जीवनशैली संघर्ष र उल्लासको संगम हो। ‘मिहिनेत नै सफलताको एकमात्र साँचो हो।’ गल्लीगल्लीमा सभ्यताको सुगन्ध भेट्यौं।
नेपालका लागि विकासको मार्गचित्र
इजरायलबाट नेपालले धेरै कुरा सिक्न सक्छ। प्रविधिको प्रयोगले देशको अनुहार बदल्न सकिन्छ। मरुभूमिमा कृषि हुन्छ भने पहाडमा झन् हुन्छ। इच्छाशक्ति भए विकास सम्भव हुने देखियो। स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति नेपालमा चाहिन्छ। युवालाई देशमै रोक्ने यो उत्तम उपाय हो। बनेपाको आईटी पार्कलाई इजरायली ढाँचामा लैजानुपर्छ। अनुसन्धान र विकासमा लगानी बढाउनुपर्छ। साना उद्योगले नै ठूलो परिवर्तन ल्याउँछन्। इजरायलको मोडेल नेपालका लागि एउटा ऐना हो। कर्ममा विश्वास गर्नेले नै संसार जित्छ। यो भ्रमणले विकासको नयाँ दृष्टि दियो। लाग्छ, सपना देख्नेले नै संसार बदल्न सक्छ।
भविष्यको बाटो खोज्दै बेन गुरियनको बिदाइ
बेन गुरियन विमानस्थलबाट सुरु भएको इजरायलको यात्रा त्यहीँ टुंगिँदै थियो। यो देश साँच्चै कर्मको पवित्रभूमि हो। विकास, सुरक्षा र आविष्कारको यो अनुपम त्रिवेणी हो। सगरमाथा र मृतसागरको सम्बन्ध अझै प्रगाढ रहोस्। नेपालले इजरायलको प्रविधि भित्र्याउन ढिला गर्नुहुन्न। मिहिनेतले नै मरुभूमिमा स्वर्ग बन्दो रहेछ। साताव्यापी भ्रमणले धेरै कुरा स्पष्ट पार्यो। युद्धको बीचमा पनि यहाँ विकास रोकिँदैन, इजरायलको आत्मविश्वासले यही सिकायो। संकटले नै नयाँ आविष्कारको बाटो खोल्छ भन्ने त उसले पुष्टि नै गरेको छ। इजरायल वास्तवमै आधुनिक विश्वको चामत्कारिक देश हो। हामी नेपालीले यहाँबाट धेरै ज्ञान बटुल्यौं। यो यात्रा जीवनको एउटा अविस्मरणीय अध्याय हो। विमानको झ्यालबाट इजरायलको बत्ती नियाल्दा लाग्यो— उज्यालो केवल बिजुलीमा होइन, मान्छेको सोचमा हुन्छ। थोपा सिँचाइले बालुवा भिजाए जस्तै, यो सिकाइले हाम्रो मस्तिष्क भिजाएको छ।
थिओडोर हज्र्लले भने झैं, ‘यदि तिमी चाहन्छौं भने यो सपनामात्र रहने छैन।’ इजरायलले अभावलाई आफ्नो हतियार बनायो, हामी नेपालीले अब प्रचुरतालाई अवसर बनाउनुपर्छ। सगरमाथाको शिरजस्तै अग्लो हाम्रो मित्रता रहिरहनेछ। सहकार्यले समाजमात्र होइन, देश बन्छ। मृतसागरको नुनिलो पानीले पखालेको यो अनुभवले स्वदेश फर्किंदा समृद्धिको एउटा नयाँ बीज बोकेको छ। यो भूगोलको यात्रामात्र होइन, चेतनाको महायात्रा हो। मरुभूमिमा फुलेको यो फूलले हाम्रो हिमालमा पनि विकासको सुगन्ध छर्नेछ। बिदा हुनु भनेको छुट्टिनु होइन, फेरि नयाँ उत्साहका साथ भेट्ने वाचा गर्नु हो।
प्रतिक्रिया दिनुहोस !