कालीगण्डकी ‘ए’ जलविद्युतको ड्याम खोलिँदै, सतर्क रहन आग्रह
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको पावरहाउस सरसफाइ गरिने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । कालीगण्डकी गाउँपालिकास्थित बेल्टारीमा रहेको केन्द्रले पावरहाउसका ३ वटै टर्वाइन मेशिन पूर्णरूपमा बन्द गरी (आज) शुक्रबार साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य गर्ने जनाएको छ ।
केन्द्रका प्रमुख आत्मेश पौड्यालका अनुसार, ‘कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पावर हाउसको बृहत मर्मत सम्भारका क्रममा सबै टर्वाइन मेशिन बन्द हुने र सुरुङ हुँदै पावरहाउमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोली नदी पुरानै वहाव क्षेत्रमा बगाइने उल्लेख बताइएको छ ।
यसरी सुरुङमार्फत पावरहाउसतर्फ जाने पानीलाई डाइभर्ट गरिने र मिर्मिस्थित ड्यामका सम्पूर्ण गेट खोल्दा कालीगण्डकी नदीमा पानीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने तथा नदी सतह बढ्न सक्ने जनाइएको छ । नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न केन्द्रको आग्रह छ ।
उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न र आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई केन्द्रका प्रमुख पौडेलद्धारा जारी सूचनामार्फत आग्रह गरिएकोे छ । ड्यामका गेटहरु ५ दिनपछि बन्द गरिने केन्द्रले जनाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रबाट १४४ मेगावाट क्षमताको बिजुली उत्पादन हुने गर्दछ । केन्द्रले स्याङ्जा, पाल्पा, गुल्मी र पर्वत जिल्लाका केही भू–भाग समेटेको छ ।
प्रतिक्रिया दिनुहोस !